Logo

गमगढीमा दर्ताबिनै पसल, व्यवसाय सञ्चालन, राजस्व छल्दै व्यापारी

मुगु– जिल्ला सदरमुकाम गमगढी बजारमा व्यापार, व्यवसाय सञ्चालन गर्दै आएका व्यापारी/व्यवसायीले सरकारी निकायमा दर्ता नगरी राजस्व छल्दै आएका छन् ।

सरकारी अनुगमन पर्याप्त नहुँदा व्यापारीले पसल, व्यवसाय दर्ताबिनै सञ्चालन गरेर राजस्व छल्दै आएका हुन् । सबैभन्दा गमगढी बजारमा तरकारी पसल, होटल, इलेक्ट्रोनिक पसल, दैनिक उपभोग्य वस्तुका पसल, सिलाइ–कटाइमा व्यापार व्यवसाय सञ्चालन गर्दै आएका व्यापारीले लाखौं रुपैयाँको कारोबार गरे पनि सरकारी राजस्व छल्दै आएका छन् ।

सदरमुकाम गमगढी बजारलगायत छायानाथ रारा नगरपालिकाको बालै, चैन, भट्टेचौर, लुम्स, खत्याड गाउँपालिकाको तारापानी, माथिचौर, गम्थाचौर, सेरी जाम, रातापानी, सोरु गाउँपालिकाको सिप, दवारी, सोरुकोट, धैनकोट र मुगमकामारोङ गाउँपालिकाको छाइल, पुलु, ढुंगेधारा, सिरानिसडा, मुगु मारमा सञ्चालित पसल, होटल दर्ताबिना चलिरहेका छन् ।

यी व्यवसायले सरकारी राजस्वसमेत छलिरहेका छन् । पसल सञ्चालन गर्नेबित्तिकै दर्ता गरेर सरकारलाई राजस्व तिर्ने गरेको गमगढी बजारमा ५/६ वर्षदेखि पसल सञ्चालन गर्दै आएको सन्तोस हार्डवेयर एन्ड सप्लायर्स प्रोपराइटर बाचुकली रावत बताउँछिन् । तर, धेरैजसोले सरकारी कुनै पनि निकायमा दर्ता नहुदा राजस्व छलेको उनको भनाइ छ ।

प्रशासन कार्यालय, स्थानीय सरकारलगायत सरोकारवाला निकायले चासो नदिँदा राजस्व छली बढेको उनले सुनाइन् । नमस्ते मोबाइलका प्रोपराइटर विष्णु रावतको पनि यस्तै गुनासो छ । आफूले सरकारलाई राजस्व तिरेर पसल सञ्चालन गर्दै आए पनि गमगढी बजारमा बिनादर्ताका पसल चलाउने धेरै रहेको बताउँछन् । आन्तरिक राजस्व कार्यालय जुम्लाले पनि मुगुमा बिनादर्ता व्यवसाय सञ्चालन गर्ने, कम मूल्यको बिल काट्नेलगायतका व्यापारीलाई कारबाही नगरेको गुनासो स्थानीयको छ ।

व्यापारीको हकहितका लागि गठन गरिएको मुगु उद्योग वाणिज्य संघले रेकर्डअनुसार गमगढी बजारमा दुई सय बढी तरकारी, मासु पसल, मदिरा, होटल, सिलाइ–कटाइ, खुद्रा पसल सञ्चालन भइरहेका छन् । राजस्व छल्ले व्यापारीलाई सचेत गराइए पनि कारबाही गर्ने निकाय नभएको संघ अध्यक्ष कमलबहादुर बुढाले बताए ।

प्रतिक्रिया दिनुहोस्