Logo

राजस्व छलीका आशंकित ट्रक छाडियो

दोलखा– प्रहरीले राजस्व छली आशंकामा नियन्त्रणमा लिइएका १४ वटा सिमेन्ट लोडेड ट्रक जरिवाना तिरेर छुटेका छन् । मंगलबार आन्तरिक राजस्व कार्यालय महाराजगन्जमा ३ लाख ३१ हजार ८ सय जरिवाना बुझाएको प्रमाणपछि प्रहरीले राजस्व छली आशंकित १५ ट्रकलाई छाडिदिएको हो ।

शुक्रबारदेखि आइतबारसम्म जाँचका क्रममा कर बिजक नबोकी ढुवानी गरिरहेका ट्रक प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले करदाता सेवा कार्यालय चरीकोटको जिम्मा लगाएको थियो भने उसले आफ्नो क्षेत्राधिकार नभएकाले काठमाडौं महाराजगन्ज पठाएको थियो । महाराजगन्ज कार्यालयले तोकेको जरिवाना तिरेको प्रमाण आएपछि ट्रक छाडिएको करदाता सेवा कार्यालय चरीकोटका प्रमुख विमलकुमार पौडेलले जानकारी दिए ।

प्रहरीले नियन्त्रणमा लिएका १४ ट्रकमध्ये १० वटाको बिल नभएको र चार वटाको बिल भए पनि गन्तव्य नभएको उनले जानकारी दिए । बिलबिजक नभएका १० वटा ट्रकका सप्लायर्सलाई जरिवाना लिइएको छ भने चार वटाले कर तिरको प्रमाण ल्याएपछि छुटेका छन् । सिमेन्ट ढुवानी सप्लायर्स प्रतिसियन सोलुसन प्रालिलाई राजस्व छलीमा थप अनुसन्धान हुने प्रमुख पौडेलले बताए । नियन्त्रणमा लिइएका अधिकांश ट्रकले युनाइटेड र ह्वासिन सिमेन्ट बोकेका थिए ।

प्रहरीले सिंगटीबाट पाँच, कालिञ्चोक गाउँपालिका–८ सुनखानीबाट तीन, खरिढुंगाबाट चार र चरीकोटबाट दुई वटा सिमेन्ट बोकेर आएका ट्रक नियन्त्रणमा लिएको थियो । सिमेन्ट लिएर आएका ट्रक दोलखा गन्तव्य पनि नभएको र कहाँ लैजाने कुनै विवरण नभेटिएपछि नियन्त्रणमा लिनुपरेको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले बताए ।

अहिले राजस्वले जरिवाना लिएको प्रमाण आएपछि ट्रक छाडिएको उनको भनाइ छ । सिमेन्ट कम्पनीबाट काठमाडौं गोदामका लागि पठाएको कागजातमा उल्लेख भएको उनले बताए । ढुवानी गर्ने हरेक मालवाहक ट्रकसँग सिमेन्टको बिलबिजक अनिवार्य हुनुपर्ने नियम छ । तर, वितरकका गोदाममा ढुवानी गर्ने कर बिजक भए पनि ट्रकले सीधै वितरकले बिलबिजक भर्पाइ नगरी राजस्व छलेर जलविद्युत् आयोजना पुर्‍याउने गरेको खुलेको छ ।

प्रतिक्रिया दिनुहोस्