Logo

नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच सम्झौता

काठमाडौं– शिक्षा र उद्योगलाई जोड्ने मुख्य उद्देश्यसहित दुई पक्षियहितमा सहकार्य गर्न नेपाल उद्योग परिसंघ र नेपाल विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । परिसंघमा बुधबार आयोजित कार्यक्रममा विश्वविद्यालयका रजिष्टार डा. सूर्यराज आचार्य र परिसंघका महानिर्देशक डा. घनश्याम ओझाले हस्ताक्षर गरे ।

सो अवसरमा परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले सीपयुक्त जनशक्ति उत्पादन अहिलेको आवश्यकता रहेको बताए । उनले शैक्षिक योग्यता हुने तर सीपयुक्त सिकाई बढाउन आवश्यक रहेकाले नयाँ अवधारणामा स्थापित नेपाल विश्वविद्यालयले सीपयुक्त जनशक्ति उत्पादनमा योगदान गर्ने विश्वास व्यक्त गरे । नेपाल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई उद्योगसँग जोड्न परिसंघले काम गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

उनले नेपाल विश्वविद्यालयले हालको परम्परागत शैक्षिक कार्यक्रमलाई रुपान्तरण गर्ने विश्वाससमेत व्यक्त गरे । नेपाल विश्वविद्यालयका कुलपति डा. विन्दु लोहनीले विश्वविद्यालयका विद्यार्थीहरुलाई प्रयोगात्मक सिकाइका लागि उद्योगहरुमा इन्र्टनसीप गराउन परिसंघले सहयोग गर्नुपर्ने बताए । सीपयुक्त शिक्षा प्रदान गर्ने गरी नेपाल विश्वविद्यालय अगाडि बढेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्