Logo

स्याङ्जाको वालिङमा नमुना बसपार्क बन्दै

स्याङ्जा– अव्यवस्थित सवारीसाधन पार्किङको समस्या भोगिरहेको स्याङ्जाको वालिङ नगरपालिकाको समस्या समाधान हुने भएको छ । वालिङ नगरपालिकाले वडा–८ शितलनगरमा आधुनिक बसपार्क निर्माणका लागि नगरविकास कोषको सहयोगमा बसपार्क बनाउने सम्झौता गरेसँगै अव्यवस्थित पार्किङको समस्या समाधान हुन लागेको हो ।

सम्झौतासँगै नमुना बसपार्क निर्माण सुरु भएको छ । वालिङ नगरपालिका–८ स्थित शितलनगरमा आधुनिक बसपार्क निर्माण सुरु भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले नगरविकास कोषसँगको सहकार्यमा नमुना बसपार्क निर्माण गरिरहेको नगरपालिकाले जनाएको छ । बढ्दो सहरीकरण, सवारीको चाप र अव्यवस्थित पार्किङको समस्या समाधान गर्न बसपार्क निर्माण सुरु गरिएको वालिङ नगरपालिकाका नगर प्रमुख कृष्ण खाँणको भनाइ छ ।

बसपार्क निर्माण गर्न नगरपालिकाले २०७२ सालमा शितलनगरमा २० रोपनी जग्गा खरिद गरेको थियो । खरिद गरेको २० रोपनी र सार्वजनिक १० रोपनी जग्गामा नमुना बसपार्क निर्माण भइरहेको प्रमुख खाँणले बताए । स्मार्ट सिटीको नीति लिएर अगाडि बढेको वालिङमा सवारीसाधन व्यवस्थित रुपमा पार्किङ गर्ने ठाउँ अभावले बजार क्षेत्र कुरुप तथा साँघुरो बन्दै गएको थियो । पार्किङको समस्या समाधानका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुरुप बसपार्क निर्माण कार्य सुरु गरिएको उपप्रमुख कविता तिवारी गैह्रेले बताइन् ।

डीपीआर अनुसार बसपार्क पूर्णरुपमा निर्माण गरी सञ्चालन गर्न २० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ । पहिलो चरणको काम सम्पन्न गर्नका लागि खिलुङ कालिका–कार्की जेभीसँग सम्झौता भएर काम थालिएको हो । पहिलो चरणको काम सम्पन्न गर्न नौ करोड सात लाख रुपैयाँमा सम्झौता भई काम सुरु भएको हो । नमुना बसपार्क निर्माणका लागि सहरी विकास कोषको ऋण सहयोग तथा नगरपालिकाको आन्तरिक लगानीमा बसपार्क निर्माण सम्पन्न हुनेछ ।

२०८३ असार मसान्तभित्र टर्मिनल भवन, बस तथा कार पार्किङ वर्कसप, विद्युतीय साधनका लागि चार्जिङ स्टेसन, आन्तरिक सडक, तारबार काम सम्पन्न हुने वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदीले जानकारी दिए । निर्माण सम्पन्न भएपश्चात बसपार्कमा प्रतिघण्टा ९६ वटा सवारीसाधन पार्किङ गर्न सकिने छ । जीप, मिनीबस, माइक्रोबसलगायतका छोटो दूरीमा चल्ने सवारी साधन प्रतिघण्टा ४२ वटा पार्किङ गर्न सकिने नगरपालिकाले जनाएको छ ।

लामो दूरीमा चल्ने बसहरु प्रतिघण्टा ४८ वटा र बिजुलीबाट चल्ने बस प्रतिघण्टा ८ वटा, प्रतिघण्टा दुई पाङ्ग्रे १० वटा, निजी सवारी कार २० वटा अटाउने नगरपालिकाका प्राविधिक शाखा प्रमुख मणिप्रसाद तिवारीले बताए । बसपार्क सिद्धार्थ राजमार्गको नजिकै निर्माण हुन लागेको छ । वालिङबाट पर्वतको दक्षिणी भेग, गुल्मी र पाल्पासम्म पुग्न सजिलो हुने भएकाले बसपार्कको निर्माणसँगै राजमार्गमा जथाभावी पार्किङ गर्ने क्रम घट्ने नगरपालिकाले अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्