कारोबारमा निर्भर लाभकर

यो वर्ष घरजग्गा कारोबार (लिखत पारित) मा खासै सुधार आउन नसकेको अवस्थामा राजस्व असुली १४ प्रतिशतभन्दा धेरैले बढेको छ । सामान्यतया राजस्व बढेका बेला पुँजीगत लाभकर बढ्न पुग्छ । यो वर्ष पनि पुँजीगत लाभकर बढेको छ । चालु आवको नौ महिना (साउन–चैत)को तुलनामा गत वर्षको यही अवधिमा घरजग्गा कारोबारबाट प्राप्त हुने पुँजीगत लाभकर १७ प्रतिशतले बढेको छ । यो वर्षको चैतसम्ममा घरजग्गा कारोबारबाट १२ अर्ब ८ करोड रुपैयाँ पुँजीगत लाभकर असुली भएको छ ।
गत आवको चैतसम्ममा १० अर्ब ३२ करोड पुँजीगत लाभकर असुली भएको थियो । यो वर्षका नौ महिनामा एक अर्ब ७६ करोड लाभकर बढी असुली भएको छ । सरकारले घरजग्गा कारोबारमा रजिस्ट्रेसन शुल्कसहित करिब एक दर्जन शीर्षकबाट अन्य कर उठाउँछ । यसमध्ये रजिस्ट्रेसनपछि सबैभन्दा बढी राजस्व पुँजीगत लाभकरबाट असुल हुने गरेको छ । सरकारले घरजग्गा कारोबारमा हुने नाफामा निश्चित प्रतिशत पुँजीगत लाभकर लिने गरेको छ ।
घरजग्गा खरिद गरेको पाँच वर्षभन्दा कम समयमा बेच्दा हुने नाफामा सरकारले ५ प्रतिशत लाभकर लिन्छ । घरजग्गा किनेको पाँच वर्षपछि बेच्दा हुने नाफामा भने साढे २ प्रतिशत मात्र लाभकर लिने व्यवस्था गरिएको छ । सरकारले यो वर्ष जग्गाको मूल्यांकन बढाएका कारण राजस्व बढेको र त्यसको प्रभाव पुँजीगत लाभकरमा परेको हो । सरकारले चालु आवको चैतसम्ममा प्रतिमहिना औसतमा ३ अर्ब ६८ करोड ८८ लाख रुपैयाँका दरले राजस्व असुली गरेको छ । यसमा पुँजीगत लाभकर प्रतिमहिना औसतमा १ अर्ब ३४ करोड २२ लाख रुपैयाँ उठेको छ ।
गत वर्ष असोजमा १ अर्ब ४६ करोड रुपैयाँ पुँजीगत लाभकर असुली भएको थियो । यो वर्ष असोजमा १ अर्ब ११ करोडमा झरेको छ । अन्य सबै महिनामा पुँजीगत लाभकर बढेको छ । यो वर्ष साउनमा १ अर्ब ३४ करोड, भदौमा १ अर्ब १३ करोड, कात्तिकमा ९३ करोड, मंसिरमा १ अर्ब ३१ करोड, पुसमा १ अर्ब ६० करोड र माघमा १ अर्ब १९ करोड पुँजीगत लाभकर असुली भएको छ । खासमा घरजग्गा कारोबारको गति र सुस्त अर्थतन्त्र एकापसमा जोडिएका छन् ।
कतिपयले घरजग्गा कारोबारमा आएको मन्दीले समग्र अर्थतन्त्रलाई सुस्त बनाएको बताइरहेका छन् । यो भनाइमा केही सत्यता छ । घरजग्गा कारोबार नबढेकै कारण मात्र अर्थतन्त्र सुस्त बनेको पक्कै होइन । घरजग्गाजस्तै अर्थतन्त्रका अन्य धेरै क्षेत्र छन् । त्यसमध्ये एउटा क्षेत्र मात्र निर्बल हुँदा समग्र अर्थतन्त्रको गति सुस्त हुँदैन । थोरै प्रभाव मात्र पर्छ । यस्तै एकाध क्षेत्र मजबुत हुँदा मात्र पनि अर्थतन्त्र बलियो हुन सक्दैन । त्यसो हुँदो हो भने केही वर्षदेखि अर्थतन्त्रको बाह्य क्षेत्र मजबुत भइरहेको छ ।
यसले समग्र अर्थतन्त्रलाई नै अगाडि बढाउनुपर्ने थियो । तर त्यसो भएको छैन । त्यसैले एकाध क्षेत्रमा हुने मन्दीले मात्र समग्र अर्थतन्त्रलाई समस्यामा ल्याउँदैन । हाम्रो अर्थतन्त्रको सन्दर्भमा हेर्ने हो भने घरजग्गा कारोबारले गति लिएका बेला अर्थतन्त्र पनि बढेको देखिँदै आएको छ । विगतमा घरजग्गा कारोबारमा धेरै लगानी भएको र यस्तो लगानीले छिटो गतिमा प्रतिफल दिएकाले अर्थतन्त्रमा सकारात्मक प्रभाव पारेको पक्कै हो । सामान्यतया घरजग्गा खरिद–बिक्री आवास वा उद्योगधन्दा निर्माणका लागि गरिन्छ ।
तर, विगतका केही वर्ष घरजग्गा खरिद–बिक्री व्यापार वा लगानीका लागि गरियो । जसका कारण मूल्य अस्वाभाविक रूपमा उच्च हुँदै गयो । काठमाडौं उपत्यकामा मात्र होइन, तराईका फाँटहरू पनि महँगो मूल्यमा खरिद–बिक्री भए । बजारोउन्मुख गाउँका घरघडेरीको मूल्य पनि छोइनसक्नु भयो । छोटो समयमा प्रतिफल आएको देखिएपछि पैसा हुनेमध्ये अधिकांशको ध्यान घरजग्गा खरिदमा गयो । यसले यो क्षेत्रमा खर्बौं रुपैयाँ लगानी हुन पुग्यो ।
अहिले घरजग्गा कारोबारमा मन्दी आएपछि विगतको सबै लगानी डम्प भएको अवस्था छ । अर्थतन्त्रका गति सुस्त बनाउनुमा यो एउटा कारण बनेको छ । आगामी दिनमा घरजग्गाको कारोबार बढ्न सुरु भए विगतको लगानी चलायमान हुनेछ र अर्थतन्त्रको गति बढाउन सहयोग पुग्नेछ । कारोबार बढे स्वाभाविक रूपमा पुँजीगत लाभकर पनि धेरै उठ्नेछ ।