अनधिकृत ढुवानी भाडाले राजस्व छली बढ्यो

बारा– पथलैया–वीरगन्ज औद्योगिक करिडोरमा उत्पादित तथा वीरगन्ज भन्सारबाट आयात भएका सामान बोक्ने अधिकांश मालवाहक सवारीले कर बिलबिजकबिनै अनधिकृत ढुवानी गरेपछि राजस्व छली बढ्न थालेको छ । ढुवानी भाडाको कर बिलबिजकको १३ प्रतिशत राजस्बबिनै कम मूल्यमा सामान बिक्री गर्ने होडबाजी वितरकमाझ बढेपछि अनधिकृत रुपमा ढुवानीमा राजस्व छली बढ्न थालेको हो ।
हरेक मालवाहक ट्रक तथा सवारीसाधनसँग सामान तथा ढुवानी भाडा दुवैको बिलबिजक अनिवार्य हुनुपर्ने नियम छ । तर, ढुवानी भाडाको बिलबिजकमा ट्रकलाई भाडा नदिने भएपछि बाध्य भएर बिलबिजकबिनै ओसारपसार गर्नुपरेको सिमराका ट्रक व्यवसायी सुदीप रिमाल बताउँछन् । ‘हामीले ढुवानी भाडाको बिलबिजक लिएर वितरककहाँ सामान पुर्याउँदा कर बिजक क्यान्सिल गरेर नगएसम्म भाडा नदिइने भएपछि यो स्थिति बनेको हो’, उनले भने ।
यो प्रक्रियामा ट्रान्सपोर्टले कर छली गरेको नभई वितरकले नै ट्रक व्यवसायीलाई भाडाको कर बिजकबिनै ढुवानी गर्न बाध्य पारेकाले राजस्व अनुसन्धान तथा अन्य राजस्वका निकायलाई सचेत हुन उनको आग्रह छ । रिमालका अनुसार अहिले भाडाको बिलबिजकबिनै वितरकका सामान पुर्याउँदा अढाई प्रतिशत टीडीएस काटेर भाडा बुझ्नुपर्ने बाध्यता नेपालभरिका ट्रक व्यवसायीको छ ।
दैनिक करिब हजार ट्रक करिडोरका उद्योग तथा भन्सार एजेन्टलाई निश्चित भाडा तोकेर ट्रान्सपोर्टले उपलब्ध गराउने गर्छन् । ती ट्रक लोड भएर वितरकहाँ पुर्याउने क्रममा सम्झौतामा उल्लेख भएको भाडामा ट्रान्सपोर्टले बिलबिजक जारी गर्छ भने उद्योगले सामानको कर बिजक जारी गर्छन् । तर, पछिल्लो समय सातामा दुई/चार ट्रिप सामान मगाउने देशैभरिका वितरकले ढुवानी बिलबिजकबिनै भाडा नगदमा दिन थालेपछि अनधिकृत ढुवानी भई राजस्व छली बढ्दै गएको हो ।
राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालू आर्थिक वर्षको तथ्यांकमा ढुवानीमा राजस्व छली, नियन्त्रण, चेकजाँच तथा दण्ड जरिवाना गरेको कतै उल्लेख छैन । कार्यालयका प्रमुख अनुसन्धान अधिकृत हरिप्रसाद शर्माले यसबारे प्रश्न गर्दा बुझ्ने र चेकजाच व्यापक बनाइने प्रतिक्रिया दिए ।
देशका विभिन्न सहरी क्षेत्रमा यसरी मगाइएको सामान वितरकले गोदाममा अनलोड नगरी साइडमा पठाउने, तीन/चार स्थानमा खण्ड, खण्ड गरी अनलोड गराउने हुँदा वितरकले नै राजस्व छलेको देखिएको र यातायात व्यवसायीमा जोखिम बढेको तराई यातायात व्यवसायी संघ सिमराका अध्यक्ष ओमकृष्ण कार्कीले बताए ।