घरेलु उद्योगको उत्पादन फस्टाउँदै

पछिल्लो समय अछामका विभिन्न ठाउँमा घरेलु तथा साना उद्योगमार्फत स्थानीय उत्पादनले बढावा पाएको छ । नेपाली कागज उत्पादन, अल्लोको कपडा उत्पादन र घरेलु हतियार उत्पादनले गति लिएको हो ।
स्थानीय उत्पादन बढेसँगै जिल्लामा सञ्चालन हुने मेला महोत्सवदेखि स्थानीय बजारहरूमा पनि स्थानीय उत्पादन बिक्रीका लागि व्यवसायीहरू धाउने गरेका छन् । विशेषतः जिल्लाको रामारोशन गाउँपालिका, मेल्लेख गाउँपालिका, तुर्माखाँद गाउँपालिकामा यहाँको स्थानीय स्रश्रोत साधनलाई जोड दिएर स्थापना गरेका घरेलु तथा साना उद्योगमार्फत स्थानीय उत्पादन राम्रो भइरहेको घरेलु तथा साना उद्योग विकास समिति अछामका उद्योग विकास अधिकृत रामचन्द्र सुवेदीले बताए । उनले जिल्लाको विशेष पहिचान बोकेका र जिल्लालाई नै देशैभर चिनाउन सक्ने अल्लोको कपडा, नेपाली कागज, सिस्नु पाउडर आदिको प्रचुर सम्भावना रहेको बताए ।
अहिले तुर्माखाँद गाउँपालिकाको तोषी र मेल्लेख गाउँपालिका–२ मा रहेका अल्लो प्रशोधन तथा कपडा उद्योगहरू, रामारोशन गाउँपालिका र साँफेबगर नगरपालिका ११ देवीस्थानमा रहेका हाते कागज उद्योग र रामारोशन गाउँपालिकामा रहेको घरेलु हतियार निर्माण गर्ने आरन उद्योगमार्फत स्थानीयले मनग्य आम्दानी लिइरहेको सुबेदीले बताए ।
अछाममा हातेकागज सबैभन्दा बढी उत्पादन भइरहेको छ । जिल्लामा ४ वटा हातेकागज उद्योगबाट उत्पादन भएको नेपाली कागज उद्यमीहरूले सिधै काठमाडौं लिएर बेच्ने गरेका छन् । यहाँ उत्पादन हुने नेपाली हाते कागजको जापान निर्यात हुने गरेको बताइन्छ । घरेलु हतियार उत्पादन गरी मनग्य आम्दानी
०७१ सालमा काठमाडौंमा भएको स्थानीय उत्पादनको राष्ट्रिय प्रतिस्पर्धामा देशभरमै उत्कृष्ट भएर पुरस्कृत तथा सम्मानित भइसकेपछि रामारोशन गाउँपालिका–४ बाटुलासैनका सेते कामीलाई पछाडि फर्किनुपरेको छैन । उनले बनाएको खुडा र खुकुरी देशभरमै प्रथम भएपछि उनी खकुरी, तरबार, खुडा, चुलेसीजस्ता हतियार बनाएरै मनग्य आम्दानी गरिरहेको बताउँछन् ।
परम्परागत रूपमा आरन व्यवसाय गरिरहेका उनी पछिल्लो समय घरेलु हतियार बनाएर बिक्री गरेबापत मासिक ३० हजार बढी कमाउँछन् । बिगतमा हसिया, कुटो कोदालो, बञ्चरो आदि बनाएबापत खाद्यान्न लिने उनी अहिले त्यसबापत पैसा लिन्छन् र दैनिक एक हजार आम्दानी गरिरहेको बताउँछन् । उनले भने, “मैले व्यावसायिक रूपमा आरन सुरु गरिसकेपछि भारत जान छाडेको छु, अहिले ५ जनाको परिवार यसै व्यवसायबाट पालेको छु ।” उनले थपे, “मेरो सामान नबिकेको दिनै छैन, भ्याइनभ्याइ भइरहेको छ, मासिक ३० देखि ४० हजारसम्म कमाउँछु ।”
एक खुकुरीको २ हजारदेखि ५ हजार तथा खुडा बनाएबापत २५ सयदेखि ११ हजार रुपैयाँसम्म लिने गरेको कामी बताउँछन् ।
अल्लोको कपडाले बजार पाउँदैन
स्थानीय उत्पादनमध्ये अछाममा उत्पादन हुने अल्लोको कपडाले बजार नपाउने गरेको उद्यमीले बताएका छन् । लागत मूल्य बढी पर्ने र मेहनत बढी लाग्ने भएकाले अल्लोको कपडा केही महँगो पर्ने हुँदा स्थानीय ठाउँमा बेच्न समस्या भइरहेको मेल्लेख गाउँपालिका–२ ऋषिदहका युवा उद्यमी दानबहादुर बुढाले बताए ।
आफूसहित घरका अन्य सदस्य समेत संलग्न भएर अल्लोको कपडा उत्पदन गरिरहेको बताउने बुढाले मासिक २० हजार रुपैयाँसम्म आम्दानी गरिरहेको जानकारी दिए । अछाममा अल्लोको कपडाले बजार नपाउँदा बाजुरासम्म पुगेर बिक्री गर्ने गरेको उनले बताए । अल्लोको कपडा प्रतिमिटर एक हजारका दरले बेच्ने गरेको उद्यमीले जनाएका छन् ।
अछाममा अल्लोको कपडा उत्पादन गर्ने ३ वटा उद्योग छन् । मेल्लेख गाउँपालिका–२ ऋषिदहमा २ वटा र तुर्माखाँद गाउँपालिकाको तोषिमा एक अल्लो प्रशोधन उद्योग सञ्चालनमा छन् । ३ वटै उद्योगको उत्पादन राम्रो रहेको पाइएको छ भने अल्लोको कोटलगायत तयारी कपडा बिक्रीबाट राम्रो आम्दानी लिइरहेको जिल्ला उद्योग अधिकृत रामचन्द्र गौतमको भनाइ छ ।
-होम साउद