तीन भारतीय नागरिकको ज्यान गयो
भारतद्वारा पाकिस्तानमाथि सैन्य कारबाही

नयाँ दिल्ली- भारतले ‘अपरेशन सिन्दूर’ नाम दिइएको एक सैन्य कारबाही अन्तर्गत पाकिस्तानका नौ स्थानमा हवाई आक्रमण गरेको छ । भारतीय रक्षा मन्त्रालयका अनुसार, ती सबै स्थानहरूबाट भारतमाथि हुने आतंकी आक्रमणहरूको योजना र निर्देशन भइरहेको थियो ।
यो कारबाही अप्रिल २२ मा भारत-नियन्त्रित कश्मीरमा भएको आक्रमणपछि गरिएको हो, जसमा २६ जना पर्यटकको मृत्यु भएको थियो । भारतले उक्त आक्रमणको दोष पाकिस्तानमाथि लगाएको छ । भारतको वाशिङ्टनस्थित दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ”आक्रमण पूर्णरूपमा लक्षित र सटीक थियो । केवल चिनिएका आतंकी शिविरहरूलाई मात्र निसाना बनाइएको हो ।”
पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कारबाहीलाई युद्धको घोर उक्साहट भन्दै कडा निन्दा गरेका छन् र बलियो जवाफ दिने चेतावनी समेत दिएका छन् । संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ । उसले भनेको छ, ”दुई आणविक शक्तिहरूबीच युद्ध विश्वका लागि अत्यन्त खतरनाक हुन सक्छ ।”
यस्तै, कश्मीरमा पाकिस्तानी सेनाको गोलाबारीमा तीन भारतीय नागरिकको ज्यान गएको छ । यसैबीच, पाकिस्तानी सेनाका प्रवक्ता लेफ्टिनेन्ट जनरल अहमद शरिफ चौधरीले भारतीय आक्रमणमा दुई बालबालिकासहित सात जनाको ज्यान गएको पुष्टि गरेका छन् । घटनामा ३५ जना घाइते भएका छन् ।