नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्से परिसूचक मंगलबार १.०३ अंकले बढेर २ हजार ६ सय ११.४३ विन्दुमा पुगेको हो ।
सोमबार ७ अर्ब ६३ करोडको कारोबार भएकोमा मंगलबार ३ सय १८ वटा कम्पनीका २ करोड ५ लाख कित्ता शेयर ८ अर्ब ७४ करोड रुपैयाँमा किनबेच भयाे ।
मंगलबार बैंक, विकास बैंक, फाइनान्स, होटल, लगानी, माइक्रोफाइनान्स, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको शेयर बढेकोमा व्यापार समूहको शेयर २ प्रतिशतले उकालो लागेको छ ।
मंगलबार नेपाल माइक्रो इन्सुरेन्स, क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्र बजार सामान्य बढेको दिन मंगलबार विन नेपाल लघुवित्त कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।