‘अर्थतन्त्र चलायमान बन्न सकेन’

दाङ–आर्थिक अवस्था कठिन अवस्थामै रहेको निजी क्षेत्रका अगुवाले बताएका छन् । शनिबार तुलसीपुर उद्योग वाणिज्य संघको ३०औं वार्षिक साधारणसभामा सहभागीले दैनिक रुपमा व्यवसायी पलायन हुने क्रम नरोकिएकाले आर्थिक अवस्था सन्तोषप्रद नरहेको बताएका हुन् । दिनप्रतिदिन निजी क्षेत्रमा लगानी गरेका व्यवसायीका सटर बन्द हुदै गएको उनीहरुको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष भवानी राणाले देशको अर्थतन्त्र कल्पनाभन्दा बाहिर जान सक्ने भन्दै सरकारले विशेष ध्यान दिनुपर्ने धारणा व्यक्त गरिन् । यथास्थितिमा देशको अर्थतन्त्र कल्पना गरेभन्दा बाहिर जान सक्ने भन्दै त्यसका लागि व्यवसायी एकता र नेतृत्वले ध्यान दिनुपर्ने उनको भनाइ छ । ‘अहिले इतिहासमै आर्थिक क्षेत्र कठिन अवस्थामा छ । अझै पनि राज्यले कुरा नसुने अर्थतन्त्रको अवस्था कल्पनाभन्दा बाहिर जान सक्छ,’ उनले भनिन् ।
जबसम्म आर्थिक क्षेत्रको विकास हुँदैन, तबसम्म राजनीतिको पनि विकास नहुने उनको भनाइ छ । ‘अहिले पनि राजनितिक स्वार्थमा सबै दलका नेताहरु लाग्नुभएको छ । केही सुधारका कुरा भएका छन् तर सोचेजस्तो छैन,’ उनले भनिन् । राणाले अहिले विभिन्न उद्योग कलकारखानामा उत्पादन घटेको र उत्पादन भए पनि उपभोक्ता नभएको सुनाइन् । ‘दैनिक हजारौं युवा शक्ति बिदेसिएको छ । भाषणमा युवा शक्ति रोक्ने र उद्योग कलकारखाना खोल्ने, रोजगारी दिइने भने पनि त्यो व्यहारमा कार्यान्वयन हुन सकेको छैन’, राणाले भनिन् ।
उनले सरकारले भर्खरै नीति तथा कार्यक्रम ल्याएको र बजेट आउन बाँकी रहेकाले आगामी बजेटले आर्थिक क्षेत्रको सुधार गर्न सक्नुपर्ने धारणा व्यक्त गरिन् । सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ । ‘ऊर्जा, पर्यटन, कृषि, आइटी क्षेत्रमा लगानी बढाउनुपर्नेमा त्यो हुन सकेको छैन । बजेट अहिले पनि छरिएर जाने गरेको छ । यसरी आर्थिक क्षेत्रको विकास हुँदैन,’ उनले भनिन् ।
सरकारले निजी क्षेत्रलाईलाई प्रोत्साहन हुने खाले कार्यक्रम ल्याउनुपर्ने उनले बताइन् । ‘लुम्बिनी प्रदेश क्षेत्र पर्यटकीय हिसाबले निकै अगाडि छ तर, यहाँसम्म पर्यटक आउने वातावरण नहुँदा बनाइनुपर्छ,’ उनले भनिन् । राणाले अहिले सरकारसँग आफ्ना विमान नभएको र निजी क्षेत्रले महँगो भाडाका कारण पर्यटक आउने अवस्था नभएको राणाले दाबी गरिन् । तुलसीपुर उद्योग वाणिज्य संघले विभिन्न सामाजिक कार्यका साथै उद्यमशीलताको विकासका लागि काम गरेको राणाको भनाइ छ ।
उक्त अवसरमा तुलसीपुर उपमहानगर नगरप्रमुख टीकाराम खड्काले निजी क्षेत्र बलियो भए राज्य बलियो हुने बताए । उनले निजी क्षेत्र र स्थानीय सरकारको नङमासुको सम्बन्ध भएको सुनाए । ‘आर्थिक विकासमा निजी क्षेत्रको महत्त्व धेरै छ । निजी क्षेत्रसँग सहकार्य गर्न तयार छौं । हामी भौतिक पूर्वाधार निर्माण गर्छौं, तपाईंहरु लगानी गर्नुस् । स्थानीय सरकार सधैं सहकार्यका लागि तयार छ,’ नगरप्रमुख खड्काले भने । निजी क्षेत्रसँग पीपीपी मोडलबाट भौतिक पूर्वाधार, वातावरण, सडक पुलदेखि सबै क्षेत्रमा साझेदारी गर्न सकिने उनले औंल्याए । तुलसीपुर उपमहानगरले औद्योगिक क्षेत्र घोषणा गरेर निजी क्षेत्रसँग मिलेर काम गर्ने तयारी थालेको हुँदा लगानी गर्न व्यवसायीलाई आग्रह गरे ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ पूर्वउपाध्यक्ष भाष्करराज राजकर्णिकारले अहिले अर्थतन्त्र कठिन कालमा रहेको बताए । उनले निजी क्षेत्रको व्यवसाय ५० प्रतिसतमा झरेको र कारोबार ३० प्रतिशत रहेको उनको भनाइ छ । ‘अहिले सबैभन्दा कठिन अवस्था साना, मझौला खाले उद्योगी, व्यवसायी र व्यापारीलाई छ । बैंकले ऋण लगानी गर्ने अवस्था छैन । बैंकमा पैसा थुप्रिएको छ, जुन चलायमान हुन सकेको छैन,’ उनले भने ।
कार्यक्रममा महासंघका पूर्वउपाध्यक्ष किशोरकुमार प्रधानले निजी क्षेत्रका व्यवसायी एकजुट हुनुपर्नेमा जोड दिए । उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले केही नीतिगत तालमेल नमिलेकाले समस्या भएको भन्दै नीति गत सुधार गर्न आवश्यक रहेको बताए ।
नेपाल उद्योग वाणिज्य संघ लुम्बिनी प्रदेशका संस्थापक गुणनिधि तिवारीले बजारमा दिनप्रतिदिन सटर लागेको र व्यवसायी निराश अवस्थमा रहेको बताए । महासंघका केन्द्रीय सदस्यद्वय किशोर आचार्य र केशवप्रसाद भण्डारीले अहिले व्यवसायी वातावरण नभएको र व्यावसायिक वातावरण कता जाने हो भन्ने अवस्था रहेको धारणा व्यक्त गरे । आन्तरिक राजस्व कार्यालय तुलसीपुरका प्रमुख श्रीधर टण्डनले आर्थिक विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताए ।