Logo

काम हुन नसकेपछि हुलाकी सडकको ठेक्का तोडिँदै

दाङ– हुलाकी राजमार्गअन्तर्गत दाङ खण्डमा समयमै काम हुन नसकेपछि ठेक्का तोडने प्रक्रिया सुरु गरिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख लिला भण्डारीले निर्माण व्यवसायीले काम नगरेर सडक अलपत्र पारिरहेको बताए । उनले सडक अलपत्र भएपछि ठेक्का तोड्ने प्रक्रियामा लागेको जानकारी दिए ।

आधा पनि काम नभएको उल्लेख गर्दै उनले ठेक्का तोड्नुको विकल्प नरहेको बताए । ‘उनीहरुले काम गरेनन् । हामीले अनेक प्रयत्न गरियो । पत्रिकामा पनि नाम छापियो । चिठी पनि लेखियो । ताकेता पनि गरियो । अहिले मैले कारबाही स्वरुप अग्रिम बैंक जमानत फिर्ता गर्नका लागि चिठी लेखिसकें । पैसा आउने क्रममा छ, ६ करोड त्यहाँबाट फिर्ता लिन्छौं,’ उनले भने, ‘ठेक्का अन्त्य गर्ने भनेर फाइल उठाएर विभागमा स्वीकृतिका लागि पठाएको छु । त्यहाँबाट स्वीकृत भएपछि फाइल अन्त्य गर्दैछु । ठेक्का अन्त्य हुन्छ ।’

कार्यालयका अनुसार २०८१ जेठ २८ गते नबिल बैंक दरबारमार्गलाई पत्र काटेर पाँच करोड ९० लाख र एक करोड ९५ लाख रुपैयाँ पेश्की फिर्ता गर्न भनिएको छ । हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका आयोजना प्रमुख भण्डारीले ठेकेदारकै कारण सडक अलपत्र परेकोले सम्झौता रद्द गरेर नयाँ ठेक्का लगाउनुको विकल्प नरहेको बताए । ‘उनीहरुले आएर काम गर्लानजस्तो देखिएन । उनीहरुको फाइनान्सियल स्थिति पनि गाह्रो देखियो । उहाँसँग लागेको सँगैको ठेक्का सकिएर पनि मर्मत अवधि सकिसक्यो । यहाँ काम नै भएको छैन,’ उनले भने, ‘उहाँहरुको भौतिक प्रगति ४० प्रतिशत पनि छैन ।’

उनले ठेक्का अन्त्य किन नगर्ने भन्ने सूचना निकालिएको र त्यसमा स्पष्टीकरण नआएपछि वा चित्त नबुझेपछि कार्यालयबाट फाइल खडा गरेर ठेक्का अन्त्य गर्ने आसयको फाइल निर्देशनालयमा पठाइसकेको जानकारी दिए । ‘उपाय केही भएन । उहाँहरुले त काम गर्छु भन्नुभएको हो । कामै नभएपछि ठेक्का तोड्नुको विकल्प देखिएन,’ उनले भने, ‘अहिले भौतिक प्रगति ४० प्रतिशत छ भने वित्तीय प्रगति ३९ प्रतिशतमात्रै छ ।’

निर्माण व्यवसायीलाई काम सम्पन्न गर्न कार्यालयले पटक–पटक ताकेता गर्दा पनि अटेर गरेपछि ठेक्का सम्झौता रद्द गर्न प्रक्रिया अघि बढाइएको हुलाकी राजमार्ग आयोजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले बताए । २० किलोमिटरमा जम्मा नौ किलोमिटर त्यो पनि दुई लेयर गर्नुपर्नेमा एक लेयरमात्रै पिच भएको छ । गढवा बजारसम्म साढे चार किलोमिटर र कालाकाटेतिर चार किलोमिटर पिच र बेसकै काम बाँकी छ ।

गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले धुलाम्य सडकले गढवाबासीलाई रुवाएको बताए । ‘सडक विजोग अवस्थामा छ स्थानीय सरकारप्रति जनता त्यही कारणले नेगेटिभ भइरहेका छन् । अरुको ठेक्कामा न हामी केही गर्न सकेका छौं,’ उनले भने, ‘ठेकेदारले काम नगर्ने दु:ख गढवाबासीले पाउने अवस्था भइरहेको छ भने सडक बन्नेमा अन्यौलता नै छ ।’ धुलोमा पानी हाल्नसमेत निर्माण व्यवसायीले आलटाल गर्ने पालिकाले हाल्दा बेरुजुको मारमा पर्ने समस्या रहेको उनको भनाइ छ ।

‘अर्थ मन्त्रीलगायतका नेतालाई वडाध्यक्षसहित डेलिगेसन पनि गइयो । न काम हुन्छ न त ठेक्का तोडिन्छ,’ अध्यक्ष पोख्रेलले भने, ‘हाम्रो गल्ती नहुँदा पनि समस्यामा हामी नै परेका छौं ।’ उनले जेठानगाउँदेखि उठैयासम्म एक लेयर पिच भए पनि उठैयादेखि गढवा र जेठान गाउँदेखि मलमलासम्म काम नभएको बताए । कतै बेससम्म तयार भएको छ भने कतै सबबेस मात्रै तयार भएको उनले बताए ।

‘कतै कतै बेस र सबबेस भएको छ । पिच पनि एक लेयरमात्रै छ । आधाजसो एक लेयर कालोपत्रे भएको छ । आधाभन्दा बढी काम बाँकी नै छ,’ उनले भने, ‘जेठानगाउँदेखि मलमलासम्म बेस बनेको छैन । सामान्य सबबेसमात्रै छ । बेस पनि तयार भएको छैन भने यता बेस बनेको छ ।’ अहिलेको खरिद ऐनको संशोधनले म्याद थपिन्छ र फेरि अलपत्र बन्छ कि भन्ने डर भएको आशंका व्यक्त गरे ।

ठेक्का सम्झौताअनुसार २०७९ साल कात्तिकमा सकिनुपर्ने सडक निर्माणको प्रगति दुई पटक गरेर करिब तीन वर्ष म्याद थप गर्दा पनि ४० प्रतिशतमात्रै छ । ठेक्का सम्झौता मितिमा काम नभएपछि पहिलो पटक २०७९ मंसिरमा २०८० साल साउन १० सम्मलाई म्याद थप गरिएको थियो । मंसिरमा काम सुरु गरे पनि डेढ किलोमिटर सडक कालोपत्रे गरेर पुन: काम छोड्दा सडक अलपत्र बनिरहेको छ ।

निर्माण कम्पनीको ५१ प्रतिशत सेयर किनेर काजी शेर्पाले असोजमा काम अघि बढाए पनि पुन: काम रोकिँदा अहिले स्थानीयले सास्ती बेहोरिरहेका छन् । सडक निर्माण भएपछि देउखुरी क्षेत्रका नागरिकलाई सहजतासँगै पूर्व–पश्चिम महेन्द्र राजमार्गको दाङ खण्डमा वैकल्पिक सडकका रूपमा लिइएकाले हुलाकी सडक निर्माण भएपछि देउखुरीबासीलाई नेपालगन्ज जान आउन सहज हुने थियो ।

हुलाकी सडकअन्तर्गत राजपुरको गंगदीदेखि पश्चिमतिर बाँके जिल्ला जोड्ने सडकका लागि भने अझै ठेक्का लाग्न सकेको छैन । ६५ करोड लागतमा २०७६ कात्तिक २९ मा बज्रगुरू कान्छाराम जेभीसँग हुलाकी राजमार्ग आयोजना कार्यालयले वनघुस्रीदेखि गढवासम्मको २० किलोमिटर सडक कालोपत्रे गर्न ठेक्का सम्झौता गरेको थियो ।

२०७६ मंसिर १ गते ६९ करोडको लागतमा बनाउने गरी एपेक्स कन्काई खड्का कृष्ण प्रालिले ठेक्का हात पारेको गढवादेखि राजुपरको गंगदी पारिसम्मको अर्को २० किमिको काम सकिएको पनि झण्डै एक वर्ष भइसक्यो । एक पटक म्याद थपेर २०८० साउन १० सम्म पुर्‍याइएको उक्त सडकको काम भए पनि सँगै ठेक्का लागेको कालाकाटे गढवा सडक भने निर्माण व्यवसायीका कारण अलपत्र परेको छ ।

हुलाकी सडकअन्तर्गत बन्दै गरेको कालाकाटेदेखि राजपुरसम्म सात मिटर पिच र २/२ मिटर पेटी रहने ठेक्का सम्झौता हो । सहरी क्षेत्र, बस्ती र बजारमा पाँच किलोमिटर पक्की नाला बनाउने सम्झौता छ । गढवादेखि राजपुरसम्मको काम पूरा भए पनि उस्तै प्रकृतिको कालाकाटे गढवाको काम आधा पनि पूरा भएको छैन ।

निर्माण व्यवसायीले झारा टार्ने खालको काम गरेजस्तो गर्ने तर काम नगर्ने गरी सडक अलपत्र पारिरहेका छन् । कालाकाटे गढवाको ठेक्कामा तोकिएको समयमा काम नभएपछि २०७९ मंसिर अन्त्यतिर म्याद थपेर २०८० साउन १० सम्म कायम गराउँदा पनि नभएको सडकको काम फेरि मंसिर २२ गतेदेखि सरु गरेझैं गरेर अहिलेसम्म झारा टार्ने काम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्