Logo

यूएईमा लगानी विस्तारसँगै नेपाली श्रमिकको माग बढ्यो

काठमाडौं– नेपाली कामदारको प्रमुख श्रम गन्तव्य युनाइटेड अरब इमिरेट्स (यूएई)मा विभिन्न क्षेत्रबाट लगानी विस्तार हुन थालेपछि रोजगारी अवसरमा वृद्धि भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ । लगानी बढेसँगै रोजगारदाताले नेपाली श्रमिकलाई प्राथमिकतासहित रोजगारी दिन रुचि देखाउन थालेका हुन् ।

पछिल्लो समय रोजगारीका लागि यूएई जाने नेपाली कामदारको मागमा पनि निरन्तर वृद्धि भइरहेको छ । अन्तर्राष्ट्रिय श्रमिक दिवस अवसरमा दूतावासले वैशाख १८ मा आयोजना गरेको छलफलमा यूएईमा करिब ६ लाख नेपालीले श्रम स्वीकृति लिई काम गरिरहेको जानकारी दिइएको थियो । वैदेशिक रोजगार विभागबाट सार्वजनिक तथ्यांकअनुसार पनि यूएईलाई नेपालको प्रमुख श्रम गन्तव्य रुपमा रहेको देखाइएको छ ।

नेपालका प्रमुख चार श्रम गन्तव्यमध्ये यूएइलाई रोजगार क्षेत्र बनाउने नेपाली बढ्दै गएको पाइएको हो । गत आर्थिक वर्षको तुलनामा चालू आव साउनदेखि फागुनसम्मको तथ्यांक हेर्दा यूएई जाने नेपाली युवाको संख्या ४४ प्रतिशतले बढेको छ । यूएईले कोभिड संक्रमणपछि ओरोलो लागेको अर्थतन्त्र सुधार्न सेवाक्षेत्रमा लगानी बढाएसँगै त्यहाँ जाने नेपालीको संख्या बढेको छ ।

यूएईले सेवाक्षेत्रसहित ठूलाठूला निर्माण परियोजनामा लगानी गरिरहेकाले त्यहाँ जाने नेपालीको संख्या बढेको हो । यूएईले विश्वकै सबैभन्दा ठूलो सिटी परियोजना ल्याएकाले निर्माण क्षेत्रमा त्यहाँ जाने नेपाली धेरै रहेका कारण पनि संख्या बढेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले जानकारी दिए । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको पछिल्लो वार्षिक प्रतिवेदनअनुसार सबैभन्दा बढी यूएईमा १ लाख ७३ हजार २५० नेपालीले श्रम स्वीकृति लिएका छन् ।

गत आवमा युएई जाने नेपालीको संख्या १ लाख २० हजार थियो । यसैगरी दोस्रोमा साउदी १ लाख २ हजार ९८० रहेको छ । गत आवमा साउदी जाने नेपालीको संख्या ९१ हजार २२७ थियो । यसैगरी तेस्रोमा कतार ९३ हजार ४०२ रहेको छ । गत आवको यो अवधिमा कतार जाने नेपालीको संख्या ९० हजार ३५५ थियो । भिजिट भिसा तथा अन्य भिसाको माध्यमबाट यूएई जाने र रोजगारी पाएपछि वैधानिकीकरण श्रम स्वीकृति लिन सकिने प्रावधान हुँदा पनि यूएई जाने संख्या बढ्दो रहेको छ ।

अन्य भिसामा यूएई गएर उतै रोजगारी गर्ने नेपालीको संख्या वृद्धि भएपछि वैधानिक हुन त्यहीँबाटै श्रम स्वीकृति लिने नेपालीको संख्या पनि अन्य देशको तुलनामा धेरै छ । नेपाली श्रमिकको संख्या बढेसँगै दूतावासले यूएईका विभिन्न स्थानमा राहदानी नवीकरण तथा श्रमिक सचेतनालगायत विभिन्न सेवा सञ्चालन गरिएको जनाएको छ ।

सार्वजनिक विदाका दिनमा समेत दूतावास परिसरमै राहदानी नवीकरण तथा श्रमिकको राहत र उद्धारसम्बन्धी काम नियमित सञ्चालन गरिँदै आएको छ । साथै, रोजगारीका क्रममा मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन र श्रमिकको राहत, उद्धार र क्षतिपूर्तिसम्बन्धी काम नियमित रुपमा सार्वजनिक बिदाका दिनमा समेत सञ्चालन भइरहेको दूतावासको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्