Logo

धनकुटा औद्योगिक प्रदर्शनी तयारी अन्तिम चरणमा

धनकुटा– धनकुटामा मंगलबारदेखि सुरु हुने २१ दिने औद्योगिक प्रदर्शनी तथा धनकुटा पर्यटन उत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ धनकुटाको आयोजनामा वैशाख २३ बाट जेठ ५ सम्म आयोजना हुने औद्योगिक प्रदर्शनी तथा पर्यटन उत्सवको तयारी सकिएको हो ।

मेलामा कोसी प्रदेशका साना तथा घरेलु उद्योगबाट उत्पादित वस्तुको प्रदर्शनी र बिक्री वितरणका लागि सामग्री राखिने घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठले जानकारी दिए । धनकुटाका विभिन्न स्थानका पर्यटकीय क्षेत्रको फोटो प्रदर्शनीसमेत रहने र कृषि तथा उद्यमी पुरस्कार वितरणलगायतका कार्यक्रम समेटिएको श्रेष्ठले बताए ।

प्रदेश सरकारले सुरु गरेको पर्यटन वर्ष २०८२ लाई सहयोग पुग्ने गरी धनकुटामा रहेका पर्यटकीय क्षेत्रको प्रचार–प्रसार गर्न लागिएको मेला आयोजक समिति संयोजक विजय सन्तोषी राईले जनाए । उत्सवमा आर्थिक क्षेत्रका विभिन्न पक्षमा विचार–विमर्शलगायत पर्यटन सम्बद्ध कार्यक्रमसमेत समावेश गरिनेछ ।

प्रदर्शनीमा घरेलु उत्पादन, सांस्कृतिक र स्थानीय खाना परिकारसहित ३५ वटा स्टल रहनेछन् । उत्सव सम्पन्न गर्न करिब २५ लाख लाग्ने र मेला तथा उत्सवमा १ करोड बढीको सामान बिक्री गर्ने लक्ष्य रहको आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्