Logo

असिनापानीले क्षति पुगेपछि स्याउ उत्पादन घट्ने चिन्ता

जुम्ला– जुम्लाको आर्थिक समृद्धिको प्रमुख आधार स्याउमा असिनापानीले क्षति पुर्‍याएको छ । भर्खर फुलेर चिचिला लागेको अवस्थामा गत बुधबारको असिनापानीले स्याउ खेतीमा क्षति पुगेको हो । हिउँदभरि मल, जल, बिरुवा काँटछाँट गरी हुर्काइएका स्याउमा फल दिन लागेको अवस्थामै परेको असिनापानीले जिल्लाभरि क्षति पुर्‍याएको छ । असिनापानीले गुठीचौर गाउँपालिका–३ दामदासे गाउँका नुर्व लामाले रोपेका करिब १५ सय स्याउका बिरुवामा क्षति पुगेको छ ।

सबै स्याउका विरुवा फूल फुलेर सेताम्य थिए । किसान नोर्बु लामा भन्छन्, ‘म होटल व्यवसाय छाडेर स्याउ खेतीमा लागेको हुँ । यस वर्ष राम्रो उत्पादन हुने आशा थियो । फूल पनि राम्रै फुलेको थियो । तर, एक्कासि परेको असिनाले सबै सखाप पारिदियो । किसानलाई राज्यले मात्र होइन, प्रकृतिले पनि बेलाबेला ठगिरहेको छ । उत्पादन घट्ने चिन्ताले सताएको छ ।’ लामाले गत वर्ष एक हजार पाँच सय स्याउका बिरुवा रोपेका थिए ।

यीमध्ये आठ सय बिरुवाले फल दिएका थिए । तर, यस वर्ष सबै बिरुवाको फूल झरिसकेकाले स्याउ फल्ने आशा मरिसकेको दुखेसो उनले पोखे । गत वर्ष स्याउ बेचेर आठ लाख कमाइ गरेका नोर्बु यस वर्ष उत्पादन घट्ने पीरमा छन् । उनले भने, ‘असिनापानीले किसानको मिहिनेत खेर गइहाल्यो । स्याउमा क्षति भए पनि राहत कतैबाट पाउने आशा छैन । गत वर्ष खडेरी बीमा गरे पनि किसानले पैसा पाएका छैनन् । पालिकाले हाम्रा कुरा सुन्दैन ।’

स्याउ बगैंचामा असिनापानीले फूल झारेपछि भुइँ सेताम्य भएको छ । कालो तुषारो, लाइकिरालगायत रोग संक्रमणले स्याउमा क्षति भइरहेको अवस्थामा असिना परेर किसानलाई दोहोरो मार परेको पातारासीका जुमा महताराको गुनासो छ । असिनाले गुठीचौर, पातारासी, चन्ददनाथ, तातोपानी क्षेत्रका स्याउ बगैंचामा बढी क्षति पुर्‍याएको छ । यद्यपि, कृषि विकास कार्यालयले असिनापानीले स्याउ खेतीमा पुगेको क्षति विवरण संकलन गरिसकेको छैन । प्रभावित क्षेत्र अवलोकन गरी तथ्यांक संकलन गर्ने काम भइरहेको कृषि विकास कार्यालयले जनाएको छ ।

किसानले लाखौं बराबरको स्याउका बिरुवामा क्षति पुर्‍याएको दाबी गरेका छन् । असिनाले गुठीचौरमा करिब ६० लाख बढीको क्षति पुगेको अनुमान भए पनि पुष्टि हुन बाँकी रहेको छ । जुम्लाका अधिकांश किसान कृषि बीमाको पहुँचमा छैनन् । सोही कारण स्याउदेखि अन्य खाद्यान्न बालीमा प्राकृतिक विपद्बाट क्षति भए पनि राहत पाउन सकेका छैनन् । गुठीचौर गाउँपालिका वडा–२ का वडाध्यक्ष दीपबहादुर ऐडीले असिनापानीले गुठीचौर क्षेत्रको स्याउलगायत अन्य बालीनालीमा क्षति पुर्‍याएको बताए ।

उनका अनुसार वडाभित्रका कोल्ते, गुठीगाउँ र मुडुरीलगायतका पाँच सय ५० घरधुरीमा लगाइएको स्याउ, ओखर, जौ, गहुँबालीमा समेत क्षति पुगेको छ । गत वर्ष जुम्लामा २१ हजार मेट्रिक टन स्याउ निर्यातबाट ६१ करोड ४१ लख रुपैयाँ भित्रिएको थियो । जुम्लाका १६ हजार घरधुरी स्याउ खेतीमा आबद्ध रहेको सरकारी तथ्यांक भए पनि पछिल्लो समय उच्च घनत्वको फुजी जातको स्याउ खेतीमा किसान बढी आकर्षित छन् ।

कृषि विकास कार्यालयको तथ्यांकअनुसार चार हजार दुई सय ५० हेक्टर जमिनमा स्याउ खेती भइरहेको छ । विगत तुलनामा स्याउ खेतीको क्षेत्र विस्तार भए पनि उत्पादन अपेक्षित हुन सकेको छैन । स्याउ ढुवानीमा सरकारले सहुलियत नदिनु, कर्णाली राजमार्ग स्तरोन्नति नहुनु, रोग किराको संक्रमण तथा प्राकृतिक विपत्तिले जुम्ली किसानले स्याउ खेतीबाट अपेक्षित लाभ लिन नसकेका हुन् ।

प्रतिक्रिया दिनुहोस्