मासिक १५ हजार आम्दानी
होमस्टमा रमाउँदै ६६ वर्षकी जानकी

पोखरा– जननी जन्म मूमिश्च: स्वर्गादपी गरियसी: जन्म दिने आमा र जन्म भूमि स्वर्ग भन्दा पनि प्यारा हुन्छन् । यो भनाईलाई हाल कास्की रुपा गाउँपालिका– ६ को भिरचोककी ६६ वर्षीय जानकी गुरुङले लागु गरेकी छन् । पोखरा झरेकी उनी मुस्किलले २ वर्ष बिताएर जन्मभूमिको मायाले गर्दा हाल गाउँमा मौरी पालन र घरबास कार्यक्रम (होमस्टे) व्यवसायमै रमाउँदैछन् ।
नाति नातिनी खेलाउने उमेरमा उनी मौरी पालनदेखि गाउँमा आगन्तुक पाहुनालाई स्वागत सत्कार गर्न लागि परेकी छन् । नेपालका अधिकांश गाउँहरु खाली हुँदै बाँझो खेतबारीमा परिणत भएको अवस्थामा रुपा गाउँपालिका–६ को भिरचोक क्षेत्रका कमला जस्ता केहीलाई आफ्नै गाउँमा स्वरोजगार बन्नाउने गरी गाउँ फर्काउन सफल भएको गाउँपालिकाले जनाएको छ ।
गाउँमा घर घरमा मौरी पालनदेखि पछिल्लो समय होमस्टेले गर्दा बुढेसकालमा पनि सहर बजार झरेकालाई गाउँ फर्काएको पालिका अध्यक्ष नवराज ओझाले बताए । ३८ वर्षअघि श्रीमान गुमाए पनि दुई छोरीको सहारामा गाउँमा कृषि पेशा गर्दै आएकी जानकी २ वर्ष छोरीसँग पोखरा बसेपनि गाउँ ठाउँको माटोका मायाले गाउँ फर्किएर मौरी पालनदेखि होमस्टे सञ्चालन गर्न थालेकी हुन् ।
उनले २०७४ सालदेखि एउटा मौरीको घारबाट मौरी पालनको सुरुवात गरेकी थिइन् । गाउँमा केही घर परिवारमा मौरी पालन गरेको देखेर १० हजारमा मौरी घारसहित खरिद गरेकी गुरुङको घरमा हाल मौरीका २० घार छन् । गाउँमा मौरी पालन राम्रो हुन थालेपछि गाउँपालिकाले मौरी पालन व्यवसायलाई थप प्रवर्द्धन गर्न सहुलियतमा घार उपलब्ध गराउँदै आएको छ ।
मौरी पालनबाट केही मुनाफा लिन सुरु गरेकी जानकीलगायत गाउँलेलाई गाउँपालिकाले दिएको सहुलियतको मौरी घार व्यवसाय बिस्तार गर्ने राम्रो माध्यम हुन पुग्यो । उनले गत वर्ष मात्र थप दुई वटा मौरीका घार ३ हजार ५ सयका दरमा ७ हजारमा सहुलियत दरमा खरिद गरेकी हुन् । हिजोआज मौरीको रेखदेखदेखि समय समयमा मह काड्ने र होमस्टेमा आगन्तुक पाहुनालाई स्वागत गर्ने उनको दिनचर्या भएको छ ।
हाल घरमा पारिवारीक रुपमा एकल भए पनि आफन्तको साथ र सहयोगले पाँच वटा होमस्टेका रुमसमेत सञ्चालन गर्दै एकै रातमा १० जना पाहुनालाई खानपानको व्यवस्था मिलाउन उनी समक्ष भएकी छन् । वर्षमा ३ पटक चौमासिक रुपमा मह काड्दा एक सिजनमा ४० देखि ५० माना मह उत्पादन हुने गरेको छ । उनले प्रतिमाना एक हजार रुपैयाँमा मह बिक्री गर्दै आएकी छन् ।
घरामा उत्पादन भएको महका बजारमा समस्या नभएको उनी बताउँछिन् । २८ वर्षको यौवन अस्थामा श्रीमान गुमाएकी जानकीको हाल घुँडा दु:ख्ने समस्या छ यद्दपि उनी बिहान पाँच बजे उठेर घरयासी काममा व्यस्त हुन्छिन् भने दिनभरी मौरीको रेखदेख, खेतबारीमा फलफूल र तरकारी एवं अन्नबाली संरक्षण गर्नुदेखि आगन्तुक पाहुनालाई स्वागत गर्छिन् । आफ्नै घरमा बस्दा सन्तुष्टि भएको बताउँदै उनले मौरी पालनदेखि होमस्टेमा आउने पाहुनाले हौसला मिलेको बताइन् ।
उनी घरमै बसेर स्वरोजगार हुँदै मासिक करिब १५ हजार आम्दानी गर्न सक्षम बनेकी छन् । आफ्नो होमस्टेमा आगन्तुक पाहुनालाई स्थानीय स्तरमा उत्पादन भएका अन्नबालीदेखि फलफूल र तरकारी उपलब्ध गराउने उनले बताइन् । गत जेठदेखि सञ्चालन भएको होमस्टेमा काठमाडौं, चितवनलगायतका स्थानबाट पाहुना आउन थालेपछि अब विदेशी पाहुनासमेत ल्याउन केही पूर्वाधार सुधार गर्न उनलाई सहयोगको खाँचो छ ।
आफ्नो गाउँलाई मौरी पकेट क्षेत्र बनाउने उद्देश्यले मौरीमा सहुलियत दिन सुरु गरिएको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए । उनका अनुसार गाउँमा हाल ३५ हजार लिटर मह उत्पादन हुन थालेको छ । केही वर्ष अघि वार्षिक ८ हजार लिटर मात्र मह उत्पादन भएकोमा हाल मह उत्पादन बढेको उनको दाबी छ । गाउँमा बस्ने वातावरण सिर्जना गर्न पालिकाले किसानलाई बिउ विजन, मलदेखि होमस्टे प्रबद्र्धनसहितका विभिन्न उत्पादन मुलक कार्यक्रममा सहयोग गर्दै आएको उनको भनाइ छ ।