ग्लोबल पेमेन्ट गेटवे सुचारु

काठमाडाैं- ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर कार्डहरुमार्फत भुक्तानी प्राप्त गर्न सक्नेछन् ।
ग्लोबल आइएमई बैंकले नेपालमा ईकमर्स कारोबारलाई प्रवर्द्धन गर्ने उद्देश्यले ग्लोबल पेमेन्ट गेटवे सञ्चालनमा ल्याएको छ । ग्लोबल पेमेन्ट गेटवेले बैंकका मर्चेन्टहरुलाई आफ्नो ब्यवसायको दायरा विस्तार गरी देश विदेशबाट सहज रुपमा भुक्तानी लिन सक्नेछन् । यो गेटवेको सुरुवातपश्चात् ईकमर्स कारोबारहरु गर्ने जस्तै ट्राभल तथा टुर एजेन्सी, होटल, एयरलाइन्स, हस्पिटल लगायतका व्यवसायहरु लाभान्वित हुनेछन् ।
ग्लोबल पेमेन्ट गेटवेले राष्ट्रिय र अन्तर्राष्ट्रिय भुक्तानीहरु प्राप्तिको लागि सहज बनाउने भएकोले बैंकका मर्चेन्टहरुको ब्यवसायलाई वृद्धिमा सहयोग पुग्नेछ । साथै, यस पेमेन्ट गेटवेमा थ्रिडि सेक्योर्ड प्रविधिको प्रयोग हुने भएकाले यस गेटवेमार्फत् हुने कारोबारहरु थप सुरक्षित हुनेछ ।