काठमाडौंलाई रारासँग जोड्दै पर्यटन बोर्ड

काठमाडौं– आन्तरिक मात्र नभएर विदेशी पर्यटकको पनि रोजाइमा रारा ताल पर्छ । तर, रारासम्म पुग्न राम्रो सडक पूर्वाधार नहुँदा अपेक्षित रुपमा पर्यटक पुग्न सकेका छैनन् ।
आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण रारामा बढाउन नेपाल पर्यटन बोर्डले ब्रान्डिङको काम सुरु गरेको छ । बोर्डले पहिलो चरणमा टुरिस्ट बस एसोसिएसन अफ नेपाल (टीबान)सँगको सहकार्यमा ब्रान्डिङ सुरु गरेको हो । काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनको सम्भाव्यता अध्ययनका लागि टीबानको विशेष भ्रमण टोली बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ । पर्यटन क्षेत्रमा काम गरिरहेका पर्यटन व्यवसायीहरु पर्यटक बसमा रारा पुग्ने र सडक पूर्वाधारको अवस्था बुझेर फिर्ता हुनेछन् ।
समुन्द्र सतहबाट २९ सय ९० मिटरको उचाइमा रहेको रारा ताल पर्यटकीय गन्तव्यको रुपमा रहेको भए पनि सडक तथा हवाई पूर्वाधारको सहजता नहुँदा ओझेलमा परेको छ । यातायात पूर्वाधारमा भएको सुधारसँगै सडक मार्गबाट पनि रारा पुग्न सकिने सन्देश दिन पर्यटक बस सञ्चालनको तयारी थालिएको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले बताए । उनले भने, ‘काठमाडौंदेखि रारासम्म पर्यटक बस सञ्चालनमा ल्याउनका लागि सडकको अवस्था अवलोकन गर्न र कसरी बस सञ्चालन गर्न सकिन्छ भनेर सम्भाव्यता अध्ययन गर्न टोली गएको हो ।’
काठमाडौं–रारा नियमित पर्यटक बस सञ्चालन गरेर निरन्तरता दिएको खण्डमा आगामी दिनमा कर्णाली प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्ने विश्वास जोशीको छ । बोर्डले पहिलो चरणमा कोशी प्रदेशका इलाम र धनकुटाका साथै कर्णालीको रारा ताल ब्रान्डिङ गर्न लागेको हो ।
भ्रमण टोलीलाई बिदाइ गर्दै बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐरले भने, ‘निरन्तर रुपमा बस सञ्चालन गर्ने वातावरणको विकास होस् । बोर्डले परिकल्पना गरेको काठमाडौंलाई रारासँग जोड्ने अभियान सफल हुने विश्वास लिएको छु । काठमाडौंबाट कर्णालीको रारासम्म सडक यातायातबाट पुग्न सकिन्छ भन्ने सन्देश दिन खोजिएको हो । पर्यटक बसले यात्रा तय गरेसँगै अब काठमाडौंबाट रारा टाढा छैन भन्ने सन्देश प्रवाह हुन्छ ।’
टुरिस्ट बस एसोसिएसन अफ नेपालका अध्यक्ष भिष्म न्यौपानेले यात्राको सफल सुरुआत पर्यटन बोर्डले देखाएको सद्भावको परिणाम भएको बताए । उनले भने, ‘सडक र भौतिक पूर्वाधारको अवस्था सरल र सहज देखिएको छ । हामी यस यात्राका क्रममा आइपर्ने कठिनाइ र सम्भावनाहरुको सुक्ष्म अध्ययनपछि थप योजनाबद्ध रुपमा अघि बढ्नेछौं र सुधारको लागि सुझाव पनि दिनेछौं ।’
टीबानका पूर्वअध्यक्ष कृष्ण आचार्यले सडकमार्फत रारा यात्रा पूर्ण सम्भव रहेको बताउँदै भने, ‘काठमाडौंदेखि रारा जाने यो नै सही सिजन हो । यही सिजनमा हामीले काठमाडौंबाट बस यात्रा गराएर रारा पुर्याउन सक्यौं र यसका लागि थप प्याकेजहरु बनाउन सक्यौं भने रारामा पर्यटकको संख्यामा वृद्धि हुनेछ ।’ भ्रमण टोलीमा पर्यटन व्यवसायी तथा सरोकारवाला निकायका प्रतिनिधिहरु सहभागी छन् । अध्ययनपछि नियमित पर्यटक बस सेवा सञ्चालन गर्ने तयारी रहेको बोर्डले जनाएको छ ।
बोर्डले यसअघि पनि रारासम्म पर्यटक बस सञ्चालन गरेर पर्यटन प्रवद्र्धनको काम अगाडि सारेको भए पनि कोभिडका कारण रोकिएको थियो । मुगु जिल्लामा रहेको रारा ताललाई ‘स्वर्गकी अप्सरा’ को उपनाम दिइएको छ । राजा महेन्द्रले २०२० सालमा रारालाई यो उपमा दिएका थिए । जिल्ला सदरमुकाम गमगढीबाट पश्चिमतर्फ करिब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुग्न सकिन्छ । रारा ताल रारा राष्ट्रिय निकुञ्जभित्र रहेकाले तालसम्म सवारीसाधन प्रवेश प्रतिबन्ध गरिएको छ । मिली चौरमा सवारीसाधन राखेर तालको पैदल यात्रा तय गर्न सकिन्छ ।
१०.८ वर्ग किलोमिटरमा फैलिएको रारा तालको अधिकतम लम्बाइ ५ किलोमिटर, चौडाइ ३.२ किलोमिटर र गहिराइ १६७ मिटर छ ।
रारा ताल भ्रमण गर्न सेप्टेम्बरदेखि अक्टोबर र अप्रिलदेखि मे महिना अनुकूल हुन्छ । कर्णाली प्रदेशको सदरमुकाम सुर्खेतदेखि र नेपालगञ्जदेखि हवाई यात्रामा मुगुको ताल्चा विमानस्थल अवतरण गरेर दुई घण्टा पैदल यात्रापछि रारा ताल पुग्न सकिन्छ ।