हलेसीमा होटलको संख्या वृद्धि «

हलेसीमा होटलको संख्या वृद्धि

खोटाङको धार्मिक तथा पर्यटकीय स्थल हलेसीमा होटल थपिने क्रम बढेको छ । मध्यपहाडी लोकमार्गको स्तरोन्नति एवं दूधकोसीमा बनेको पक्की पुलका कारण सहज आउजाऊको वातावरण बनेसँगै त्रि–धार्मिक स्थल हलेसीमा सुविधासम्पन्न होटल थपिने क्रम बढेको हो ।
आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनलाई ध्यानमा राखेर हलेसीमा नयाँ होटलमा लगानी गर्ने बढेको खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र लयालुले बताए । “हलेसी देश विदेशका पर्यटकको आस्थाको केन्द्र हो । यस क्षेत्रमा दैनिक हजारौं पर्यटक÷दर्शनार्थी आवतजावत भइरहन्छ,” अध्यक्ष लयालुले भने, “हलेसीमा हुने भीडले लगानी सुरक्षित हुने र राम्रो प्रतिफल प्राप्त हुने भएकाले लगानीकर्ता नयाँ होटल थप्न उत्साहित भएको पाइन्छ ।”
हलेसी आसपासमा सानाठूला गरी करिब दुई सय होटल सञ्चालनमा छन् । सडक विस्तारसँगै हलेसी आउने पर्यटक तथा दर्शनार्थीलाई ध्यानमा राखेर रोयल हलेसी, होटल हलेसी भिलेज, पद्मा, जम्बाला रिसोर्ट, तारा, होली प्यालेसलगायत ठूला लगानीका होटल खुलेका छन् । अनिता, सांग्रिला, कल्याण, सायमी, नमो हलेसी, शिवकिरात, दुंदेलो, नाछिरिङलगायत होटल पनि हलेसीका पर्यटकको रोजाइमा पर्छन् ।
हलेसीमा दुई–तीन वर्षको अवधिमा ‘अरूभन्दा फरक र सुविधायुक्त’ होटल थपिने क्रमले तीव्रता पाएको हो । हलेसीका चिउरीखोला हुँदै पुरीडाँडासम्मका सडक आसपासमा ग्राहकले अपेक्षा गरेअनुसारका नयाँ–नयाँ होटल थपिँदै गएको छ । यद्यपि, दैनिक हजारौं पर्यटक तथा दर्शनार्थी आउने हलेसीका होटलहरूले अझै पनि धान्न सकेको छैन । कतिपय नयाँ लगानीकर्ताले हलेसीमै करोडौंको लगानीमा होटल सञ्चालन गर्ने योजना बनाइरहेका छन् ।
किरात, हिन्दु, बौद्धमार्गी र इसाई धर्मावलम्बीको धार्मिकस्थल हलेसी घुमफिर गर्ने, दर्शन गर्ने, भाकल पूरा गर्ने र ध्यान गर्नेको बाक्लो आउजाऊ हुने गरेको छ । हलेसीमा काठमाडौं, विराटनगर, जनकपुर, पोखरा, धरान, झापालगायत छिमेकी देश भारतको सिक्किम, दार्जिलीङबाट तीर्थयात्री र पर्यटक आउने गरेका छन् । चीन, तिब्बत, भुटान, फ्रान्सलगायत कतिपय पर्यटक भने सिधै हेलिकप्टरमार्फत हलेसी आउने जाने गरेका छन् । हाल हलेसीमा दैनिक तीन सयभन्दा बढी पर्यटकहरू आउने गरेका छन् । कतिपय गाडीमार्फत आउने गरेका छन् भने कतिपय हेलिकोप्टरमार्फत आउने गरेका छन् । हलेसी दर्शनका लागि दैनिक ७ वटाभन्दा बढी हेलिकोप्टर बस्ने गरेको पाइएको छ । सडकको पहुँच विस्तारसँगै हलेसी आउने पर्यटक तथा दर्शनार्थी बढेकाले सोही अनुपातमा सुबिधा सम्पन्न होटलहरू थपिने क्रम बढ्दो छ ।
घरटहरा हटाएपछि हलेसीको मुहार फेरियो
हलेसी तुवाचुङ नगरपालिका खोटाङले मापदण्ड विपरित बनेका दुई दर्जन बढी घरटहरालाई डोजर लगाएर हटाएपछि हलेसीको मुहार फेरिएको पाईएको छ । मन्दिर आसपास र बजार क्षेत्रमा स्थानीयले जग्गा अतिक्रमण गरी बनाएका घर तथा टहरा हटाइएपछि हलेसीको मुहार फेरिएको हो । त्रिधार्मिक स्थलका रूपमा रहेको हलेसीमा जग्गा अतिक्रमणसँगै व्यापक फोहोरमैलाका कारण कुरुप बन्दै गएपछि नगरपालिकाले केही दिनअघि डोजर लगाएर घर तथा टहरा र केही साता अघि फोहोरमैला व्यवस्थापन गरेको थियो ।
जताततै फोहोरको डंगुर, मन्दिर आसपासमा टहराले छेकेको साँघुरो वाटोका कारण दिक्क मान्ने आन्तरिक तथा बाह्रय पर्यटकहरू यतिखेर होटलमा वास वस्न आउँदा हलेसीको व्यवस्थापनमा सुधार भएको र मन परेको भन्दै खुसी व्यक्त गर्न थालेका जाम्वाला रिसोर्टका म्यानेजर सिपी सुवेदीले बताए । उनले भने, “बाँकी रहेका घर तथा टहरा तत्काल हटाउने र हप्ताको एक पटक सरसफाई अभियानलाई निरन्तरता दिन हो भने, हलेसीको दिगो विकास हुनेछ ।”
हलेसी दर्शनका लागि पोखराबाट आएका खेनराप लामा भन्छन्, “केही समयको अन्तरालका हलेसीको तीव्र विकास भएको पाए, झन्डै ६ महिनाअघि हलेसी आउँदा जताततै फोहोरै–फोहोर थियो, अहिले त कति धेरै परिवर्तन भएछ, यसरी नै हलेसीको तीव्र विकास होस मेरो अपेक्षा छ ।”
स्थानीयबाटै विभिन्न वाधा अवरोध भए पनि नगरपालिका र जिल्ला प्रशासन कार्यालयको सहयोगमा घर तथा टहरा हटाइएको थियो ।
हलेसीलाई सफा, सुन्दर, स्वच्छ र धार्मिक पर्यटकिय हिसाबले आकर्षणको केन्द्र बनाउँनका लागि कोहीसंग कम्परमाइज नहुँने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए । उनले भने, “बाहिरी शक्ति भित्री शक्ति र अमुख पार्टीहरूले वेला–वेला टहरा हटाएको निहुमा धम्काउने गरेका छन्, तर यहाँनेर को प्रिय होला, को लोकप्रिय होला, को अप्रिय होला भन्ने मलाई छैन, मलाई मात्र चिन्ता छ यस नगरपालिकाका नागरिकको घरमा सबैखाले विकासको समृद्धि ल्याउन ।”
नगरवासीको खानेपानी, स्वास्थ्य शिक्षाको विकासका लागि र हलेसीलाई साँच्चैको हलेसी निर्माणका लागि स्पस्ट ‘भिजन’ र दृष्टिकोण तयार गरेर नगरपालिको अगाडी बढेकोले बाधासँग सम्झौता नगरिने राईले भने ।
उत्तम चौलागाईं

प्रतिक्रिया दिनुहोस्