स्याङ्जा–तनहुँ जोडने सडक निर्माण ७५ प्रतिशत

स्याङ्जा– स्याङ्जाको सदरमुकामबाट तनहुँको दुलेगाैंडा जोड्ने सडकको निर्माण कार्य तीव्र रुपमा अगाडि बढाइएको छ । तीव्र रुपमा निर्माण गरिएको पुतली बजारको प्रगति नगर–डाडाँस्वारा पक्की सडकको निर्माण कार्य ७५ प्रतिशत काम पूरा भएको छ । पुतलीबजार नगरपालिका अन्तर्गत रहेको प्रगतिनगर–बहाकोट–नाम्चे–काल्खु मोटरबाटो फराकिलो बनाउने काम सकिएको छ ।
सडकमा पर्खाल लगाउने, नाली बनाउने, ग्रेड मिलाउने लगायतका काम पूरा भएर कालोपत्रेको काम थाल्न सुरु हुन लागेको पुतलीबजार नगरपालिकाका इन्जिनियर सुदीप बरालले जानकारी दिए । ‘बाटो फराकिलो बनाउने काम सबै पूरा भएको छ । टेवा, पर्खाल र नाली निर्माणका काम ९५ प्रतिशत पूरा भएको छ,’ इन्जिनियर बरालले भने, ‘यसैगरी नालीतर्फ ५ दशमलव ९ किलोमिटर, ५ दशमलव ५ किलोमिटर ग्रेड मिलाउने र ५ दशमलव ३ किलोमिटरमा सबबेश बिछ्याउने काम सम्पन्न भएको छ ।’
वैशाख महिनाको मध्येसम्म भौतिक प्रगति करिब ७५ प्रतिशत पूरा भएको छ । वैशाखको अन्तिम साताभित्र कालोपत्रे गर्नेगरी तयारी भइरहेको छ । विश्व बैंकको आर्थिक सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा कच्ची सडक फराकिलो बनाउनुका साथै कालोपत्रे गरिने नगरप्रमुख तुलसीराम रेग्मीले बताए । सडकले स्याङ्जाको सदरमुकाम र तनहुँ जिल्लाको व्यापारिक केन्द्र दुलेगौंडा जोड्ने छ ।
पुतलीबजार हुँदै तनहुँको दुलेगाैंडासँग जोडिने सडकबाट पुतलीबजार नगरपालिकाका–३, ५, ७, ८, ९ का स्थानीयवासी प्रत्यक्ष लाभान्वित हुनेछन् भने हजारौं व्यक्तिले उक्त सडक उपयोग गर्न पाउने नगरप्रमुख रेग्मीले जानकारी दिए । काठमाडौंको लामा कन्स्ट्रक्सन कम्पनीले निर्माणको जिम्मा पाएको सडक निर्माणमा विश्व बैंकको ४३ करोड १८ लाखको लागतमा निर्माण गरिने पक्की सडक अबको तीन महिनाभित्र पूरा गरिसक्नु पर्नेछ । सन् २०२४ अप्रिलमा सम्झौता भएको सो सडक २०२५ जुलाइमा निर्माण कार्य सक्नुपर्ने बाध्यकारी समय सीमा रहेको छ ।
सहरी शासकीय तथा पूर्वाधार कार्यक्रम अन्तर्गत विश्व बैंकको ऋण तथा अनुदान सहयोग तथा पुतलीबजार नगरपालिकाको प्राविधिक सहयोगमा सडक कालोपत्रे गर्न लागिएको हो । तोकिएको समयमै सडक निर्माण सम्पन्न गर्नेगरी निर्माण अघि बढाइएको निर्माण कम्पनीका प्रमुख इन्जिनियर नरनाथ पौडेलले जानकारी दिए । प्रगतिनगर शिक्षा चोकदेखि काँफलडाँडा–भन्ज्याङ्–बहाकोट–नाम्चे–काल्खुसम्मको ७ दशमलव ६ किलोमिटर पक्की सडक बन्दैछ । नाली र टेवा पर्खालसहित दुई लेन सडकको चौडा सात मिटरको हुने नगरपालिकाले जनाएको छ ।