युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो शैक्षिक सत्र सुरु «

युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो शैक्षिक सत्र सुरु

कास्की-काठमाडौंस्थित लीडरशिप एकेडेमी, अमेरिकास्थित युनिभर्सिटी अफ सान डिएगो क्रक स्कुल र क्रक इन्स्टिच्युट फर पिस एण्ड जस्टिस र स्वीस सरकार विकास सहयोग (एसडीसी) को संयुक्त आयोजनामा सञ्चालित राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रमको तेस्रो शैक्षिक सत्र गण्डकी प्रदेशको कास्की जिल्लाबाट सुरु भएको छ ।
कार्यक्रममा देशका सातै प्रदेशबाट ३३ जना सहभागी छन् । देशको पूर्वदेखि पश्चिम तथा पहाड, हिमाल र तराई तीनै क्षेत्रको प्रतिनिधित्व हुनेगरी २५ देखि ४० वर्षसम्मका सहभागी छनोट गरिएको छ ।
कास्कीको चिसापानीस्थित फ्याब भोकेसनल स्कुलमा आयोजित कार्यक्रममा सन् २०२० को पहिलो सत्र तथा उद्घाटन कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा प्रतिनिधिसभाका सांसद नवराज सिलवालले कुनै पनि क्षेत्रमा नेतृत्व लिन सहज नभएको बताउँदै अरुले भन्दा फरक सोच्ने र आफूमात्र नभई अरुलाई पनि अगाडि बढाउने गुण नेतृत्वमा हुनुपर्ने बताए ।
महिला अधिकार तथा सशक्तीकरणको क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी तुलसालता अमात्यले सबैखाले विभेद हटाउन युवाहरु लाग्नुपर्ने बताइन् । राष्ट्रिय युवा नेतृत्व अध्ययन कार्यक्रम यसमा प्रभावकारी हुने उनको भनाइ थियो ।
कार्यक्रमको पहिलो सत्र कास्कीमा सम्पन्न भएको छ भने दोस्रो सत्र काठमाडौंमा, तेस्रो सत्र हिमाली जिल्लामा र अन्तिम सत्र तथा दीक्षान्त समारोह तराई क्षेत्रमा लीडरशिप एकेडेमीले जनाएको छ ।
सन् २०१८ देखि सुरु भएको यस कार्यक्रमका प्रशिक्षार्थीहरुलाई सहयोग तथा मार्गदर्शनका लागि अनुभवी नेता तथा विशेषज्ञ मार्गदर्शकहरुकोे एक टिम पहुँचमा हुनेछ ।
नेपालका युवा नेतृत्वलाई अझै प्रभावकारी बनाउन र उनीहरुमा विकसित भइरहेको नेतृत्व क्षमताको विकास, विस्तार र अभिवृद्धिका लागि यो कार्यक्रम सञ्चालनमा ल्याइएको बताइएको छ । यस प्रशिक्षणात्मक कार्यक्रमले युवा नेतृत्वको अग्रसरतामा गाउँ तथा समाज परिवर्तनका लागि भइरहेका प्रयासहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तथा समुदायमा यी कार्यक्रमको ठूलो प्रभाव सिर्जना गर्न मद्दत गर्दछ । यस कार्यक्रमले समुदाय तथा सरकारी निकायसँग अझै प्रभावकारी रुपमा काम गर्नका लागि युवा नेतृत्वलाई मिडियासँग संलग्नता, सामुदायिक समस्याहरुको वकालत, तथा सम्बोधनजस्ता विविध विषयमा तालिम प्रदान गर्छ । यस कार्यक्रममा देशको विभिन्न क्षेत्र, वर्ग, लिंग, विविध जातजाति तथा भिन्न राजनीतिक मूल्यमान्यता बोकेका प्रशिक्षार्थी सहभागी रहेका छन् ।
कार्यक्रमले राजनीतिक तथा गैरराजनीतिक विशेषज्ञहरूको पहिचान गरी उहाँहरूसँग युवा नेताहरूको सम्पर्क स्थापित गराइदिनेछ । युवाहरुमा नेतृत्वको लागि आवश्यक ज्ञान तथा सीप विकास गर्ने उद्देश्यले यो कार्यक्रम सञ्चालनमा ल्याइएको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्