कोहलपुर–सुर्खेत प्रसारण लाइन निर्माण सुरक्षाकर्मीको निगरानीमा

वीरेन्द्रनगर (सुर्खेत)– कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको विवादित स्थल बाँकेको बैजनाथ गाउँपालिका–४ बानियाभारमा सुरक्षाकर्मीको निगरानीमा काम सुरु भएको छ । विभिन्न माग राखेर स्थानीयले प्रसारण लाइन निर्माणमा पटक–पटक अवरोध गरेपछि सुरक्षाकर्मी परिचालन गरेर तीन वटा टावर निर्माण गर्नुका साथै रुख कटान सुरु भएको आयोजना प्रमुख रवि चौधरीले बताए ।
बानियाभर वरपर करिब दुई सय रुख कटान गर्नुपर्ने उनले जानकारी दिए । यसअघि स्थानीय विकल्प खोज्नुपर्ने भन्दै अदालत पनि गएका थिए । स्थानीयद्वारा दायर रिट अदालतले खारेज गरिदिए पनि अवरोध कायमै थियो । बानियाभारमा जम्मा तीन वटा टावर मात्र निर्माण गर्नुपर्नेछ। तीन वटा टावर निर्माण गर्दा करिब ७५ जनाको जमिन अधिग्रहणमा पर्नेछ । बानियाभार विवादले आयोजना निर्माणमा ढिलाइ भएको छ ।
आयोजनाको तेस्रो पटक थपेको म्याद गत पुसमा सकिएको छ । असारसम्मका लागि चौथो पटक म्याद थपिएको आयोजना प्रमुख चौधरीले बताए । २०७७ भदौ ७ मा सम्झौता भई दुई वर्षभित्र प्रसारण लाइनको निर्माण, डिजाइन, परीक्षण, वितरणदेखि प्लान्टको खरिदसम्मका काम गरिसक्नुपर्ने सम्झौता भएको थियो । यद्यपि कम्पनीले विभिन्न कारण देखाउँदै २०७७ भदौपछि मात्रै काम थालेको थियो ।
२०७९ सम्म काम सम्पन्न गरिसक्नुपर्ने भए पनि विभिन्न ठाउँमा भइरहेको अवरोध, सरकारी प्रक्रियामा ढिलासुस्तीका कारण अझै पूरा हुन नसकेको आयोजना प्रमुख चौधरीको दाबी छ । २०६७ देखि डीपीआर र वातावरणीय अध्ययनको काम अगाडि बढाइएको थियो । एक अर्ब बढी लागत अनुमानको यो आयोजनामा अहिले भारतीय ठेकेदार कम्पनी आरएस इन्फ्रा प्रोजेक्टले ७० करोड रुपैयाँ लागतमा काम गरिरहेको छ ।