आन्तरिक आय कमजोर हुँदा जितपुर सिमराका २५ योजना अलपत्र

बारा– जितपुर सिमरा उपमहानगरको आन्तरिक आय कमजोर बन्दा ठेक्का स्वीकृत भई सम्झौतामा गएका नगरस्तरीय २५ योजना अलपत्र परेका छन् । आन्तरिक आयको ७० प्रतिशत हिस्सा राख्ने उपमहानगरका तीन वटा खोलामा नदीजन्य ठेक्का नहुँदा करिब १४ करोड राजस्व २५ योजना अलपत्र परेका हुन् ।
निर्माण कम्पनीलाई मोबिलाइजेसन हुन दिइने रकमसमेत उपमहानगरमा अभाव भएसँगै योजना अलपत्र परे पनि जनप्रतिनिधिले ठेक्का निकाल्ने क्रम नरोकेपछि निर्माण व्यवसायीले ठेक्कामा प्रतिस्पर्धा गर्न छाडेको नगर निर्माण व्यवसायी संघ सिमराले जनाएको छ । पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर अभयकान्त झाले अमलेखगन्ज–चकरी कालोपत्रे सडक, बेहरा–बलुवा सडक, बजनी–रामबन नालासहित कालोपत्रे, लामिडाँडा स्कुलदेखि पसाह टोल जोड्ने सडक निर्माणसम्मका योजना अलपत्र परेका छन् ।
यस्तै, परसवादेखि लाल्का पुल हुँदै बकुलियासम्म जोडिएको खोलामा तटबन्धन, उपमहानगरभरि आवश्यक सबै कल्र्भट निर्माण, सिमरा रंगशालामा कभर्ड हल निर्माण, दशकाैं पुरानो बकुलिया खानेपानी विस्तार तथा भत्काइएको फत्तेपुर बजारको व्यवस्थित हाटबजार निर्माण गरी २५ योजना अलपत्र परेको झाले बताए । प्रमुख झाका अनुसार नगरस्तरीय आयोजना सम्पन्न गर्न करिब २० करोड लाग्ने स्टिमेट गरिएको छ । तर, आर्थिक अभावका कारण सबै योजना ठेक्का लागेर निर्माण कम्पनीसँग सम्झौता भए पनि मोबिलाइजेसन रकम दिन नसक्ने भएपछि चालू आवमा नगरस्तरीय २५ योजना सञ्चालन गर्न सकिने अवस्था छैन ।
निर्माण व्यवसायी राजु लामा उपमहानगरले गत आर्थिक वर्षकै २० करोड बढी रकम निर्माण कम्पनीलाई भुक्तान नगरेको र चालू आर्थिक वर्षका कतिपय नगरस्तरीय योजना स्थानीय निर्माण कम्पनीले प्रतिस्पर्धा नगरेको बताउँछन् । उपमहानगरका राजस्व प्रमुख राम शर्माले आन्तरिक आयको ७० प्रतिशत राजस्वमा खोलाको योगदान रहँदै आए पनि यो वर्ष सबै प्रक्रिया सहज हुँदासमेत खोलाको ठेक्का नलाग्दाको प्रत्यक्ष असर नगरको आन्तरिक विवाशमा परेको जानकारी दिए ।
नगरको अन्य आन्तरिक आयका शीर्षकमध्ये पूर्वाधार सेवा, सम्पत्ति कर, कबाडी बजार कर, दस्तुर शुल्कलगायतबाट करिब १२ करोड राजस्व प्राप्त हुने उनेले बताए । उपमहानगरमा संघीय तथा प्रदेश सरकारका पूर्वाधार विकास योजना सञ्चालनमा छन् । बजेट निर्माणका बेला नगरस्तरीय योजना बनाउँदै गर्दा आन्तरिक आय अनुमानअनुसार छनोट भए पनि आन्तरिक स्रोत कमजोर बनेपछि सबै योजना अलपत्र परेको योजना प्रमुख सुदन चौधरीले बताए ।
नगरस्तरीय बजेटले समेट्न सक्ने राम्रा योजना बनाएर जनप्रतिनिधिले बजेट घोषणासँगै सामाजिक सन्जालमा प्रशंसा बटुले पनि चालू वर्षमा एउटै योजना निर्माण सम्पन्न नहुने छाँटकाँट देखिँदा नगरबासीले नगरपालिकाको आलोचना आलोचना गर्न थालेका छन् । आन्तरिक आयको क्षतिबारे प्रश्न गर्दा उपमहानगर प्रमुख राजन पौडेलले समग्र विषयमा पछि पत्रकार सम्मेलन गरेर जानकारी दिइने बताउँदै आएका छन् ।