Logo

ग्लोबल आइएमई बैंकले गर्‍यो ह्याकाथन कार्यक्रम

काठमाडौं– ग्लोबल आइएमई बैंकको आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी ‘ग्लोबल आइएमई एआई/एमएल ह्याकाथन’ कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बैंकको प्रमुख कार्यकारी अधिकृत, नायब प्रमुख कार्यकारी अधिकृतलगायत उच्च व्यवस्थापकसहित विभिन्न संस्थाको प्रतिनिधिको उपस्थिति थियो ।

बैंकले प्रविधिमा रुचि राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भावित नवीनतम प्रविधिमा आधारित बैंकिङ सेवाहरु विकासका लागि यो प्रतियोगिता सञ्चालन गरेको हो । प्रतियोगितामा २१ टोलीलाई अनलाइन पेपर प्रिजेन्टेसनका लागि छनौट गरिएको थियो । प्रतियोगी टोलीहरु विभिन्न स्थान काठमाडौं, महेन्द्रनगर, पोखरा, विरगंज, काभ्रे, धरानबाट सहभागी भएका थिए । सहभागी टोलीमध्ये टिम क्याल्कुलुसले उक्त प्रतियोगिताको प्रथम पुरस्कार स्वरुप एक लाख जित्न सफल भएको छ ।

साथै, डब्लुडिके, लार्के पास, टिम जनकपुर, फ्रडेक्स टोलीहरुले क्रमश दोस्रो, तेस्रो, चौथो र पाँचौ पुरस्कारबाट पुरस्कृत भएका छन् । दोस्रो हुने टोली डब्लुडिकेले ७५ हजार, तेस्रो हुने लार्के पासले ५० हजार, चौथो र पाँचौ हुने क्रमश टिम जनकपुर र टिम फ्रडेक्सले १५–१५ हजारको पुरस्कार प्राप्त गरेका छन् । साथै, वेष्ट प्रिजेन्टेसन बिधाअन्तर्गत बैंकले डिजीविट्सलाई १५ हजारको पुरस्कारबाट पुरस्कृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्