Logo

नबिल बैंक र अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारी

काठमाडौं– नबिल बैंक र भारतको अपोलो अस्पतालको प्रतिनिधि संस्था अपोलो इन्फर्मेसन सेन्टरबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

बैंकका ग्राहकलाई भारतमा स्वास्थ्य उपचार गर्दा विशेष छुट तथा सहजीकरणका लागि उक्त समझदारी गरिएको बैंकले जनाएको छ । बैंकका प्रमुख बजार अधिकृत कृष्णप्रसाद सुवेदी र अपोलो इन्फर्मेसन सेन्टरका प्रबन्ध निर्देशक (कानुन) सुशीलकुमार चापागाइँले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारीअनुसार अब नबिलका सेवाग्राहीले अपोलो अस्पतालमा उपचार गर्दा १० प्रतिशतसम्मको विशेष छुट र व्यक्तिगत परामर्श सेवा प्राप्त गर्न सक्नेछन् । बैंकका प्रमुख बजार अधिकृत सुवेदीले यो समझदारीले बैंकका ग्राहकलाई गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने बताए ।

समझदारीपछि बैंकका ग्राहक, कर्मचारी तथा सेयरधनीले भारतस्थित अपोलो अस्पतालमा स्वास्थ्य उपचार गर्दा विशेष छुट र भारतमा उपचार गर्नका लागि आवश्यक परामर्श तथा सुविधाहरू पाउने बैंकले जनाएको छ । ग्राहकले बैंकका डेबिट तथा क्रेडिट कार्ड, नबिल क्युआर, नबिल स्मार्ट मोबाइल एप वा बैंक ट्रान्सफरमार्फत भुक्तानी गर्दा सो छुट तथा सेवा प्राप्त गर्नेछन् । उक्त समझदारी दुई वर्षसम्म लागु हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्