Logo

पर्यटकीय धरोहरः दुप्चेश्वर गाउँपालिका

दुप्चेश्वर गाउँपालिका बागमती प्रदेशअन्तर्गत नुवाकोट जिल्लाको पूर्वी भेगमा अवस्थित छ । यस गाउँपालिकाको नामकरण हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र दुप्चेश्वर महादेव मन्दिरको नामबाट गरिएको पाइन्छ । नुवाकोट जिल्लाको सदरमुकाम विदुरदेखि ३० किमिको दूरीमा अवस्थित यस गाउँपालिकाको उत्तरमा लाङटाङ राष्ट्रिय निकुञ्ज, पूर्वमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिका, पश्चिममा तादी गाउँपालिका, पञ्चकन्या गाउँपालिका तथा रसुवा जिल्ला रहेको छ भने दक्षिणमा शिवपुरी गाउँपालिका रहेको छ ।

दुप्चेश्वर महादेव मन्दिरको उत्पत्ति सन्दर्भमा पनि विभिन्न प्रकारका पौराणिक जनश्रुतिहरू रहेको पाइन्छ । पौराणिक कथनअनुसार करिब चार सय वर्षअघि एक स्थानीय तामाङको दुहुनो गाई गोठालोमा हराएपछि सपनामा उनलाई गाई रहेको स्थानबारे एक जोगीले जानकारी गराएका र त्यसपश्चात् गाउँलेहरू ठाडो पहरोमा रहेको उक्त स्थानमा लट्ठा चढी हेर्न जाँदा उक्त गाईले स्वउत्पत्ति भएका महादेवको मन्दिरमा आफ्नो चारवटै थुनबाट दूध चढाइरहेको भेटिएपछि ‘दूधेश्वर’बाट अपभ्रंश हुँदै ‘दुप्चेश्वर’ नामकरण हुन गएको भनाइ छ । त्यसैगरी अर्को एक जनश्रुतिअनुसार समुन्द्र मन्थनपछि निस्किएको कालकुट विष सेवनले रन्थनिएका महादेव गोसाइँकुण्ड जाँदा दुप्चेश्वरमा आएको भनाइ रहेको पाइन्छ ।

दुप्चेश्वर महादेवको मन्दिर दुप्चेश्वर गाउँपालिकाको वडा नं. ३ मा अवस्थित छ । यस मन्दिरमा विशेष गरी जोडी जुराउन र सन्तान प्राप्तिका लागि भक्तजनहरू पुग्ने गर्छन् । सन्तान नहुने दम्पतीहरू सन्तान माग्न आउने र महादेवको भक्तिपछि दैवी शक्तिले सन्तान प्राप्त हुने भक्तजनहरूको विश्वास रहेको पाइन्छ । साथै, दुप्चेश्वर महादेवको दर्शन गर्नाले मनले चिताएको पुग्ने, लामो समयसम्म नबोल्ने बालबच्चाको बोली फुट्ने विश्वासमा विभिन्न ठाउँबाट भक्तजनहरू भाकल गरेर आउने र भाकल पूरा भएपछि पनि महादेवको दर्शनका लागि आउने गर्छन् । जे माग्यो त्यही पूरा हुने धार्मिक विश्वास रहेको यस मन्दिरलाई हिन्दू र बौद्ध धर्मावलम्बीहरूले दोस्रो पशुपतिनाथको रूपमा पुकार्दै आएको पाइन्छ । यस मन्दिरमा हरेक वर्षको धान्यपूर्णिमामा साताव्यापी मेला लाग्ने गर्छ । साथै, साउन महिना तथा हरेक सोमबार भक्तजनहरूको भीड लाग्ने गर्छ ।

दुर्गम क्षेत्रसमेत मानिने यस धार्मिक स्थलमा रहेको दुप्चेश्वर मन्दिर ७ सय मिटरभन्दा अग्लो चट्टानको पहरोमा अवस्थित छ । मन्दिरको फेदीमा रहेको तादी नदीबाट बनाइएको घुमाउरो सिँढी हुँदै पालैपालो भक्तजनहरूले पूजा र दर्शनका लागि उक्लने गर्छन् । दुप्चेश्वर महादेवको मेला भर्न राजधानी काठमाडौँ, धादिङ, रसुवा, सिन्धुपाल्चोक, मकवानपुर, गोरखा, चितवनलगायत जिल्लाहरूबाट यहाँ बर्सेनि हजारौँ दम्पती भक्तजनहरू महादेवसँग सन्तान माग्न र अन्य पर्यटकहरू आउने गरेका छन् । मेलामा तामाङ, शेर्पा जातिका रोचक र अनौठो परम्परागत संस्कृतिको प्रदर्शनसमेत हुने गर्छ ।

यस गाउँपालिकामा विभिन्न धार्मिक, ऐतिहासिक तथा पुरातात्विक र प्राकृतिक महत्वका स्थलहरू रहेका छन् । दुप्चेश्वर महादेव मन्दिरका अतिरिक्त यस गाउँपालिकामा सूर्योदय हेर्नका लागि प्रख्यात स्थान कुटुङसाङ, गोसाइँकुण्ड पदमार्गमा अवस्थित गोल्फुटार भन्ज्याङ, रातो पाण्डाका लागि प्रख्यात मुर्थाला भन्ज्याङ, सागर कुण्ड, सूर्य कुण्ड, नाटांग डाँडा, पेटारे ढुङ्गा, माला डाँडा, टासी सामलिङ्ग गुम्बा, मान्चे डाँडा र विभिन्न घाँसेमैदान रहेका छन् । यो गाउँपालिका गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने भएकाले पर्यटन आगमनको ठूलो सम्भावनासमेत बोकेको छ । विशेष गरी बौद्ध र हिन्दू धर्मावलम्बीहरूको बसोबास रहेको यस गाउँपालिकामा जनजातिहरू विशेष गरी तामाङ, गुरुङ, शेर्पा, सुनुवार, ह्योल्मो, थारु, मगर, नेवार आदिको बाहुल्यता रहेको छ । भने यहाँ ब्राह्मण, क्षेत्री तथा दलितहरूको बसोबास छ । यहाँ तामाङ सेलो, झाँक्री नाच तथा शेर्पा नाचजस्ता मौलिक संस्कृतिसमेत रहेको पाइन्छ ।

प्राकृतिक सम्पदाले समेत भरिपूर्ण यस गाउँपालिकाको कुल क्षेत्रफलको करिब २७ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको छ भने १८ प्रतिशत घाँसे मैदान रहेको छ । यहाँको वनमा माथिल्लो क्षेत्रमा खस्रु, धुपी, सल्लो, गोब्रे सल्लो, लौठ सल्ला, गुराँस, चिमल, फलाँट, मुसुरे कटुस, लालीगुराँस, अँगेरी, स्याउ, आरु र तल्लो क्षेत्रमा साल, चिलाउने, उत्तिस, बकाइनो, कटुस, लप्सी, सिमल, टुनी, क्यामुना, खनियो, बडहर, कटहर, आँप, अम्बा, रुद्राक्ष विभिन्न काष्ठ र गैरकाष्ठ प्रजातिका वनस्पति पाइन्छन् भने तीतेपाती, चिराइतो, पाखनवेद, शिलाजित, तीनऔँले, सतुवा, रुदिलो, कुरिलो, हर्रो, बर्रो, अमला, आकाशबेली, वनलसुनजस्ता १५ भन्दा बढी प्रजातिका बहुमूल्य जडीबुटी पाइन्छन् । त्यस्तै, यहाँ २० भन्दा बढी प्रजातिका वन्यजन्तु जस्तैः स्याल, हाब्रे, सेतो बाँदर (प्लान्दाङ), रातो बाँदर, रेड पाण्डा, दुम्सी, बँदेल, मृग (ताङ्गी), भालु, कस्तुरी, हरिण, मलसाँप्रो (युगु), सालक, घोरल, चित्तल, हाब्रे (छुसाङ), ध्वाँसे चितुवा, हिमालयन सेतो सेरो, २१ भन्दा बढी प्रजातिका चराचुरुङ्गी जस्तैः डाँफे, मुनाल, उल्लु, काग, ढुकुर, जुरेली, सारौँ, गौँथली, मलेवा, परेवा, चिबे, कालिज, तित्रा, भँगेरा, गौँथली, कोइली, चिल, चिबे, कल्चौँडा, लाटोकोसेरो, गिद्द आदि पाइन्छन् ।

परम्परागत कृषिमा आधारित यस गाउँपालिकाको अर्थतन्त्रमा धार्मिक पर्यटनलाई दिगो आयआर्जनको स्रोतका रुपमा विकास गर्न सकिने प्रचुर सम्भावना रहेको छ । विश्वमा सूचना र सञ्चारको जगतमा एक्काइसौं शताब्दीमा देखिएको दु्रत विकासका साथै पुँजी, प्रविधि तथा विकासको विस्तारले अर्थतन्त्रको स्वरूपमा सकारात्मक परिवर्तन ल्याएको पाइन्छ । विकसित मुलुकहरूबाट मूलतः प्राकृतिक स्रोत एवं साधनको उपलब्धताका आधारमा औद्योगिक उत्पादनमार्फत पुँजीबजारमा प्रतिस्पर्धा गरिएको स्थिति छ । विकासशील देशहरू उनीहरूका लागि वस्तु तथा श्रमबजारको केन्द्र बन्दै आएको अवस्था छ । यो शताब्दीको सुरुदेखि नै सूचना र प्रविधिको साथमा सेवामूलक व्यवसाय र वैदेशिक पुँजीको लगानीबाट विकासशील देशहरूले समेत उल्लेख्य आर्थिक वृद्धि हासिल गर्दै धार्मिक पर्यटकीय क्षेत्रबाट आएको पाइन्छ ।

आ–आफ्ना देशमा उपलब्ध प्राकृतिक स्रोतसाधन, मानवीय क्षमता, भौतिक पूर्वाधार, सांस्कृतिक सम्पदा, व्यापारिक कारोबारका लागि उपयुक्त रणनीतिक एवं भू–राजनीतिक अवस्थाको सही पहिचान र उपयोगबाट विकासोन्मुख देशहरूले समेत आर्थिक विकास र वृद्धिमा उल्लेखनीय फड्को मारिरहेको अवस्था छ । विश्वको बदलिँदो आर्थिक परिवेशलाई आत्मसात् गर्दै अर्थतन्त्रमा विकसित देशका साथै विकासशील देशले समेत आर्थिक विकासको लक्ष्य, कार्यक्रम र प्राथमिकता निर्धारण गरी आर्थिक गतिविधि सञ्चालन गरी उपलब्धि हासिल गर्नुपर्ने अवस्था छ । देशमा बढ्दो बेरोजगारीको समस्या समाधान गर्नका लागि धार्मिक पर्यटन व्यवसायलाई अगाडि बढाउनु अपरिहार्य छ ।

समृद्ध नगर तथा गाउँको रेखा कोरी देशको भविष्य निर्माण गर्ने आशा एवं भरोसाका केन्द्रबिन्दु युवा जनशक्तिको विदेश पलायन रोक्दै स्वदेश एवं जन्मभूभिमा नै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्नु पहिलो आवश्यकता भएको छ । नेपालको धार्मिक, प्राकृतिक भू–धरातल वातावरण एवं सांस्कृतिक जनजीवनका विशेषताहरूको आधारमा सूचना र प्रविधिको अधिकतम उपयोगका साथ सामाजिक सेवामूलक व्यवसायमा जोड दिँदै धार्मिक पर्यटनलाई नयाँ आयामका साथ कृषिपछिको मुख्य व्यवसायका रूपमा धार्मिक पर्यटन व्यवसायको विकास गर्नु यस क्षेत्रको आवश्यकता हो ।

दुप्चेश्वर गाउँपालिका प्राकृतिक, सांस्कृतिक एवम् ऐतिहासिक पर्यटकीय सम्पदाको धनी भए पनि विश्व पर्यटन बजारमा आवश्यक पहुँच र प्रसारको कमीले सोचेअनुसार पर्यटकको संख्यामा वृद्धि र धार्मिक पर्यटन गतिविधिलाई विकास गरी यसबाट अपेक्षित लाभ लिन नसकेको अवस्था छ । धार्मिक एवम् पर्यटकीय स्थल हुँदाहुँदै पनि सो स्थानको भनेजस्तो पर्यटकीय विकास हुन सकेको छैन । यसबाट प्रस्ट हुन्छ कि उत्कृष्ट धार्मिक पर्यटकीय सम्पदाहरू भए पनि राष्ट्रिय बजारमै हाम्रो पहुँच पुग्न सकेको छैन । सुन्दर प्राकृतिक, ऐतिहासिक र धार्मिक सम्पदाका कारण दुप्चेश्वर गाउँपालिकामा आन्तरिक एवं बाह्य पर्यटकलाई भविष्यमा आकर्षण गरी यस क्षेत्रमा मानिसको आगमन वृद्धि हुन सक्नेछ । त्यस्तै, यस गाउँपालिका लाङटाङ राष्ट्रिय निकुञ्ज र गोसाइँकुण्ड जाने पदमार्गमा पर्ने भएकाले दुप्चेश्वर महादेवको मन्दिरलगायत अन्य विभिन्न पर्यटकीय स्थलहरू समेटेर सर्किटको रूपमा विकास गर्न सकिने सम्भावना रहेको छ । ग्रामीण पर्यटकको विकास र स्थानीय सहभागितामा विशेष जोड दिँदै त्यसको ऐतिहासिक, प्राकृतिक तथा सांस्कृतिक सम्पदा एवम् वातावरणको संरक्षण र संवद्र्धन गर्दै स्थानीय बासिन्दाको चाहनाअनुसार धार्मिक पर्यटन व्यवसायको विकास, विस्तार र प्रवद्र्धन गर्नु अहिलेको समयको माग हो ।

दुप्चेश्वर गाउँपालिकाको समग्र आम्दानीमा धार्मिक पर्यटन व्यवसायलाई पनि एक दिगो स्रोत सृजना गर्न र अन्तरपालिका क्षेत्रको विकासमा सन्तुलन कायम गर्नमा समेत धार्मिक पर्यटन एउटा महत्वपूर्ण माध्यम हुन सक्छ । पालिकाभित्र रहेका होटल व्यवसायी, यातायात व्यवसायी, सरोकारवाला उद्योग वाणिज्य संघ र निजी क्षेत्रको समेत संलग्नतामा आ–आफ्ना तवरका कार्यक्रम एकीकृत गरी स्थानीय पर्यटन विकास र व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकाले स्थानीय समुदायको सहभागितालाई प्रोत्साहित गर्दै ऐतिहासिक, पुरातात्विक तथा धार्मिक महत्वका सम्पत्तिको संरक्षण, परम्परागत वास्तुकला, मन्दिर र स्थानीय समाजका सांस्कृतिक सम्पदाहरूको संरक्षणसम्बन्धी कार्य जेनतेन प्रकारले गर्दै आइरहेको अवस्थामा ठोस कार्यक्रमका साथ अगाडि बढ्नु आवश्यक छ । गाउँपालिकाका लागि पर्यटन गुरुयोजना निर्माण गरी पर्यटन प्रवद्र्धनका विशेष आयोजनाहरू कार्यान्वयन गर्न आवश्यक देखिन्छ ।

अतः नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तत्वहरूको विकास गरी धार्मिक पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारका रूपमा विकास गर्नुपर्ने आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट रोजगारी सृजना गरी गरिबी न्यूनीकरण गर्दै दुप्चेश्वर गाउँपालिकाका बासिन्दादेखि देशभरिका जनताको जीवनस्तरमा सुधार ल्याउन आवश्यक छ । धार्मिक पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानुन र प्रक्रियाअनुरूप धार्मिक पर्यटनलाई व्यवस्थित तवरबाट प्रवद्र्धन गरिनु समयको माग तथा आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्