दाङमा छ सय भन्दा बढी हेक्टरमा डढेलो

दाङ– दाङमा यस वर्ष हालसम्म करिव छ सय भन्दा बढी हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । डिभिजन वन कार्यालय घोराही अन्र्तगत करिव २२० हेक्टर र डिभिजन वन कार्यालय देउखुरी अन्तगत ३९४.५ हेक्टर सहित यो वर्ष करिव ६१४ हेक्टर वनमा डढेलो लागेको हो । गत वर्षको तुलनामा यस वर्ष समय–समयमा भएको वर्षा र उपभोक्ताको सक्रियताका कारण धेरै वन क्षेत्रमा डढेलो लाग्न नपाएको डिभिजन वन कार्यालय घोराहीका वरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्यले बताए ।
‘केही सयम अघि र अहिले परेको पानीले डढेलो नियन्त्रणमा धेरै सहयोग पुगेको छ’, उनले भने, ‘अघिल्ला वर्षहरुमा जुन रुपमा जंगलमा आगो फैलिएको थियो, यस वर्ष फैलिन पाएन ।’ तर गर्मी हुने समय अझै बाँकी रहेकाले जोखिम भने कायम नै रहेको वरिष्ठ वन अधिकृत आचार्य बताउँछन् । उनका अनुसार डिभिजन वन कार्यालय घोराहीअन्र्तगत यस वर्ष २४ वटा आगलागीका घटना भएका छन् । डढेलो लागेको क्षेत्रमा पनि धेरै कम क्षति भएको छ ।
डिभिजन वन कार्यालय देउखुरीअन्तर्गत पनि अघिल्लो वर्षको तुलनामा डढेलो कम लागेको छ । कार्यालयका वरिष्ठ वन अधिकृत उपेन्द्र अर्यालका अनुसार यो वर्ष समय समयमा वर्षा भइरहेकाले डढेलो नियन्त्रमा सहयोग पुगेको बताए । उनका अनुसार यस वर्ष जिल्लामा करिव ३९४.५ हेक्टरमा क्षेत्रफलमा डढेलो लागेको छ । जिल्लामा डढेलोको जोखिमयुक्त क्षेत्र तोकेरै प्रतिकार्य योजना बनाइएकाले पनि धेरै क्षति नभएको उनी बताउँछन् ।
डिभिजन वन कार्यालयले डढेलोको जोखिमयुक्त क्षेत्रहरु स्थानीय तहको वडा अनुसार वर्गीकरण गरेका छन् । डिभिजन वन कार्यालय घोराहीअन्तर्गत बबई गाउँपालिकामा वडा–१, ५ र २ उच्च जोखिममा रहेको जनाएको छ । कार्यालयका अनुसार वडा–३ र ७ मध्यम तथा वडा–४ न्यून र वडा–६ अति न्यूनमा रहेको छ । बंगलाचुलीमा वडा–८ वन डढेलोको उच्च जोखिममा राखिएको छ । वडा–३ र ७ मध्यम तथा वडा–१, २, ४ र वडा–६ न्यून जोखिममा रहेका छन् भने वडा–५ अति न्यून जोखिममा रहेको छ ।
दंगीशरणमा वडा–६ न्यून जोखिममा र सातवटै वडा रहेको शान्तिनगरको वडा–२ न्यून जोखिममा छ । तुलसीपुर उपमहानगरपालिकाको मध्यम जोखिममा वडा–२ तथा न्यूनमा वडा–८ र वडा–१३ रहेका छन् । डिभिजन वन कार्यालय देउखुरीका अनुसार देउखुरी क्षेत्रका चारवटै पालिका डढेलोको जोखिममा छन् । कार्यालयको कार्यक्षेत्रमा पर्ने ३३ वन क्षेत्रमा छ वटा वडा डढेलोको उच्च जोखिममा छन् ।
मध्यम जोखिममा १३ र न्यून जोखिमयुक्त क्षेत्रमा १४ वडालाई राखिएको छ । नौ वडा रहेको लमही नगरपालिकामा वडा–८ र ९ उच्च जोखिममा छन् । लमहीकै वडा–१ र ७ मध्यम तथा २, ३, ४, ५ र ६ न्यून जोखिममा रहेका छन् । राजपुर गाउँपालिकाको १, ६ र ७ नं. वडा उच्च जोखिम, वडा नं. ४ र ५ मध्यम तथा वडा नं. २ र ३ न्यून जोखिममा रहेका छन् ।
गढवा गाउँपालिकाको वडा नं. ८ उच्च तथा वडा नं. २, ३, ४, ५ र ६ मध्यम जोखिममा छन् भने वडा नं. ७ र १ न्यून जोखिममा छन् । राप्ती गाउँपालिकामा वडा नं. १, ३, ४ र ५ मध्यम तथा ३, ६, ७, ८ र ९ नं. वडालाई न्यून जोखिययुक्तमा रहेका छन् । सामुदायिक होस् या राष्ट्रिय वन हरेक वर्ष आगलागीका घटना भइरहेको सरकारी रेकर्डले नै देखाएको छ । सन् २०१२ देखि सन् २०२५ सम्मकै रेकर्डमा हरेक वर्ष वनमा डढेलो लागेको देखिएको छ ।
डिभिजन वन कार्यालय दाङ घोराहीको कार्यक्षेत्रमा २०१२ मा ६३४ वन डढेलोका घटना भएका थिए । सबैभन्दा धेरै २०१६ मा एक हजार २९७, २०२१ मा एक हजार १७५, २०२४ मा एक हजार १७८ र २०१९ मा ८९६ वन डढेलोका घटना भएको देखिन्छ । जिल्लामा २०१३ मा २२८, २०१४ मा ५४७, २०१५ मा १५६, २०१७ मा ५३०, २०१८ मा २८६, २०२० मा १०, २०२२ मा २८९, २०२३ मा ७७४ र २०२५ मा एउटा वन डढेकोको घटना भएको अभिलेखमा छ ।
डिभिजन वन कार्यालय देउखुरीको कार्यक्षेत्रमा रहेका वनमा सन् २००० देखि २०२४ सम्ममा २०१६ र २०२४ मा देउखुरी क्षेत्रमा धेरै वन डढेलोका घटना भएको देखिएको छ । सन् २०१५ मा सबैभन्दा कम डढेलो लागेकोमा ९४५.७ हेक्टर क्षेत्रफलमा डढेलो लागेको रेकर्ड छ । गत वर्ष सन् २०२४ मा धेरै क्षेत्रफल वनमा डढेलो लागेको देखिन्छ । त्यस वर्ष ६८ हजार ७५३.१ हेक्टर र २०१५ मा ६८ हजार ९६४.८ हेक्टर क्षेत्र वनमा डढेलो लागेको थियो ।