माथिल्लो मुस्ताङको पर्यटनः दीर्घकालीन हित सोचौँ

विश्वका घुम्नैपर्ने उत्कृष्ट ठाउँहरूमा घरीघरी परिरहने पर्यटकीय स्थल हो— मुस्ताङ जिल्लाको माथिल्लो भाग अर्थात् ‘ल्हो मन्थाङ’ । सन् २०२३ मा अमेरिकाबाट प्रसारण हुने टेलिभिजन सीएनएन र सन् २०२४ मा अमेरिकाकै न्युयोर्कबाट प्रकाशित ‘द न्युयोर्क टाइम्स’ ले विश्वका घुम्नैपर्ने सूचीमा राखेको थियो, माथिल्लो मुस्ताङलाई । त्यसले गर्दा पनि यो ठाउँमा भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार रूपमा बढिरहेको छ । कोरोना महामारीपछि सन् २०२३ मा भन्दा सन् २०२४ मा १४.२० प्रतिशतले बढी विदेशी पर्यटक माथिल्लो मुस्ताङमा आएको तथ्यांक छ । सन् २०२३ मा ३ हजार ४ सय ८४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए भने सन् २०२४ मा चाहिँ सो संख्या बढेर ४ हजार ६१ जना पुगेको थियो ।
समग्रमा हेर्दाखेरि माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या विभिन्न समयमा तल–माथि भएको देखिन्छ । जस्तो कि, सन् २०१९ मा ३ हजार ९ सय १८ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए भने सन् २०१९ को डिसेम्बर अन्तिमताका छिमेकी देश चीनबाट फैलन सुरु भएको कोरोना महामारीपछि सन् २०२० मा केवल ६२ जना विदेशी पर्यटकले मात्रै माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ को भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् २०२१ मा चाहिँ ३ सय ३२ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरेको तथ्यांक देखिन्छ । तर, सन् २०२२ मा माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या ह्वात्तै बढेर बढेर ३ हजार १ सय १२ जना पुगेको थियो । यसरी तथ्यांक नै हेर्ने हो भने माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्या सन् २०१७ मा सबैभन्दा बढी रहेको देखिन्छ । स्मरण रहोस्, सो वर्ष ४ हजार १ सय १५ जना विदेशी पर्यटकले ‘ल्हो मन्थाङ’को भ्रमण गरेको तथ्यांक रहेको देखिन्छ ।
खासमा भन्ने हो भने वि.सं. २०४६ को राजनीतिक परिवर्तनपछि मात्रै माथिल्लो मुस्ताङमा विदेशी पर्यटकले भ्रमण गर्न पाउने व्यवस्था गरिएको हो । फलतः वि.सं. २०४७ मा तत्कालीन सरकारले निश्चित सर्तसहित माथिल्लो मुस्ताङमा विदेशीहरूका लागि पर्यटकीय उद्देश्यले मात्रै भ्रमण गर्न पाउने गरी भ्रमण गर्न खुला ग¥यो । जस्तैः त्यो बेला माथिल्लो मुस्ताङको भ्रमणमा जान चाहने विदेशी पर्यटक कम्तीमा दुई जना हुनुपर्ने, सरकारमा दर्ता भएको ट्रेकिङ एजेन्सीमार्फत मात्रै जान पाउने, अनिवार्य रूपमा एक जना सरकारी सम्पर्क अधिकृत लानैपर्ने (हाल सो व्यवस्था खारेज भइसकेको छ), १० दिनको ७ सय अमेरिकी डलर सलामी दस्तुर तिर्नुपर्ने (अहिले घटाएर ५ सय डलर मात्रै छ), १० दिनमा ट्रेकिङ सक्नैपर्ने (आधार खुलाएर थप दुई दिन थप्न सकिने, त्यसका लागि प्रतिदिन थप एकजना पर्यटकबराबर ७० अमेरिकी डलर सरकारलाई राजस्व तिर्नुपर्ने), वर्षमा १ हजारभन्दा बढी पर्यटक जान नपाउने, कुनै पनि पर्यटकले स्थानीय समुदायलाई सीधै आर्थिकलगायत अन्य सरसहयोग दिन नपाउने, दिनैपरे प्रमुख जिल्ला अधिकारीको स्वीकृत लिनुपर्ने आदि सर्तसहित विदेशी पर्यटकलाई भ्रमण गर्न खुला गरिएको थियो ।
नेपालका अन्य केही हिमाली क्षेत्रझैँ निषेध गरिएको माथिल्लो मुस्ताङ विदेशी पर्यटकका लागि खुला गरिएपछि पहिलो वर्ष सन् १९९२ मा ४ सय ८३ जना विदेशी पर्यटकले भ्रमण गरेका थिए । त्यसपछि चाहिँ माथिल्लो मुस्ताङ जाने पर्यटकको संख्या वर्षैपिच्छे बढ्दै गएर सन् १९९८ मा चार अंक पुग्यो । अर्थात् उक्त वर्षचाहिँ १ हजार ६६ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरेका थिए । त्यस्तै गरेर सन् १९९९ मा १ हजार ५७ जनाले माथिल्लो मुस्ताङको भ्रमण गरे । तर दुर्भाग्यवश, बढोत्तरीको क्रम लामो समयसम्म जारी रहन सकेन । किनभने, त्यसपछि देशमा तत्कालीन सरकार र विद्रोही पक्ष (माओवादी) बीच हिंसा–प्रतिहिंसा सुरु भयो । फलतः सन् २००० देखि माथिल्लो मुस्ताङ भ्रमण गर्न आउने पर्यटकको संख्या तीन अंकमा झर्यो । यो क्रम सन् २००६ सम्म जारी रहेको थियो ।
त्यसै क्रममा २०६२-०६३ मा भएको राजनीतिक परिवर्तनपछि छाएको शान्तिसँगै माथिल्लो मुस्ताङमा जाने विदेशी पर्यटकको संख्या पुनः बढ्न थाल्यो । यसरी माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ जाने विदेशी पर्यटकको संख्या बढ्ने क्रम सन् २००७ देखि पनि पुनः चार अंकमा चढ्यो । अर्थात्, सन् २००७ मा १ हजार १ सय ५७ विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । अझ सन् २००८ मा त स्थानीयवासी नै चकित हुने गरी विदेशी पर्यटकहरू माथिल्लो मुस्ताङमा भ्रमण गर्न आए । सन् २००८ मा त्यो बेलासम्मको रेकर्ड तोड्दै २ हजार १ सय ९४ जना विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गरे । त्यो बेलाको समयमा त्यत्रो संख्यामा विदेशी पर्यटकले माथिल्लो मुस्ताङको भ्रमण गर्नु भनेको एक हिसाबले कीर्तिमान कायम गरेसरह थियो ।
यसरी हेर्दा समग्र नेपाली पर्यटनले छलाङ मार्दै गएको अवस्थामा माथिल्लो मुस्ताङ अर्थात् ‘ल्हो मन्थाङ’ भ्रमण गर्न आउने विदेशी पर्र्यटकको संख्याले सन् २०२० पछि क्रमशः छलाङ मारेको छ भन्न सकिन्छ । हुन पनि कैयौँ पटक माथिल्लो मुस्ताङ विश्वका विभिन्न मिडिया तथा पर्यटकसँग सम्बन्धित संघ–संस्थाको उत्कृष्ट सूचीमा पर्दै आएको छ । भौगोलिक हिसाबले तिब्बती पठार र माथिल्लो मुस्ताङको बनावट उस्तै–उस्तै छ । उनीहरूबीच धर्म, भाषा, वेशभूषा, रहनसहन, संस्कार, संस्कृति आदि पनि मिल्दोजुल्दो छ भने पशुपालन जस्तै— घोडा, याक, चौँरी, भेडा, च्याङ्ग्रा पाल्ने तरिका, खेतीपाती गर्ने तरिका उस्तै छ ।
माथिल्लो मुस्ताङका विभिन्न स्थानमा प्रशस्तै प्राचीन गुफाहरू रहेका छन्, जहाँ प्राचीन समयमा मानव बस्ती रहेको विभिन्न अनुसन्धानबाट पत्ता लागेको छ । जुन विदेशी पर्यटकका लागि मात्रै नभएर पर्यटनमा आश्रित व्यवसायी, स्थानीय बासिन्दा एवम् हामी र हाम्रो देशका लागि पनि गर्व गर्न लायक कुरा हो ।
उता, माथिल्लो मुस्ताङको लो घ्याकरमा अवस्थित लगभग १४ सय वर्ष पुरानो बौद्घ गुम्बाले पनि जुनसुकै विदेशी पर्यटकका लागि कौतूहलता र आकर्षण थपेको छ । भनिन्छ, उक्त गुम्बा गुरु पद्य सम्भवले तिब्बतमा बौद्घ धर्म फैलाउन जाने क्रममा स्थापना गराएका हुन् । हाल आएर नेपाल सरकारले माथिल्लो मुस्ताङ भ्रमणमा जान चाहने विदेशी पर्यटकका लागि महँगो शुल्क दर (सलामी दस्तुर) तोकिएको भनेर स्थानीय बासिन्दाले सो शुल्क दर जतिसक्दो चाँडो घटाउन सरकारसमक्ष माग गरिरहेका छन् । सुरुमा त माथिल्लो मुस्ताङ भ्रमण गरेबापत विदेशी पर्यटकले तिर्नुपर्ने सलामी दस्तुर १० दिनको ७ सय अमेरिकी डलर तोकेको थियो भने कुनै पनि विदेशी पर्यटकले थप बस्न चाहेमा कारण खुलाएर हरेक दिनको थप ७० डलर तिर्नुपर्ने सर्त राखिएको थियो । धेरै विरोध भएपछि सरकारले पछि मात्रै १० दिनको ५ सय अमेरिकी डलरमा झारेको हो ।
अन्तिममा भन्नुपर्दा, माथिल्लो मुस्ताङजस्तो विश्वकै प्राचीन, ऐतिहासिक र पुरातात्विक महत्व बोकेको क्षेत्रमा ‘वेस्ट टुरिस्ट’ अर्थात् ब्याक प्याकरहरूलाई भीड गर्न दिनु (जथाभावी फोहरमैला गर्न र स्थानीय कला, संस्कृति एवम् वातावरण विनाश गर्नका लागि मात्रै भीड वा भनौँ लर्को लगाउनु) भन्दा थोरै भए पनि गुणस्तरीय पर्यटकलाई मात्रै प्रवेश गर्न दिए माथिल्लो मुस्ताङवासीको मौलिक संस्कार र संस्कृति जोगिनुका साथै सो क्षेत्रको वातावरणीय विनाश रोकिने देखिन्छ । त्यसैले यसबारेमा बेला छँदै तपाईं–हामीले गम्भीर भएर सोचौँ ।