एमसीसीको बारेमा नबुझी नबोलौं

नेपाली कांग्रेसका नेता तथा सांसद गगनकुमार थापाले बहुचर्चित एमसीसीको विषयमा नपढीकन र नबुझिकन बोल्ने संस्कृतिले गर्दा पनि समस्या झन जटिल बनेको बताएका छन् ।
पशुपति बहुमुखी क्याम्पसको ४० औ बार्षिकोत्सवको अवसरमा नेता थापाले नेपाली समाजमा पठन पाठनको संस्कृतिमा कमी भएको हुँदा पनि एमसीसी जस्तो विषयमा समाज झन बढी अन्यौल र अस्पष्टता रहेको बताएका हुन् ।
विश्वविद्यालयको गुणस्तर, पठनपाठनको संस्कृतिमा ह्रास आइरहेको उल्लेख गर्दै नेता थापाले बजार र शिक्षाको गुणस्तरबीच तालमेल नहुदाँ शैक्षिक बेरोजगारी बढेको चर्चा गरे । सो अवसरमा प्रदेश सांसद नरोत्तम वैद्य र कुसुम कार्कीले प्रदेश तहमा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासलाई स्थानीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता भएको उल्लेख गर्दै स्थानीय तहका शिक्षालयको गुणस्तरलाई माथि उठाउनुृ पर्ने अवस्था रहेको बताए । कार्यक्रममा नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले गुणस्तरिय र व्यावसायिक तथा सिपमूलक शिक्षाको विकासमा जोड दिए । अनेरास्ववियका केन्द्रिय सदस्य इन्द्र भुषालले सामुदायिक शिक्षण संस्थाहरुको गुणस्तर र प्राज्ञिक बिकासमा ध्यान दिनुपर्नेमा जोड दिए ।
पशुपति बहुमुखी क्याम्पसको क्याम्पस प्रमुख प्राध्यापक प्रयागराज भट्टराईले क्याम्पसले बिश्वबिद्यालय स्थापनाको योजना बोकेर अघि बढेको चर्चा गर्दै त्यसको लागि प्राज्ञिक र भौतिक पूर्वाधारको तयारी भइरहेको बताए ।
२०३७ सालमा स्थापना भएको पशुपति बहुमुखी क्याम्पसको मुलुकको अंग्रणी शैक्षिक संस्थाको रुपमा परिचित रहेको छ ।