Logo

नीति निर्मातालाई ‘पोलिसी लिडरशिप’ तालिम

काठमाडौं– नेपाल सरकारका नीति निर्माणमा संलग्न अधिकारीहरूलाई लक्षित गरी सञ्चालन गरिएको ८ महिने नेपाल पोलिसी लिडरशिप प्रोग्राम (एनपिएलपी) २०२४ सम्पन्न भएको छ । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)को आयोजनामा सञ्चालित उक्त तालिम कार्यक्रम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र काठमाडौं विश्वविद्यालयको सहकार्यमा सम्पन्न भएको हो ।

एनपीआई अध्यक्ष खगेन्द्रराज ढकालले आठ महिनाको कार्यक्रम उपलब्धिमूलक भएको बताए । नीति निर्माणसँग सम्बन्धित निर्णय प्रक्रियामा आवश्यक हुने विभिन्न फ्रेमवर्क र विश्लेषणका तरिकाहरू सिकाउने उद्देश्यले कार्यक्रम डिजाइन गरिएको उनल बताए । पूर्वसचिव गोपीनाथ मैनालीले काठमाडौं विश्वविद्यालय र नेपाल सरकारसँगको सहकार्यमा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै त्रिपक्षीय सहकार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने बताए ।

उनका अनुसार एनपिएलपीमा ९ जना प्रशिक्षकहरूले सहजीकरण गरेका थिए, जसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता थियो । एनपिएलपीका सहजकर्ताहरूको संयोजन गम्भीर भट्टले गरेका थिए भने खगेन्द्र ढकाल, गोपी खनाल, गोपी मैनाली, शारु जोशी, पूर्ण नेपाली, प्रमोद जोशी र सम्झना श्रेष्ठलगायत नेपाली मूलका विज्ञहरूले विभिन्न मोड्युलहरूको सहजिकरण गरेका थिए । अन्तर्राष्ट्रिय विज्ञ स्याली वाशिङ्टनले नीति नेतृत्वको अन्तर्राष्ट्रिय सन्दर्भ तथा आवश्यक सीप र क्षमताबारे विशेष सत्र सञ्चालन गरेकी थिइन् ।

समापन कार्यक्रममा १६ वटा मन्त्रालयको प्रतिनिधित्व गरेका नेपाल सरकारका सहसचिव, उपसचिव र अधिकृतहरूसहित २५ जना सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो । एनपिएलपी ग्राजुएसन कार्यक्रममा नागरिक समाज, थिंक ट्यांक, शैक्षिक क्षेत्र, सञ्चारमाध्यम तथा नेपाल सरकारका विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्