आठ वर्षदेखि हुलाकी सडक अधुरै

महेन्द्रनगर– कञ्चनपुरको पूर्वपश्चिम जोडने हुलाकी राजमार्ग अझै पूर्ण रुपमा निर्माण हुनसकेको छैन । ठेकेदार कम्पनीको लापरबाहीका कारण कञ्चनपुरको हुलाकी सडक अलपत्र पर्दै आएको छ । अनेकौ बहाना बनाएर तोकिएको समयमा ठेकेदार कम्पनीले काम नगर्दा निर्माण भइसक्नुपर्ने हुलाकी राजमार्ग अझै पूरा हुन नसकेको हो । कैलालीको मोहना पुलदेखि कञ्चनपुरको दैजीसम्म ६२ किलोमिटर सडक कालोपत्रे गर्ने जिम्मा कम्पनीले पाएपछि हालसम्म ४२ किलोमिटरमात्रै सडक निर्माण गरेको छ ।
दैजीदेखि बेलडाँडीको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज जंगल कालिकिचदेखि बेलौरी नगरपालिका–९ रतनपुर, बेलौरी नगरपालिका–४ रिछाहदेखि रतनपुरसम्मको सडकखण्ड बेसमात्रै निर्माण गरिएको छ । बेलडाँडी गाउँपालिका प्रमुख हरिशचन्द रानाले निकुञ्ज क्षेत्रमा पर्ने आधामात्रै र बेलडाँडी–१ झर्ना सागरदेखि बेलडाँडी–२ कालिकिचसम्म अधुरै रहेको बताए । ‘हामीले पटक–पटक उक्त सडक कालोपत्रेका लागि सम्बन्धित निकायमा घच्घच्याए तापनि अहिलेसम्म उस्तै छ,’ उनले भने, ‘सडक कालोपत्रे नहुँदा जनताले सास्ती खेप्नु परेको छ ।’
बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले २०७५ सालमा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले अवरोध गरेको बेलौरी नगरपालिका–८ पचुईमा एक हजार दुई सय मिटरसहित बेलौरीको रिछाहदेखि रतनपुरसम्म सडक निर्माण नगरेको बताए । ‘हामीले बेलौरी नगरपालिका खण्डमा रहेको सडक कालोपत्रेका लागि पटक–पटक ताकेता गरेका छौं,’ उनले भने, ‘तर पनि निर्माण कार्य सम्पन्न गरेको छैन । जनतालाई दैनिक हिँडडुलमा सास्ती खेप्नु परेको छ ।’ त्यसैगरी ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो ।
सडक निर्माणका लागि पाँचौं पटक म्याद थप गर्दा पनि निर्माण कार्य पूरा भएको छैन । ३० महिनामै सक्नुपर्ने काम निर्माण कम्पनीको लापरबाहीले दोब्बर बढी ६६ महिना बितिसक्दा पनि सडक अधुरै छ । २०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकी शाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाबीच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अवधि र पाचौँ पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैन भने अन्तिम म्याद २०८१/०८२ साल असार मसान्तसम्ममा म्याद थप गरिएको छ ।
हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख मुकुन्दप्रसाद लामिछानेले यसअघि चार पटक म्याद थप गरेको मन्त्रिपरिषद्को १३औं संशोधन अनुरुप चालु आर्थिक वर्षसम्म म्याद रहेको बताए । उनका अनुसार कञ्चनपुरको हुलाकी सडक तीन खण्डमा ठेक्का दिइएको थियो । पहिलो र तेस्रो खण्ड शर्मा राजेन्द्र जेभी र दोस्रो बाबा हंससिद्धिकीले पाएका थिए । तर, दुवै कम्पनीले २०८१ फागुन दुई सातासम्मम काम गर्न सकेका छैनन् ।
डोके बजारदेखि बेलौरीसम्म पहिलो खण्ड ०–२० र बेलडाँडीदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हुँदै दैजीखण्ड ४०–६२ गरी ४२ किलोमिटर लामो सडक कालोपत्रेका लागि शर्मा राजेन्द्र जेभी कम्पनीले ठेक्का पाएका थिए । आयोजना प्रमुख लामिछानेले अन्तिम पटक म्याद भएकाले ठेकेदारले काम गरिरहेको बताएका छन् । उनका अनुसार पहिलो खण्ड पूरै निर्माण भएको र दोस्रोमा १० र तेस्रोमा ११ किलोमिटर मात्रै बाँकी रहेको बताए ।
त्यसैगरी हुलाकी राजमार्ग आयोजना र शर्मा राजेन्द्र जेभीबीच २०७३ साल फागुन १ देखि २०७६ साल भदौ ३० गतेसम्म सडक कालोपत्रे गर्ने सम्झौता भएको थियो । तर, सम्झौता अनुरुप काम हुन सकेको छैन । सम्झौता अनुरुप काम नसक्दा पहिलो पटक २०७६ साल चैत ३० गतेसम्म म्याद थप गरिएको थियो । उक्त अवधिमा समेत काम नसक्दा दोस्रो पटक २०७४ साल साउन, तेस्रो पटक २०७७ साल माघ २ गते, चौथो पटक २०७८ साल चैत ३० गतेसम्म म्याद थप गरिएको थियो भने, पाचौँ पटक २०८० सालमा थपिएको पाँचै समयमा समेत निर्माण कम्पनीले काम गर्न सकेको छैन ।
दोस्रो खण्डको बाबाहंस सिद्धिकी शाहीले बेलौरीदेखि (२०–४०) बेलडाँडीसम्म कुल २० किलोमिटर कालोपत्रे जिम्मा पाएको ३० महिनामा पनि काम गर्न नसकेपछि पाचौं पटक म्याद थपको तयारीमा छ । २० किलोमिटर कालोपत्रेका लागि उक्त कम्पनीले ६५ महिना लगाएको छ् । बाबा हंस सिद्धिकी शाही र हुलाकी राजमार्ग आयोजनाबीच २०७३ साल फागुन १२ गतेदेखि २०७६ साल भदौ २६ गतेसम्म निर्माण कार्य सक्ने सम्झौता भएको थियो । तर सम्झौता भएको चार पटक म्याद थप हुँदासमेत उक्त निर्माण कम्पनीले काम गर्न सकेको छैन ।
सम्झौता अवधिमा काम गर्न नसकेपछि पहिलो पटक २०७७ साल वैशाख १२, दोस्रो पटक २०७७ साल मंसिर ७ गते, तेस्रो पटक २०७८ साल जेठ ७ गते, चौथो पटक २०७८ साल माघ १ गतेसम्म म्याद थप भएको थियो भने पाचौँ पटक २०८० साल साउनमा थप भएको छ । त्यसैगरी कैलाली कञ्चनपुर सदरमुकाम जोड्ने हिसाबले डोके बजारदेखि पुनर्वास नगरपलिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिका हुँदै दैजी जोड्ने हुलाकी राजमार्ग निर्माणमा ठेकेदार कम्पनीले अनेकाैं बहाना र दोषारोपण गर्दै म्याद थप्दै आएको छ ।
स्थानीयले शर्मा राजेन्द्र जेभीका सञ्चालक भीम साउद नेपाली काँग्रेस डडेल्धुराका जिल्ला सभापति एवम् परशुरामनगरका निर्वतमान मेयर र बाबाहंस सिद्धिकी शाहीका सञ्चालक दिपेन्द्रबहादुर शाही डोल्पा कांग्रेस सभापति भएकाले म्याद थप्ने तर, काम नगर्ने प्रवृत्ति हावी भएको बताउँछन् । कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र कैलाली–कञ्चनपुरको आर्थिक विकासमा समेत वृद्धि हुने अपेक्षा लिए पनि ठेकेदार कम्पनीको लापरबाहीका कारण उक्त क्षेत्रका स्थानीयले सास्ती खेप्नु परेको छ ।
सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले वर्षौंदेखि कच्ची सडकमा जोखिमपूर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् । हुलाकी सडक छेउमै घर भएका बेलौरी नगरपालिका–९ रतनपुरका प्रमानन्द जोशीले दुरगामी योजना नहुँदा वर्षातका बेला डुबान, धुलाम्य र सुक्खायाममा धुलाम्मे स्थानीयलाई समस्या भइरहेको बताए । ‘समयमै सडक निर्माण नहुँदा सडक छेउछाउका बिरुवा, घर सेताम्मे भएका छन्,’ उनले भने, ‘सडक छेउका घर धुलाम्ये भएका छन् । हामीहरुको स्वास्थ्यमा समेत असर परिरहेको छ । ठेकेदार कम्पनीले कहिले काम गर्छन कहिले गर्दैनन् ।’
सडक निर्माणसँंगै पानी निकासका लागि समेत ढल निर्माण हुनुपर्ने उनले बताए । उनले ढल निर्माणसँंगै हुलाकी सडक दर्ता जग्गा धनीलाई समेत सरकारले मुआब्जा दिनुपर्नेमा जोड दिए । त्यसैगरी हुलाकी सडक छेउमै घर भएका बेलडाँडी गाँउपालिका–१ सिद्धचोकका स्थानीय दिनेश ठकुराठीले सरकारको लापरबाहीका कारण र ठेकेदार कम्पनीले बेवास्ता गरेका कारण उक्त सडक समयमै बन्न नसकेको बताए ।
‘सरकारले ठेकेदारलाई ताकेता गरेन,’ उनले भने, ‘ताकेता नगर्दा ठेकेदारले सडक बनाउन ध्यान दिएन ।’ पुनर्वास नगरपालिका–२ मोतिबस्तीका लालबहादुर नेपालीले हुलाकी सडकमा चरम ढिलासुस्ती भएकै कारण सडक धुलाम्मे, हिलाम्मे हुँदा हिँडडुल गर्न समस्या भएको बताए । निर्माण कम्पनीले सम्झौता गरेको ९६ महिनासम्म पनि हुलाकी राजमार्गको काम गर्न नसकेपछि सडक बिग्रिँदै गएको छ । निर्माण गरेको बेस र पहिलो कालोपत्रे लेयरसमेत भत्किँदै गएको छ ।
दोस्रो फेज बेलडाँडी, बेलौरी क्षेत्रमा ठेकेदारले ग्राभिलिङ थुपारेर अलपत्र पारेको छ भने, पूर्वपश्चिम जोड्ने महेन्द्र राजमार्गको वैकल्पिक ‘हुलाकी राजमार्ग कञ्चनपुरमा अधुरै छ । त्यसैगरी बाबाहंस सिद्धिकीका सञ्चालक चक्र शाहीले बेलौरी नगरपालिका–८ पचुई क्षेत्रमा भारतीय पक्षबाट अवरोध र कोडिभका कारणले गर्दा काम ढिलाइ भएको बताउँदै आएका छन् । शर्मा जेभी निर्माण कम्पनीका इन्जिनियर रोशन भट्टले सरकारी निकायबाटै अवरोध हुँदा म्यादभित्रै काम नसकिएको बताए ।
उनका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले एक वर्षसम्म काममा अवरोध गरेको थियो । बेलडाँडी क्षेत्रको चार सय मिटर सिँचाइको जमिन विवाद र कोडिका कारण ढिलासुस्ती भएको उनले बताएका छन् । उनले भने, ‘बेस बनिसकेको छ । अब कालोपत्रे गर्न मात्रै बाँकी हो ।’ हुलाकी सडकको ६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल एक अर्ब १७ करोड रुपैयाँ लागतमा उक्त सडकको सात मिटर चौडाइ कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशतभन्दा बढी भुक्तानी भइसकेको जनाएको छ ।