सोलुखुम्बुको गौरीटापमा ‘गेट वे टु एभरेष्ट’

काठमाडौं– स्पार्क कारले यही वैशाख २६ देखि २८ गतेसम्म सोलुखुम्बुको गौरीटाप, पत्तालेमा स्पार्क एड्भेञ्चर २०२५ आयोजना गर्ने भएको छ । ‘गेट वे टु एभरेष्ट’ थिममा आयोजना हुन लागेको तेस्रो संस्करणको स्पार्क एड्भेञ्चरमा दुई सयभन्दा बढीको सहभागिता रहने स्पार्क कारका निर्देशक सिताराम घिमिरेले जानकारी दिए ।
‘दिगो पर्यटन र ग्रीन मोबिलिटी प्रवर्द्धन गर्दै ओझेलमा परेका पर्यटनीय गन्तव्यको प्रचारप्रसारका लागि स्पार्क एड्भेञ्चर आयोजना गरिएको हो’, घिमिरेले भने, ‘सहभागीले विवाईडीको विद्युतीय सवारीमा दुईतर्फी यात्रा गर्नुहुनेछ ।’ काठमाडौंबाट सडकमार्फत एकै दिनमा पुग्न सकिने गौरीटाप सगरमाथालगायतका हिमाल अवलोकनका लागि उपयुक्त गन्तव्य हो । समुन्द्री सतहबाट तीन हजार मिटरको उचाइमा रहेको गौरीटाप धार्मिक तथा पर्यटकीय दृष्टिले धेरै सम्भावना भएको गन्तव्य हो ।
काठमाडौंबाट २३० किलोमिटरको दूरीमा रहेको गौरीटाप नेचासल्यान गाउँपालिका र सोलुदूधकुण्ड नगरपालिकाको सीमानामा पर्छ । सत्ययुगमा माता गौरीले तपस्या गरेको यो स्थान धार्मिक दृष्टिले निकै महत्त्वपूर्ण रहेको गौरीटाप क्षेत्रका संरक्षण एवम् प्रवर्द्धन अभियन्ता लौरेश्वर बाबाले बताए । ‘माता गौरीले तपस्या गरेको स्थानमा रहेको शीलामा गौरी नामक गाईले दूध दिने क्रममा बाघले आक्रमण गरेको सो क्रममा गाईको टाप (खुर) ढुंगामा बसेकाले यस ठाउँको नाम गौरीटाप रहन गएको जनविश्वास छ’, उनले भने ।
चारपांग्रे सवारीमै बसेर सगरमाथा हिमशृंखलालाई नजिकैबाट अवलोकन गर्न सकिने गौरीटाप ओझेलमा परेको पर्यटकीय गन्तव्य हो । यहाँबाट सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला गौरीशंकर, लोत्से, मकालु, कुम्भकर्ण, कञ्चनगंगालगायतका हिमाल तथा चुचुराको दृश्यावलोकन गर्न सकिन्छ । लालीगुँरासको घना जंगल भएको यस क्षेत्रमा दुई दर्जनभन्दा बढी प्रकारका गुँरास पाइन्छन् । धार्मिक दृष्टिले महत्त्वपूर्ण गौरीटापमा गौरीशंकर–गणेशको मन्दिर, गौरीगाईको मन्दिर, शिव पञ्चायन मन्दिर छ ।