Logo

उद्यमी बस्नेतको ‘बाइ द बुक’ सार्वजनिक

काठमाडौं– हवाई उद्यमी एवं बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाइ द बुक’ सार्वजनिक भएको छ । स्थापनाको झण्डै २८ वर्षको अवधिमा बुद्ध एयरले हासिल गरेका सफलता र व्यवस्थापकीय पाटोका विभिन्न आयामलाई पुस्तकमा समावेश गरिएका छन् ।

शनिबार कर्मचारी सञ्चय कोषका तत्कालीन प्रमुख प्रशासक संसारभक्त श्रेष्ठ र हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शमशेर जबराले संयुक्त रूपमा पुस्तक विमोचन गरे । त्यस अवसरमा तत्कालीन प्रमुख प्रशासक श्रेष्ठले सफल व्यवस्थापन र गुणस्तरीय सेवाको नमुना संस्थाका रूपमा स्थापित बुद्ध एयर सबैका लागि प्रेरणादायी भएको बताए ।

हाल देशकै अग्रणी हवाई कम्पनीका रुपमा स्थापित बुद्ध एयरको सुरुआती सञ्चालनमा वित्तीय स्रोतको भूमिका निर्वाह गर्ने अवसर पाउनु आफ्ना लागि पनि महत्त्वपूर्ण अवसर भएको उनले उल्लेख गरे । हिमालयन बैंकका सिइओ जबराले हवाई उद्योगको नमुना संस्थाका रूपमा रहेको बुद्धएयरसँग आर्थिक साझेदारी गर्न पाउनु आफ्ना लागि पनि गौरवको विषय भएको बताए ।

लेखक बस्नेतले नयाँ आउने उद्यमीलाई केही सिक्ने अवसर मिलोस् भनेर पुस्तक लेखेको बताए । ‘यो पुस्तकको अर्थ नियमसंगत हो । बुद्ध एयर सुरुआत गर्दाको सपना र सोचलाई पुस्तकमा समेटिएको छ,’ उनले भने । बस्नेतले आमनेपाली उद्योग व्यवसाय र व्यवस्थापनमा लागेकाहरूका लागि पुस्तक केही सिक्ने सन्दर्भ सामग्रीका रूपमा हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्