राजसंस्था पुनर्स्थापना गर्न भन्दै जेठ १५ गतेदेखि ‘जनआन्दोलन’ को घोषणा

काठमाडौं- राजसंस्था पुनर्स्थापना र सनातन हिन्दु धर्मका लागि भन्दै जनआन्दोलन घोषणा भएको छ । राजसंस्था पुनर्स्थापनाका लागि गठित ”संयुक्त जनआन्दोलन समिति” ले ”जनआन्दोलन” को घोषणा गरेको हाे ।
राजसंस्था पुनर्स्थापनका लागि गठित समितिका संयोजक नवराज सुवेदीले बिहीबार पत्रकार सम्मेलन गर्दै जेठ १५ गतेदेखि जनआन्दोलन घोषणा गरेका हुन् । आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएको भन्दै कुनै पनि सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने उनले घोषणा गरे ।
संवैधानिक राजसंस्था, सनातन हिन्दु अधिराज्य पुनर्स्थापना, संघीयता खारेजी, सुशासन र भ्रष्टाचार अन्त्य आफूहरूको लक्ष्य रहेको सुवेदीले बताए । गणतन्त्र दिवसदेखि नै उनीहरूले आन्दोलन गर्न लागेका हुन् ।
घोषणासभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्टलगायतको उपस्थिति थियो ।