सुदूरपश्चिम प्रादेशिक पर्यटन महोत्सव वैशाख २६ देखि

काठमाडौं– कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव हुने भएको छ । सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको सम्भावना तथा प्रचारप्रसारका लागि वैशाख २६ गतेदेखि महेन्द्रनगरमा ३ दिने पर्यटन महोत्सव आयोजना हुन लागेको हो । बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै पर्यटन महोत्सवबारे जानकारी गराइएको थियो ।
भीमदत्त नगरपालिका र पर्यटन बोर्डको सहकार्यमा महोत्सव आयोजना हुन लागेको भीमदत्त पर्यटन विकास समितिका संयोजक तथा महोत्सव आयोजक समितिका संयोजक राजेन्द्र केसीले बताए । उनका अनुसार सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूको जानकारी गराउने, सुदूरपश्चिममा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउनेबारे नेपाल र भारतका पर्यटन व्यवसायीबीच छलफल गर्ने महोत्सवको उद्देश्य रहेको छ । भारतबाट ५० जना पर्यटन व्यवसायी र विज्ञहरूको टोली महोत्सवमा सहभागी हुने उनले जानकारी दिए ।
‘यहाँका पर्यटकीय क्षेत्रहरूबारे नेपाल–भारतका पर्यटन व्यवसायीबीच छलफल हुनेछ, महोत्सव अवधिमै उनीहरूलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली र कर्णाली नदीमा र्यापटिङ गराइनेछ,’ उनले भने । महोत्सवको तयारी तथा व्यवस्थापनका लागि विभिन्न समिति तथा उपसमिति गठन गरिएको महोत्सव आयोजक समितिका संयोजक केसीले बताए ।
‘महोत्सवमा भव्य र सभ्य रुपमा सम्पन्न गर्नका लागि तयारी तीव्र पारिएको छ, महोत्सवको पहिलो दिनमा उद्घाटनपछि नेपाल–भारतका पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सम्बन्धित क्षेत्रहरूका विज्ञहरूबीच बी टु बी छलफल, यहाँका पर्यटन क्षेत्रको अवस्था, सम्भावना र पर्यटकीय गन्तव्यबारे कार्यपत्र प्रस्तुत हुनेछ,’ उनले भने । पयर्टन महोत्सव आयोजना गर्नका लागि भीमदत्त नगरपालिकाले ५ लाख र पर्यटन बोर्डले २५ लाख ६० हजार बजेट विनियोजन गरेको छ ।