मोटरबाटो खुलेपछि पालिका कार्यालय पुग्न सहज

हेटौंडा– मकवानपुरको राक्सिराङ गाउँपालिकाका स्थानीयले आफ्नै गाउँपालिका कार्यालयमा आउनसमेत अर्कै जिल्ला हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित लोथरबाट हाङलाङ, हिलेदमार हुँदै राक्सिराङ–६ स्थित पाङ्थली जोड्ने मोटरबाटो खुलेपछि ३ वटा वडाका स्थानीय आफ्नै जिल्ला सदरमुकाम र गाउँपालिका कार्यालय चैनपुर आउनसमेत चितवन जिल्ला हुँदै आउनुपर्ने बाध्यता हटेको हो ।
राक्सिराङ गाउँपालिकाको ६, ७ र ८ नम्बर वडाका बासिन्दाले यसअघि चितवनको भण्डाराबाट राप्ती नगरपालिकाको विभिन्न वडा हुँदै आवतजावत गर्नुपर्ने बाध्यता थियो । नेपाली कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका मकवानपुर क्षेत्र नम्बर २ (ख) का प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँको व्यक्तिगत पहलमा लोथर–पाङ्थली सडकले पूर्णता पाएसँगै राक्सिराङका तीनवटा वडाका बासिन्दाका लागि छोटो र छिटो यात्राको पहुँच वृद्धि भएको हो ।
२०७४ को निर्वाचन प्रचार प्रसारको क्रममा नेता बानियाँले राक्सिराङका बासिन्दाले आफ्नै गाउँपालिका कार्यालय र जिल्ला सदरमुकाम झर्न अर्को जिल्लाको बाटो हुँदै आवतजावत गर्नुपर्ने बाध्यता हटाउन सडक विस्तार गरिने प्रतिबद्धता जनाएका थिए । सोही प्रतिबद्धताअनुरुप बानियाँले निजी एक्साभेटरको प्रयोग गरी करिब चार महिना लगाएर लोथर–पाङ्थली सडकको करिब सात किलोमिटर ट्रयाक पूरा गराएका थिए ।
सो सडकमा मनहरी गाउँपालिकाले चालु आर्थिक वर्षमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरी स्तरीकरणको काम गरेपछि अहिले साना सवारी सञ्चालन हुन थालेको छ । शनिबार प्रदेशसभा सदस्य बानियाँसहित गाउँपालिका अध्यक्ष रन्जन कालाखेतीलगायतको उपस्थितिमा सो सडकको उद्घाटन गरिएको छ । आफ्नै कार्यकालमा मनहरी र राक्सिराङ जोड्ने सिदाम खोलामा मोटरेबल पुलसमेत हालेर सो सडकलाई स्थायित्व दिने नेता बानियाँले प्रतिबद्धता जनाए ।
बानियाँले मनहरी र राक्सिराङका जनताले भीरको बाटो बुट्यान समाएर हिँड्नुपर्ने बाध्यताको अन्त्य गर्नका लागि आफूले व्यक्तिगत रुपमा पहल गरेर लोथरबाट राक्सिराङको विकट भेग पुग्ने छोटो बाटो निर्माण गरिएको बताए । यसअघि राक्सिराङ—६ को सिलिङ्गे, सिलाधुनी, ७ को दामराङ, घिराङ, चरिमारा र ८ नम्बर वडाको ठूलो टोड्के, सानो टोड्केलगायतका बासिन्दाले भण्डाराबाट करिब २ घण्टाको कच्ची सडकको यात्रा गर्नुपर्ने बाध्यता रहेको थियो ।
लोथरबाट नयाँ बनेको बाटोबाट पाङथली हुँदै राक्सिराङ-६ को सिलिङ्गेबाट चेपाङ राजमार्गको दुईटार पुग्न सकिन्छ भने बाङराङबाट सिलाधुनी चरिमारा गैजुराङबाट खैराङ र कैलाश गाउँपालिकाको बैकुण्ठसम्म पनि निस्कन सकिनेछ । मनहरी—६ स्थित लोथरबाट हिलेदमार हुँदै पाङ्थली जोडिएपछि यात्राको समय आधा छोटिएको राक्सिराङ–६ का वडाध्यक्ष अक्कलबहादुर मोक्तानले बताए ।
हिउँदमा सडक सञ्चालन हुने अवस्था भएता पनि पक्की पुल निर्माण र थप स्तरीकरण गराई बाह्रै महिना सवारी सञ्चालन गर्न सबैले ध्यान दिनुपर्ने मोक्तानको भनाइ छ । नेकपा माओवादी केन्द्रका बागमती प्रदेश सदस्यसमेत रहेका मनहरी—६ का स्थानीय अशोक शाक्यले जनताको प्रतिनिधिको अठोटबाट विकट गाउँलाई सहजताका लागि सडक निर्माण भएको भन्दै प्रदेशसभा सदस्य बानियाँको प्रसंशा गरे । सबै नेता तथा जनप्रतिनिधिले बानियाँलेझैँ काम गरे जनताको मुहारमा खुसी थप्न सकिने बताए ।
सडक उद्घाटन कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले व्यक्तिगत पहलमा निर्माण थालेको सडकको स्तरीकरण गर्न गाउँपालिकाले ३० लाख रुपैयाँ लगानी गरेको बताए । आगामी दिनमा सडकको नाला निर्माण र थप स्तरीकरण गर्न गाउँपालिकाले पनि बजेट विनियोजन गर्ने बताउँदै अध्यक्ष कालाखेतीले पक्की पुल निर्माणमा पनि बानियाँको पहलबाट बजेट विनियोजन हुने विश्वास व्यक्त गरे ।
यसैबीच मनहरी गाउँपालिकाले शनिबार नै मनहरी-९ स्थित ज्यामिरे सिरानमा ३५ घरपरिवारलाई खानेपानीको मिटर नि:शुल्क वितरण गरेको छ । त्यस्तै मनहरी-६ का अशक्त पशुपति थापालाई गाउँपालिकाले ह्वीलचियरसमेत सहयोग गरेको छ । प्रदेशसभा सदस्य बानियाँ, मनहरी गाउँपालिका अध्यक्ष कालाखेतीलगायतले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।