विराटनगरमा कार्गो रेल ठप्प, उद्योगीले दिएनन् चासो

विराटनगर– नेपालसम्म कार्गो बोकेर आएको रेल एकपटक फर्किएपछि अहिलेसम्म पुन: नेपाली भूमिमा प्रवेश गर्न सकेको छैन । लागत कम हुने भन्दै रेलमार्गबाट आयातको वकालत गर्दै आएका उद्योगी व्यवसायी आफैं निष्क्रिय बनेपछि विराटनगरस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी) सम्मको कार्गो रेल सेवा ठप्प भएको हो । जोगबनी नाकाबाट सञ्चालनमा आएको उक्त सेवा नियमित हुन नसक्दा नेपाल–भारत उद्योग वाणिज्य संघ, कोसी प्रदेश प्रतिनिधिमण्डलले भारतको जोगबनी भन्सार प्रमुख विकास श्रीवास्तवलगायत अधिकारीसँग छलफल गरेको छ ।
छलफलमा हाल भारत–नेपाल पारवहन सन्धिअन्तर्गत तेस्रो मुलुकबाट क्लिंकर, रासायनिक मल, कोइला र सिमेन्ट गरी चार वस्तु मात्रै रेलमार्गमार्फत ल्याउन अनुमति रहेको र त्यसको व्यवस्थापन ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालिले गरिरहेको जानकारी दिइएको थियो । ‘रेल सञ्चालनका लागि आवश्यक सम्पूर्ण उपकरण र जनशक्ति तयारी अवस्थामा छन् । उद्योगीले कन्साइनमेन्ट उपलब्ध गराए तुरुन्तै रेल सञ्चालन गर्न सकिन्छ,’ ट्रान्स नेपाल फ्रेड सर्भिसेजका प्रबन्ध निर्देशक मुकेशकुमार राठीले भने ।
छलफलमा भारतीय भन्सार अधिकारीले पनि प्रक्रिया पूरा गर्न थोरै समय लाग्ने जानकारी दिँदै प्रक्रिया टुंगिएपछि कोलकाता, हल्दिया र विशाखापट्टनम बन्दरगाहबाट सीधै विराटनगरसम्म कार्गो रेल सञ्चालन सम्भव हुने बताए । भन्सार प्रमुख श्रीवास्तवले रेल सञ्चालनमा सबै प्रकारका वस्तु समावेश गर्न सम्बन्धित निकायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरे ।
नेपाल–भारत उद्योग वाणिज्य संघ, कोसी प्रदेश अध्यक्ष मुकेश उपाध्याय नेतृत्वको छलफलमा संस्थापक अध्यक्ष ललितकुमार लोहिया, कार्यसमिति सदस्य मुकेशकुमार राठी, अरुण खेतान र कार्यालय सचिव गोविन्द ढकाल सहभागी थिए । उद्योगीहरू सक्रिय नहुँदा रेलमार्गको सम्भावना खेर जाँदै गएको अवस्था छ । तर, पछिल्लो संवाद र पहलले दुई देशबीचको व्यापारिक सम्बन्ध सुदृढ बनाउने र आयात–निर्यात प्रक्रिया सहज बनाउने आशा गरिएको छ ।