Logo

त्रिविको विद्यावारिधि संयोजकमा डा. रमेश पौडेल नियुक्त

काठमाडौं- त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति केन्द्रीय विभागले दर्शनाचार्य तथा विद्यावारिधि कार्यक्रममा भर्ना भएका चौथो व्याचका विद्यार्थीहरूकालागि स्वागत कार्यक्रमको आयोजना गरिएकाे छ । सोही अवसरमा उक्त केन्द्रीय विभागको दर्शनाचार्य एवम् विद्यावारिधि कार्यक्रमका लागि सह प्राध्यापक डा. रमेश पौडेललाई संयोजकका रूपमा स्वागत गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि र वक्ताको रूपमा त्रिभुवन विश्वविद्यालयका उपकुलपति तथा यस विभागका संस्थापक प्रमुख प्राडा खड्ग केसीले विश्वविद्यालय, विभाग र अध्ययनका सन्दर्भमा विभिन्न पक्षका प्रष्ट पारेका थिए । यो विषय किन देश र अन्तर्राष्ट्रिय परिवेशमा महत्त्वपूर्ण छ भन्ने कुरा प्रस्ट पार्दै गुणस्तरीयअध्यापनमा जोड दिए ।

विभागीय प्रमुख अपेक्षा शाहले पनि विभागका सन्दर्भमा विद्यार्थीहरूलाई आवश्यक पर्ने विविध जानकारीका साथ डा. पौडेललाई स्वागत गरेका थिए । डा. पौडेलले विद्यार्थीहरूलाई आवश्यक ज्ञान आर्जन गर्न सक्ने अधिकतम राम्रो वातावरणका लागि क्रियाशील रहने वचनबद्धता व्यक्त गरे ।

अनुसन्धानत्मक अध्ययनका लागि कसरी अगाडि बढ्न सकिन्छ र यसको महत्त्व के हो भन्ने बारेमा उनले प्रष्ट पारे । कार्यक्रम विभागीय प्रमुखको अध्यक्षतामा सोही विभागका पूर्व विद्यार्थी एवम् सहायक प्राध्यापक विनिता नेपालीले सञ्चालन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्