Logo

सामुदायिक विद्यालयमा बस सञ्चालन भएसँगै विद्यार्थी गाउँ फर्किन थाले

पोखरा– कास्कीको मादी गाउँपालिकाका सामुदायिक विद्यालयमा बस सञ्चालन भएसँगै शहर गएका विद्यार्थी गाउँ फर्किन थालेका छन् । मादी गाउँपालिका–४ मा रहेको ध्रुव मावि र मादी–७ मा रहेको धनुबास कालिका माविले स्कुल बस सञ्चालन गरेसँगै शहर पुगेका विद्यार्थी गाउँ फर्किन थालेको गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले बताए ।

गाउँका विद्यार्थी शहर जान थालेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने उद्देश्यले गाउँपालिकाले ७५ प्रतिशत अनुदानमा बस सेवामा लगानी गरेको उनले जनाए । पोखरासँगै जोडिएको मादीका केही विद्यार्थी निजी स्कुलमा अध्यक्ष गर्न पोखरा झरेसँगै गाउँपालिकाले बस सञ्चालन गरेर विद्यार्थी गाउँ फर्काउने अभियानमा लागेको पालिका अध्यक्ष गुरुङले जनाए ।

मादीको तारकाङमा रहेको ध्रुव माविमा गत वर्ष १८२ विद्यार्थी रहेकोमा यस वर्ष ३० जना विद्यार्थी थपिएको मादी गाउँपालिका–४ का अध्यक्ष शिवप्रसाद सापकोटाले बताए । त्यसैगरी गाउँपालिका छाचोकमा रहेको धनुबास कालिका माविमा गत वर्ष ६२ जना विद्यार्थी रहेकोमा यस वर्ष ३१ जना थपिएको मादी–७ का वडा अध्यक्ष दुर्गाबहादुर गुरुङले बताए । ध्रुव माविमा नर्सरीदेखि कक्षा १२ सम्म सञ्चालन भएको छ भने धनुबास कालिका माविमा कक्षा ६ देखि १० सम्म पठनपाठन हुन्छ ।

यसैबीच, बुधबार धनुवास कालिका माविलाई टाटा कम्पनीको ३६ सिटे बस विद्यालयलाई हस्तान्तरण गरिएको छ । गाउँपालिकाका अध्यक्ष गुरुङ, वडा अध्यक्षहरु दुर्गाबहादुर, सापकोटा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर गुरुङ, अर्थ संकलन समितिका अध्यक्ष क्या.इन्द्रबहादुर गुरुङ, प्रध्यानाध्यापक गोपाल सापकोटालाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्