सडक स्तरोन्नतिसँगै ग्रामीण यात्रा सहज

दाङ– घोराही सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङ्गेसाल हुँदै लुम्बिनी प्रदेशको राजधानी जोड्ने बीपी मार्ग स्तरोन्नति भएसँगै स्थानीयलाई सहजता भएको छ । सडक विस्तारसँगै खोलाहरूमा कल्भर्ट निर्माण भएपछि ठूलो पानी पर्दासमेत स्थानीयलाई सिमलतारा–मूलाबारी–हाँसीपुर सडक खण्डमा हिँडडुल गर्न सहज भएको हो ।
भौगोलिक विकटतासँगै राम्रो सडक नहुँदा वर्षेनी दु:ख पाउने गरेका बंगलाचुली गाउँपालिका अन्तर्गत वडा नं. ३, ४, ६ र ८ नम्वर वडावासीले बिपी मार्गअन्तर्गत सिमलतारा–मुलाबारी–हाँसीपुर सडकखण्ड स्तरोन्नति भएसँगै नियमित बस सञ्चालन हुन थालेपछि सहज हुँदै गएको छ । साँघुरो सडक विस्तारसँगै ग्राभेल भएपछि सडकको अवस्थामा सुधार भएको बंगलाचुली गाउँपालिका–४ मूलबारी निवासी चुमा रानाले बताइन् ।
सडक राम्रो हुँदा नियमित रूपमा गाडी गाउँसम्मै आउने गरेको र जसले गर्दा स्थानीयलाई बजारसम्म पुग्न पैदल हिँड्नुपर्ने बाध्यताको अन्त्य भएको उनको भनाइ छ । सडक स्तरोन्ति नहुँदा हिउँदमा गाडी चल्ने गरे पनि वर्षात्मा सिमलतारासम्म हिँड्नुपर्ने भए पनि अहिले त्यो बाध्यता हटेको उनी बताउँछिन् । सडक निर्माणसँगै अप्ठेरो ठाउँमा सडक ढलान गरिएपछि पानी परेको बेला पनि बस आउन सक्ने भएको उनले बताइन् ।
उनले भनिन्, ‘सडक विस्तारसँगै अप्ठेरो ठाउँमा सडक ढलान गरिएको छ । जसले गर्दा पानी परेको बेला पनि बस चल्ने गर्दछ ।’ तर सुकाखोला र अर्जुनखोलामा पुल नहुँदा ठूलो खोला आयो भने समस्या हुने गरेको उनी बताउँछिन् । सिमलतारासम्म सडक कालोपत्रे भएको हुँदा वर्षाको समयमा स्थानीयलाई त्यहाँसम्म हिँड्नुपर्ने भए पनि अहिले त्यो बाध्यता हटेको छ ।
सडक निर्माणसँगै मूलाबासी, हाँसीपुर लगायतका स्थानीयको वर्षाैंदेखिको दु:ख हटेको बंगलाचुली गाउँपालिका–८ खैरेनी निवासी तिलक घर्ती बताउँछन् । जंगलमा साँघुरो र अप्ठेरो सडकका विगतमा धेरै दु:ख पाउने गरे पनि अहिले त्यो हटेको उनले बताए । स्थानीयको सबैभन्दा ठूलो आवश्यकताका रूपमा रहेको सडक सुधार हुँदै जाँदा स्थानीयलाई सहजता भएको उनको भनाइ छ ।
घर्तीले भने, ‘राम्रो सडक नहुँदा स्थानीयले धेरै दु:ख पाउने गरेका थिए । अहिले पिचै नभए पनि सडक ग्राभेल भएर राम्रो भएको छ ।’ सडक सुधारसँगै सुकाखोला र अर्जुनखोलामा पुल निर्माण भइदिए बाह्रै महिना गाडी चल्ने उनी बताउँछन् । बीपी मार्गअन्तर्गत घोराही उपमहानगरपालिका–१ को सिमलतारादेखि बंगलाचुली गाउँपालिकाको हाँसीपुरसम्मको सडक स्तरोन्नति भएसँगै स्थानीयलाई सहजता भएको हो ।
सिमलतारा–मुलाबारी–हाँसीपुर–बाङेसाल सडक खण्डअन्तर्गतको सिमलतारादेखि हाँसीपुरसम्मको करिब १७ किलोमिटर सडकको स्तरोन्नति गर्ने काम भएको थियो । सडक विस्तारसँगै नाला, पर्खाल निर्माण, खोलामा कल्भर्ट निर्माणसँगै ग्राभेल गर्ने काम गरिएको सडक पूर्वाधार कार्यालय दाङले जनाएको छ ।
सडक निर्माणले जिल्लाको मूलाबारी, हाँसीपुरलगायतका बस्तीका स्थानीयलाई सहजतासँगै दाङ उपत्यकालाई देउखुरीको भालुवाङमा रहेको लुम्बिनी प्रदेशको राजधानीसँग जोड्ने वैकल्पिक मार्गका रूपमा लिने गरिन्छ । सडक स्तरोन्नतिको काम वाइला एन्ड लामा तिरुपाते सिद्धान्त जेभीले २७ करोड ७० लाख ६५ हजार ३४३ रुपैयाँको लागतमा भएको सडक पूर्वाधार कार्यालय दाङका प्रमुख मनीष अर्यालले जानकारी दिए ।
उनका अनुसार उक्त सडकअन्तर्गत भैसाहीदेखि सिमलतारासम्म कालोपत्रे भइसकेको र अब बजेटको व्यवस्था भएमा बाँकी सडक पनि कालोपत्रे गरिने उनी बताउँछन् । खोलाहरूमा कल्भर्ट नहुँदा हिउँदमा गाडी चल्ने गरे पनि वर्षाको समयमा पानीले बाटो बिगार्दा सवारीका साधन सञ्चालनमा समस्या हुने गरेको थियो । गाडीहरु नचल्दा स्थानीयलाई हिँड्नु पर्ने बाध्यता थियो ।