नुवाकोटकी सुन चोर दोलखामा प्रहरी फन्दामा

दोलखा-नुवाकोटकी एक सुन चोर दोलखामा प्रहरी फन्दामा परेकी छिन् । नुवाकोटको बिदुरमा १२ तोला सुन चोरी गरी फरार रहेकी एक महिला दोलखाको सदरमुकाम चरिकोटमा पक्राउ परेकी हुन् ।
नुवाकोट जिल्लाको विदुर नगरपालिका–१, त्रिशुली बजारबाट १२ तोला सुन चोरी गरी फरार भएर सदरमुकाम चरिकोटको सातदोबाटो आइपुगेकी विगु गाउँपालिका–४, लादुक घर भई भीमेश्वर नगरपालिका–६, चरिकोटमा डेरा गरी बस्ने आस्था भनिने नम्रता श्रेष्ठ पक्राउ परेकी हुन् ।
त्रिशुली बजारका ५४ बर्षिय हिराकृष्ण श्रेष्ठले संचालन गरेको श्रेष्ठ होटलबाट १२ तोला सुनका गरगहना चोरी गरी फरार रहेकी नम्रतालाई खोजतसास गर्दा चरिकोट सातदोबाटोबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख प्रहरी नायव उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए । पक्राउ परेकी श्रेष्ठको शरीर तथा झोला खानतलासी गर्दा लेडिज साईड व्यागमा सुनका गरगहनाहरू वरामद भएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा बरामद गरगहना नम्रताले चोरी गरी ल्याएको स्वीकार गरेको प्रहरीले जनाएको छ ।
नम्रताको साथबाट सुनको आंैठी, ब्रास्लेट, सिक्री, सुनको टप, मुन्द्रा एकजोर, टपको सिक्री, सुनको बाला र चाँदीको बाला बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकी नम्रतालाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय नुबाकोट पठाईएको छ ।
पछिल्लो समय दोलखामा पुनः चोरीका घटनाहरु बढ्दै गइरहेका बेला सुन चोर पक्राऊ गरेको हो । केही दिन अघि पनि तामाकोसी बजारमा चोरी गर्दा गर्दै नगद सहित चोरलाई रंगे हात पक्रऊ गर्न प्रहरी सफल भएको छ ।