बाँके र बर्दियालाई कर्णालीमा समेट्न माग «

बाँके र बर्दियालाई कर्णालीमा समेट्न माग

नेपालगन्ज-प्रदेशको सीमांकन वैज्ञानिक ढंगले नगरिँदा बाँके र बर्दिया समस्यामा परेकाले विकल्प खोज्नुपर्ने भन्दै लामो समयदेखि बहस चलिरहेको छ ।
बहसकै बीच कर्णाली प्रदेशमा समावेस गर्नुपर्ने भन्दै शनिबार नेपालगन्जमा औपचारिक रूपमा आन्दोलन थालिएको छ । बाँके र बर्दियालाई कर्णालीमा मिसाउन बनाएको संर्घष समितिले तयारी गरिरहेका बेला बाँके होटल तथा रेस्टुराँ व्यवसायी संघले शसनबारदेखि आन्दोलनको घोषणा गरेका हुन् । यसक्षेत्रको व्यवसायका साथै अस्तित्व नै धरापमा परेपछि दुई जिल्लालाई कर्णालीमा लैजान माग गर्दै आन्दोलनको तयारी गरेको बाँके होटल तथा रेस्टुराँ व्यवसायी संघकी अध्यक्ष उमा ग्राण्डनले बताइन् । “यहाँको उद्योगधन्दा कलकारखाना लगायत व्यापार व्यवसाय हरेक कुरामा कर्णालीसँग सम्बन्ध छ,” उनले भनिन् । कर्णालीको जडिबुटी लगायत अन्य उत्पादनमा पनि नेपालगन्जको साथ चाहिने हुनाले दुवैलाई फाइदा हुने भएकाले कर्णालीमा जान आवश्यक छ ।
संघीयता बाडफाँडका क्रममा नेपालगन्जबाट दर्जन बढी सरकारी तथा सय बढी गैरसरकारी कार्यालय अन्यत्र गइसकेका छन् । पछिल्लो समय नेपालगन्जको व्यापार व्यवसायसमेत खस्किँदै गइरहेको छ । जसले प्रशस्त सम्भावना हुँदाहुँदै पनि संघीयताको मारमा नेपालगन्जले निकै सास्ती खेप्नु परिरहेको भन्दै व्यवसायी आन्दोलनमा उत्रिनु परेको बताउँछन् ।
नेपालगन्जका व्यवसायीहरूले थालेको आन्दोलनप्रति कर्णाली प्रदेशको जुम्लाका जनप्रतिनिधिले समेत ऐक्यबद्धता जनाउँदै स्वागत गरेका छन् । जुम्ला जिल्लाको क्षेत्र नम्बर २ ख का साँसद पदमबहादुर रोकायले आफूहरू बाँके बर्दियालाई स्वागत गर्न तयार रहेको बताए । “हाम्रो सबैको आ–आफ्नो सम्बन्ध छ,” उनले भने, “कर्णाली र बाँके बर्दियालाई अलग गर्दा हामी अपुरो हुन्छौं,” उनले भने
प्रदेश ५ मा रहँदा बाँके र बर्दियाको अस्तित्व संकटमा परको भन्दै लामो समयदेखि कर्णाली प्रदेशमा गाभ्ने बहस चलिरहेको छ । यो अभियानको उदघोष र नेतृत्व गरिरहेका नेपालगन्ज उमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणा कर्णाली प्रदेशमा जानुको विकल्प नभएकाले आन्दोलनको तयारीमा रहेको बताउँछन् ।
प्रदेश ५ को राजधानी बुटवल भए बाँके बर्दियालाई कुनै पनि हिसाबले पायक नपर्ने यहाँका राजनीतिक दलका कार्यकर्ताको समेत बुझाइ छ । यतिबेला उनीहरू समेत छलफलमा जुटेका छन् । भर्खरैमात्र कांग्रेस बाँकेले कर्णालीमा गाभिनुपर्ने भन्दै नेतृत्वलाई सुझाव दिएको छ । अन्य दलसमेत यो विषयमा छलफल गरिरहेका छन । प्रदेश ५ मा रहँदा नेपालगन्जको भविष्य नै धरापमा परेको भन्दै कर्णालीमा समेटन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्