गुठिचौर–१ का बस्तीमा सञ्चार न बत्ती

जुम्ला– संघीयता कार्यान्वयनको आठ वर्ष बित्यो । सिंहदबारको अधिकार गाउँगाउँमा पुग्ने र संविधानमा व्यवस्था भएअनुसार शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, बिजुलीलगायतका सुविधाबाट कोही नागरिक वञ्चित हुनु नपर्ने संघीयताको मर्म हो । अझ जनतालाई नभई नहुने सञ्चार, बत्ती, खानेपानी, सडक पूर्वाधारलाई विशेष महत्त्व दिइने तीनै तहका सरकारको प्राथमिकतामा नपरेको पनि होइन ।
तर जुम्लाको गुठिचौर गाउँपालिका–१ का गाउँमा अहिलेसम्म सञ्चार र विद्युतको भरपर्दो विकास हुन सकेको छैन । गुठिचौर गाउँपालिका–१ का पाँचवटा बस्तीका स्थानीय बिजुलीविहीन भएका छन् । नापानीमा रहेको अदालीखोला लघुजलविद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा नागरिक बिजुलीविहीन भएका हुन् ।
वडा नं. १ मा पर्ने नापानी, गढिगाउँ, मणिसाँघु, डिल्ली कोट र मनि गाउँका ४८० घरधुरीका नागरिक अहिले अन्धकारमा बस्न बाध्य छन् । यद्यपि सरकारले लोडसेडिङ मुक्त देशको रटान लगाउन छोडेको छैन । ५५ किलोवाट क्षमताको विद्युत आयोजनाको जेनरेटर र ट्रान्समिटरमा समस्या आउँदा पाँचवटा बस्तीका नागरिक अन्धकारमा बस्नु परेको स्थानीय अध्यक्ष परेक ऐडीले बताए ।
विद्युत बिग्रेको महिनौ दिन हुँदा पनि मर्मतका लागि कतैबाट पहल नभएको अन्धकारमा दैनिक कामकाज तथा बालबालिकाको पढाइ प्रभावित भएको उनको दु:खेसो छ । गाउँमा आयस्रोत हुनेले सोलार खरिद गरेर घरमा बत्ती बाले पनि आयस्रोत नहुने विपन्न नागरिक विद्युत बिग्रिँदा सबैभन्दा बढी मारमा परेको स्थानीय गशेण ऐडीले बताए । विद्युतबाट उठेको आम्दानीले कर्मचारीलाई सुविधा दिनै ठिक्क छ । मेसिन मर्मत गर्ने बजेट नहुँदा नागरिक बत्तीमुनिको अँध्यारोमा बस्न बाध्य भएका हुन् ।
जेनरेटर मर्मत गर्न करिब सात लाखभन्दा बढी रकम लाग्ने देखिएको छ । वडाध्यक्ष अर्जुनकुमार महताराले लघु जलविद्युत निर्माणका लागि स्थानीय सरकारले तीन लाख विनियोजन गरेको बताए । साढे दुई लाख खर्च भइसकेको र नहर मर्मतका लागि १२ लाख रकम व्यवस्थापन गरिएको वडाध्यक्ष महताराले उल्लेख गरे ।
सञ्चारविहीन नापानी गाउँ
जुम्लाको गुठिचौर गाउँपालिका–१ नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका छन् । सहर बजारमा फोरजी लगायतका सुविधा विस्तार भइसक्दा नापानी गाउँका नागरिक सञ्चारविहीन बनेका हुन् । गाउँमा नेटवर्कले काम नगर्दा करिब ८० घरपरिवारका नागरिक सञ्चारविहीन हुनुपरेको स्थानीय मानबहादुर ऐडीले गुनासो पोखे । उनका अनुसार फोन गर्नका लागि डाँडा र रुखमा चढ्नु पर्ने बाध्यता रहेको छ । सरकारले सञ्चारले जुम्लासहितका जिल्लालाई सञ्चारमा नमुना जिल्ला घोषणा गरेको छ ।
तर गाउँमा सञ्चारका समस्या भने ज्यूँका त्यूँ छन् । रुखमा नचढी, डाँडामा नगई फोन गर्न सकिँदैन । घरबाहिर रहेका आफन्तसँंग सम्पर्कविहीन बन्न बाध्य छन् । गुठिचौर–१ डिल्लीकोटमा रहेको टावरले नापानी गाउँसम्म काम नगर्दा गडिगाउँबाट बसाइँ सरेका तथा अस्थायी बसोवास गर्ने नागरिकलाई सास्ती भएको छ । बिरामी पर्दा होस् वा अरु महत्त्वपूर्ण कामका लागि फोन गर्नुपर्दा नापानी गाउँका नागरिक डाँडा र रुख चर्हानु पर्ने स्थिति छ ।
डाँडाडाँडामा टेलिकमका टावर निर्माण भए पनि सञ्चालनमा राज्य पक्षकै कमजोरीले पाँच बस्तीका नागरिक सञ्चारविहीन बनेका हुन् । गुठिचौर गाउँपालिका–१ का वडाध्यक्ष अर्जुनकुमार महताराले वडाका नागरिकले भोगेको सञ्चार असुविधालाई मध्यनजर गर्दै टावर मर्मतको पहल भइरहेको बताए । पुराना टावरले काम नगर्ने भएकाले चोत्रा र मणिगाउँको नेटिलेकमा नयाँ टावर निर्माण गरिने उनको भनाइ छ ।