Logo

नेपाली अर्थतन्त्रमा भारत-पाकिस्तान युद्धले त्रास

काठमाडौं– छिमेकमा सुरु भएको युद्धका कारण स्वदेशी अर्थतन्त्र घानमा पर्ने चिन्ता थपिएको छ । कोभिड महामारी र रसिया–युक्रेन युद्धको प्रभावबाट लामो समयसम्म मन्दीमा रहेको नेपाली अर्थतन्त्र यतिबेला दक्षिण एसियाका दुई शक्तिशाली मुलुकबीच सुरु भएको युद्धको त्रासदीमा छ ।

नेपालबाट निकै टाढा रहेको रुस र युक्रेनबीचको युद्धले समेत प्रभावित बनाउने आन्तरिक अर्थतन्त्रलाई छिमेकमा भइरहेको युद्ध चर्कंदै गएमा झनै ठूलो असर पर्ने जानकारहरु बताउँछन् । अर्थशास्त्री चन्द्रमणि अधिकारीले भारत र पाकिस्तानबीच सुरु भएको युद्धले दक्षिण एसियामै थप अशान्त वातावरण बन्ने भन्दै नेपाल पनि त्यसबाट अछुतो रहन नसक्ने बताए । ‘वैदेशिक व्यापारका हिसाबले ६७ प्रतिशत भारतसँग निर्भर छौं । लगानी, प्रविधि हस्तान्तरण तथा धार्मिक र सामाजिक पक्षसँग पनि हामी भारतसँग नजिक छौं,’ उनले भने, ‘युद्धको प्रभाव अर्थतन्त्रको चक्रमै पर्छ । उत्पादन, वितरणदेखि व्यापार, लगानी, प्रविधिदेखि मुद्रास्फीतिसम्म असर पर्ने देखिन्छ ।’ नेपालजस्तो सानो अर्थतन्त्र त्यसमा पनि आयातमुखी भएकोले झनै बढी असर पर्ने उनको बुझाइ छ ।

भारत प्रशासित कश्मीरमा एक नेपाली र अन्य २५ पर्यटकमाथि आतंकवादी आक्रमण भएको दुई सातापछि बुधबार भारतले पाकिस्तानको कश्मीरमा शृंखलाबद्ध क्षेप्यास्त्र प्रहार गरेको थियो । नयाँ दिल्लीले हमला गरेसँगै पाकिस्तान अशान्त छ । पाकिस्तानले पनि जवाफी हमला गर्दा भारततर्फ क्षति भएको छ ।
नेपालको दुई तिहाईभन्दा बढी निर्यात व्यापार हुने भारतसँग आयातमा पनि उत्तिकै निर्भरता छ । भारत र नेपालबीच खुला सीमाका कारण अनौपचारिक आर्थिक सम्बन्ध पनि उत्तिकै विशाल रहेको छ । यसबाहेक खुला सीमाका कारण घूसपैठको आशंकाका कारण सीमा कसिलो बनाउनुपर्ने बाध्यता सिर्जना हुने भएकाले यसबाट आर्थिक सम्बन्धमा संकुचन आउन सक्ने देखिन्छ । भारत र पाकिस्तानबीच भएका केही असमझदारीका कारण सार्क शिखर सम्मेलन नै हुन सकेन भने सार्कको अस्तित्वमै प्रश्न उब्जिएको छ । युद्ध नै हुँदा पहिले दक्षिण एसिया र समग्रमा विश्वमै यसको प्रभाव प्रत्यक्ष–अप्रत्यक्ष रुपमा देखिने अर्थशास्त्री अधिकारी बताउँछन् ।

चालु आर्थिक वर्षको चैतसम्म नेपालले भारतबाट ७ खर्ब ८५ अर्बको सामान आयात गरेको छ भने भारततर्फ १ खर्ब ४९ अर्बको निर्यात गरेको छ । भन्सार विभागका अनुसार भारतसँग ६ खर्ब ३५ अर्ब रुपैयाँको व्यापार घाटा रहेको छ । कुल वैदेशिक व्यापार १४ खर्ब ९७ अर्ब पुगेको छ, जसमा आयात १३ खर्ब ९ अर्ब पुगेको छ । यसमा भारतको हिस्सा दुई तिहाईभन्दा बढी छ ।

भारतसँगै पाकिस्तान पनि नेपालको छिमेकी मुलुक हो । चालु आर्थिक वर्ष २०८१–८२ साउनदेखि चैत मसान्तसम्म नेपालले पाकिस्तानबाट २५ करोड ४७ लाख रुपैयाँको वस्तु आयात गरेको देखिन्छ भने ६ करोड २२ लाखको निर्यात गरेको छ । जम्मा १९ करोड २४ लाख व्यापार घाटा रहे पनि युद्धका बहुआयामिक असरका कारण नेपालले क्षति व्यहोर्नुपर्ने अवस्था छ । हाल पाकिस्तानबाट नेपालमा मसला, औषधीय जडीबुटी, औषधि, सौन्दर्य प्रशाधन र रासायनिक पदार्थजस्ता वस्तु आयात हुन्छ ।

वाणिज्य मन्त्रालयका पूर्व सहसचिव रविशंकर सैंजुका अनुसार भारत–पाकिस्तान युद्धको प्रभाव केवल दुई देशमा सीमित रहँदैन । भौगोलिक र आर्थिक दृष्टिले भारतमा निर्भर नेपालजस्तो देशको अर्थतन्त्रमा बहुआयामिक असर पर्न सक्ने देखिन्छ । खासगरी व्यापार, आपूर्ति, मूल्यवृद्धि, रोजगारी, पर्यटन र विकास क्षेत्रमा व्यापक असर पर्न सक्ने भएकाले नीति निर्माताहरूले संकट व्यवस्थापन योजना तयार पार्नु आवश्यक रहेको उनको भनाइ छ । उत्पादन विविधिकरण, आन्तरिक उत्पादनमा वृद्धि र वैकल्पिक पारवहन मार्गको विकासजस्ता उपायले जोखिम न्यूनीकरणमा योगदान दिन सक्ने उनको राय छ ।

युद्ध लम्बिँदै गएमा व्यापार र आपूर्ति श्रृंखलामा अवरोध हुने तथा युद्धको अवस्थामा भारतले सीमामा सुरक्षा कडा पार्दा सामानको आवागमनमा ढिलाइ वा अवरोध आउन सक्ने देखिन्छ । विशेषगरी पेट्रोलियम पदार्थ, खाद्यवस्तु, औषधि र निर्माण सामग्रीहरू प्रभावित हुन सक्छन् । यसले नेपालको दैनिक जनजीवन र उद्योग–व्यवसायमा नकारात्मक असर पार्न सक्ने स्थानीय व्यवसायीहरु बताउँछन् ।

यसबाहेक इन्धन र अत्यावश्यक वस्तुको मूल्यवृद्धि हुने जोखिम रहेको छ । भारतबाट आउने इन्धनको आपूर्ति रोकिने वा ढिलाइ हुँदा कालोबजारी र कृत्रिम अभाव सिर्जना हुन सक्ने आँकलन पनि गरिएको छ । युद्धको सम्भावनाले अन्तर्राष्ट्रिय पर्यटकलाई क्षेत्रीय असुरक्षाको अनुभूति गराउने भएकाले पर्यटन क्षेत्र पनि प्रभावित बन्ने देखिन्छ । यसले नेपाल आउने पर्यटक संख्यामा गिरावट ल्याउन सक्छ । विशेषगरी भारतीय पर्यटकको आगमनमा तत्काल असर पर्न सक्छ, जसको प्रत्यक्ष प्रभाव होटल, ट्राभल एजेन्सी र हस्तकला व्यवसायमा पर्छ ।

यसबाहेक भारतमा कार्यरत नेपालीहरू युद्धको जोखिममा पर्न सक्छन् भने उनीहरूको रोजगारी गुम्न सक्ने वा जबर्जस्ती नेपाल फर्कनुपर्ने अवस्था आउन सक्छ । योसँगै भारत हुँदै खाडी मुलुक जान समस्या आउँदा वैदेशिक रोजगारीमा समेत अवरोध हुन सक्छ । यसको असर नेपाल आउने रेमिटेन्समा देखिनेछ । यद्यपि, युद्ध कति लम्बिन्छ भन्नेमा यसको असरको अनुमान गर्न सकिने अर्थशास्त्री डिल्लीराज खनाल बताउँछन् । ‘एकातर्फ सार्कको उपादेयता सकिएको जस्तै भयो । त्यहाँ नेपालजस्ता कम विकसित देशहरुले सहुलियतपुर्ण बजारको पहुँच हुने थियो । यो युद्धले सार्क पुनः सक्रिय हुने सम्भावना झनै घटाएको छ । द्विपक्षीय रुपमा कूटनीतिक सम्बन्ध विस्तारमा जोड दिएर यसको असर न्यूनीकरणतर्फ ध्यान दिनुपर्छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्