रुदीखोला जलविद्युत् आयोजना केन्द्रीय प्रशारणमा जोडियो «

रुदीखोला जलविद्युत् आयोजना केन्द्रीय प्रशारणमा जोडियो

दुईसातापछि व्यवसायिक उत्पादन सुरु हुने

लमजुङ-पश्चिम लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत् आयोजना राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएको छ । क्वहोलासोँथार गाउँपालिका–५ सिङ्दीमा निर्माण भएको ६.६ मेगावाटको सो आयोजनाबाट उत्पादित बिजुली कास्कीको मादी गाउँपालिका मिजुरेडाँडा सवस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको हो ।
बिन्धवासिनी हाइड्रो पावर कम्पनीले निर्माण गरेको सो आयोजनाले सम्पूर्ण उपकरण र प्राविधिक परीक्षणपछि अघिल्लो शनिबारबाट आन्तरिक परीक्षण उत्पादन गरेको थियो । राष्ट्रिय प्रशारण प्रणालीमा जोडिएसँगै अबको १५ दिन विद्युत् प्राधिकरणलाई निःशुल्क विद्युत प्रदान गर्ने आयोजना प्रमुख इन्जिनियर सरोज भट्राईले जानकारी दिए ।
२०७४ जेठबाट औपचारिक निर्माण थालेको आयोजना निर्माण २० महिनामा सकिएको हो । निर्माण सुरु भएको करिब दुई वर्षमै उत्पादन सुरु भएको उक्त आयोजनामा प्रतिमेगावाट १८ करोड खर्च भएको कम्पनीले जनाएको छ । राष्ट्रिय प्रशारण जडानका निम्ति कास्कीको मुंग्रेबेंसीसम्म ३३ केभीको सिंगल सर्किट पनि प्रवद्र्धक आफैंले निर्माण गरेको हो ।
२०७१ साउन २० मा विद्युत् प्राधिकरणसँग आयोजनाले विद्युत् खरिद–बिक्री सम्झौता गरेको थियो । क्व्होलासोंथर–५ सिङ्दी गाउँनजिकै टोंगो खोला दोभानमा बाँध निर्माण गरेको आयोजनाले साढे तीन किलोमिटर लामो पेनस्टक पाइप मार्फत सिङ्दीबेंसीमा निर्मित विद्युतगृहमा पानी पु¥याएर विद्युत् उत्पादन गरेको हो ।
सानिमा बैंकको अगुवाइमा पाँच बैंकले ऋण लगानी गरेको रुदी ‘बी’ जलविद्युत् आयोजनाको एकअर्ब १५ करोड रुपैयाँ लागत अनुमान थियो । आयोजनामा लागतको ७० प्रतिशत ऋण र ३० प्रतिशत स्वपुँजी रहेको आयोजनाले जनाएको छ ।
यसअघि बिन्ध्यवासिनी हाइड्रो पावर कम्पनीले रुदी खोलामै ८.८ मेगावाटको रुदी ‘ए’ जलविद्युत् आयोजना निर्माण गरिसकेको छ । रुदीखोला ‘ए’ जलविद्युत् आयोजनाले गत वर्षको चैतदेखि व्यवसायिक उत्पादन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्