Logo

तेस्रो चौमासिक पूरा हुँदासम्म २५७ योजना सम्झौता हुन बाँकी

वीरेन्द्रनगर– कर्णाली प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयले हालसम्म एक हजार २७३ योजनामा एक हजार १६ वटा योजना सम्झौता भएको बताएको छ । तेस्रो चौमासिकको प्रगति समीक्षा सार्वजनिक गर्दै मन्त्रालयले २५७ वटा योजना अझै पनि सम्झौता हुन नसकेको उल्लेख गरिएको छ । रुकुम पश्चिम र सुर्खेत योजना कार्यान्वयनमा सबैभन्दा कमजोर देखिएका छन् ।

रुकुम पश्चिममा १६४ योजनामा ११७ वटा योजना सम्झौता गरेको सूचना अधिकारी विपिन ज्ञवालीले जानकारी दिए । त्यहाँ हालसम्म ४७ वटा योजना अझै सम्झैता हुन नसकेको उनले बताए । त्यस्तै प्रदेश राजधानी सुर्खेतमा १६१ योजनामा १२४ वटा योजना सम्झौता भएका छन् । बाँकी ३७ वटा योजना अझै सम्झौता हुन नै बाँकी रहेको प्रगति समीक्षामा तथ्यांक सार्वजनिक गरिएको छ । रुकुम पश्चिमको भौतिक प्रगति २० प्रतिशत र सुर्खेतको २५ प्रतिशतमात्र रहेको छ ।

दैलेख जिल्लामा हालसम्म १४५ मध्ये १२० वटा योजनाको सम्झौता भएर काम भइरहेको छ भने २५ योजना अझै सम्झौता हुन बाँकी छ । यहाँको भौतिक प्रगति सबैभन्दा बढी ४० प्रतिशत छ । त्यस्तै जुम्लामा १०४ वटा योजनामा हालसम्म ८७ वटा योजना सम्झौता भएर काम जारी छ भने १७ वटा योजना सम्झौता हुन बाँकी छ । यहाँको भौतिक प्रगति ३५ प्रतिशत रहेको छ ।

कालिकोटमा १५० योजनामा हालसम्म १३१ वटा योजनाको मात्र सम्झौता भएको छ भने १९ वटा योजना सम्झौता नै नभएको पाइएको छ । तेस्रो चौमासिकसम्म यहाँको भौतिक प्रगति ३० प्रतिशत रहेको छ । सल्यानमा ९९ वटा योजनामा ८३ वटा योजनाको सम्झौता भएर काम सुरु भएको छ । बाँकी १६ वटा योजनाको काम नै सुरु हुन सकेको छैन । यहाँको भौतिक प्रगति ३७ प्रतिशत रहेको छ ।

जाजरकोटमा ११० योजनामा हालसम्म ९१ वटा योजनाको काम सुरु भएको छ । बाँकी १९ वटा योजनाको काम नै सुरु भएको छैन । जाजरकोटको भौतिक प्रगति ३० प्रतिशतमात्र छ । हुम्लामा १४८ योजनामा हालसम्म १०६ वटा योजनाको काम तीव्र रुपमा भएको छ । सडक सञ्जालसँग नजोडिएको हुम्लामा हालसम्म ४२ योजना काम गर्ने पाइपलाइनमा रहेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्रमुख ज्वालाराज शाहीले बताए ।

हिमपात, चिसो र यातायातको सहज पहुँच नहुँदा योजना कार्यान्वनमा वर्षेनी यहाँ समस्या हुने गर्दछ । हुम्लाको भौतिक प्रगति २५ प्रतिशत रहेको छ । गर्मी मौसम सुरु भएपछि मात्र यहाँका नागरिक काममा लाग्ने भएकाले सम्झौताका काम यहाँ ढिलो हुने गर्दछ । हुम्ला छिमेकी मुलुक चीनसँग जोडिएको जिल्लासमेत हो । हुम्लामा ८७ योजनामा हालसम्म ७३ वटा योजनाको काम सुरु भएको छ भने १४ वटा योजनाको सम्झौता हुन बाँकी छ ।

भौतिक प्रगति २५ प्रतिशत छ । सडक सञ्जालसँग जोडिएको भए पनि उपल्लो डोल्पामा हिमपात लगायतका कारणले चिसो हुँदा काम गर्न मुस्किल हुने गर्दछ । गर्मी मौसम सुरु भएपछि यार्सागुम्बाको सिजनसँग विकास निर्माणको काम सुरु हुने गरेको कार्यालय प्रमुख प्रकाश गिरिले बताए । मुगुका १०५ वटा योजनामा हालसम्म ८४ वटा योजनाको सम्झौता भएको छ । बाँकी २१ वटा योजना हालसम्म सम्झौता हुन नसकेको अवस्थामा छन् ।

सडकको पहुँच रहेको यो जिल्लामा एउटा पालिकाबाहेक अन्य ठाउँमा सहजै, आउन र जान सकिन्छ । यहाँको भौतिक प्रगति २२ प्रतिशत अर्थात् कमजोर छ । त्यस्तै जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको भौतिक प्रगति हालसम्म २७ प्रतिशत रहेको छ । दुर्गम तथा हिमाली जिल्लामा भौतिक प्रगति कमजोर भए पनि सुगम जिल्लामा समेत भौतिक प्रगति कमजोर हुँदा मन्त्रालयले लिएको उद्देश्य पूरा नहुने सम्भावना बढेको छ ।

भौतिक प्रगति कमजोर हुँदा मन्त्री विजया बुढाले त्रैमासिक रुपमा कामको विवरण लिने गरेको बताइन् । ३० वटा दरबन्दी रहेको मन्त्रालयमा हालसम्म २४ वटा दरबन्दी पूरा भएको छ भने बाँकी ६ वटा दरबन्दी अझै खाली छ । एउटा ऐन, तीनवटा कार्यविधि निर्माण गरिएको मन्त्री बुढाले बताइन् । बाँकी तीन महिनाभित्र मन्त्रालयले ७३ प्रतिशत बजेट खर्च गर्नुपर्ने चुनौती छ ।

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले बजेट कार्यान्वयन गर्न दिएको निर्देशन यो मन्त्रालयमा लागू हुन अझै सकेको छैन । मन्त्री बुढा र मुख्यमन्त्री कँडेलको बीचमा काम गर्ने तालमेलसमेत नमिल्दा समस्या भएको मन्त्रीहरु स्वयम् बताउँदै आएका छन् । मन्त्रीहरुले स्वतन्त्र रुपमा काम गर्न नपाएको गुनासोसमेत गर्न थालेका छन् ।

मुख्यमन्त्रीको हस्तक्षेपले गर्दा आफूहरु हैरान भएको मन्त्रीहरुको टिप्पणी छ । मन्त्रालयका प्रवक्ता सिडिई पदमराज देवकोटाले विवाद तथा कार्यालय प्रमुख बदलिँदा केही ढिला भएको बताए । उनले केही योजना दोहोरिएकाले पनि समस्या आएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्