Logo

साढे तीन दशकमा ८६ बालीका ८३७ जात सिफारिस

काठमाडौं– नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)ले साढे तीन दशकमा ८६ वटा कृषि बालीका ८३७ जात सिफारिस गरेको छ । २०४८ वैशाख २५ मा स्थापना भएको नार्कले विभिन्न अनुसन्धान गरी यी बालीका जात प्रयोगका लागि सिफारिस गरेको हो ।

धान, मकै, गहुँ, मुसुरो तथा आलुका जातहरु कृषकलाई प्रयोग गर्न सिफारिस गरिएको नार्कका निर्देशक डा. भानुभक्त पोखरेलले जानकारी दिए । नार्कले सिफारिस गरेका जातहरुमा धानका ३५ प्रतिशत, मकैका ७३ प्रतिशत, गहुँका ९४ प्रतिशत, मुसुरोका ६० प्रतिशत र आलुका ४६ प्रतिशत अनुशरण भएको उनले बताए । धान, मकै र गहुँ खेती गरिएको क्षेत्रफल बढ्न नसकेको भए पनि उत्पादन बढिरहेको उनले जानकारी दिए । निर्देशक पोखरेलका अनुसार सिफारिस गरिएका हाल प्रचलित उन्नत जात र प्रविधिहरुको अनुशरणलाई थप विस्तारित गर्न सकेको खण्डमा धान २४ प्रतिशत, मकै ९३ प्रतिशत र गहुँ १० प्रतिशतले उत्पादन वृद्धि हुनेछ ।

नार्कका अनुसार सुन्तलाको अगौटे जात पारिपात्ले अगौटे सुन्तला–१ (ओकित्सुवासे) पञ्जीकरण भइसकेको छ भने पारिपात्ले अगौटे सुन्तला–२ र कागतीको पारिपात्ले सुनौलो कागती पञ्जीकरणको लागि सिफारिस भएका छन् ।

यस्तै, गहुको जिंक र आइरन बायोफोर्टीफाइड दुईवटा जात, कोदोको मरुवा र थोप्ले रोग सहने एक जात, उखुको अगौटे दुईवटा जात, चनाको खजुरा चना–१, स्याउको स्पर टाइप जात, छोटो अवधिमा उत्पादन लिन सकिने काउलीको दुईवटा जात सिफारिस गर्न योग्य भएका छन् । यसैगरी कफीका चार जात, हलेदो र अदुवाको १–१ जात सिफारिस योग्य पाइएका छन् । हिउँदे घाँसका लागि बढी उत्पादकत्व र उच्च गुणस्तर भएका जातहरु दर्ताको लागि छनौट भएका छन् । प्रशोधनका लागि उपयुक्त आलुका जातहरु खुमल सेतो–३ र खुमल रातो–४ पञ्जीकरण गरिएका छन् ।

यस्तै नवलपुर बदाम १, रायोको बेलाचापी चौडापात, भन्टाको पोखरा लुर्की, जौको मुक्तिनाथ, सुर्खेत क्षेत्रका स्थानीय घैया धानको कालनाचे र दाम्री, धानका स्थानीय-रैथाने जातहरु कालो पात्ले (कास्की), हरियो काउचिन (सिन्धुपाल्चोक), लाल अनदी (नपुरकन्च), जोरायल बासमती (डोटी), काँक्रोका स्थानीय-रैथाने जातहरु कालो भाजी (मुगु), जिम्पाखा (ओखलढुंगा), मादले (कास्की), भन्टाको पोखरा लुर्की–१ (भन्टा) पञ्जीकरण गरिएका छन् । जुनारको वाशिङ्टन नाभेल (उत्पादन १८–१९ टन प्रतिहेक्टर) र सिन्धुली जुनार सिफारिसको प्रक्रियामा छन् ।

जनशक्ति अभाव
कृषि बालीको अध्ययन–अनुसन्धानका लागि नार्कमा जनशक्तिको निकै अभाव भएको निर्देशक पोखरेलले जानकारी दिए । उनका अनुसार नार्कमा जम्मा दरबन्दी १ हजार ८ सय २३ रहे पनि हाल करिब ४८ प्रतिशत पद रिक्त रहेका छन् । वैज्ञानिक र प्राविधिक अधिकृतको जम्मा दरबन्दी क्रमशः ४१३ र ३३३ रहेकोमा यी पदहरुमा ५७ प्रतिशत र ४५ प्रतिशत रिक्त रहेका छन् । हाल परिषद्का देशभर ६३ वटा कार्यालयमार्फत अनुसन्धान कार्यक्रमहरू सञ्चालन भइरहेका छन् । यस्ता कार्यक्रमहरूको ९७ प्रतिशत लागत नेपाल सरकारले व्यहोर्ने गरेको छ भने बाँकी ३ प्रतिशत विदेशी दातृ निकायहरूबाट प्राप्त हुने नार्कले जनाएको छ ।

कृषिसम्बन्धी उच्चस्तरीय अध्ययन–अनुसन्धान गर्ने गराउने, कृषि क्षेत्रका समस्याहरुको निराकरणका उपायहरु पत्ता लगाउने र कृषिसम्बन्धी नीति तर्जुमाको लागि नेपाल सरकारलाई आवश्यक सहयोग गर्ने नार्कका तीन प्रमुख उद्देश्य हुन् । यसैगरी जातीय तथा नश्ल विकास, कृषि प्रविधि विकास, स्रोत सामग्री उत्पादन, जैविक विविधता संरक्षण, सामाजिक–आर्थिक तथा नीतिगत अनुसन्धान र प्रविधि हस्तान्तरण, सेवा तथा परामर्श नार्कका प्रमुख कार्यक्षेत्र हुन् ।

प्रतिक्रिया दिनुहोस्