नकारात्मक सोच उत्तम

नकारात्मक सोच कसरी त्याग्ने, सकारात्मक सोच कसरी बढाउने भनेर कयौं तालिम, सेमिनार, गोष्ठी, प्रवचन हुने गर्दछन् । मानिसहरूले मिहेनत गरेर कमाएको धन त्यसका लागि खर्च गरिरहेका छन् र रिसोर्स पर्सन भनिनेले यसबाट आम्दानी गरिरहेका छन् । इन्टरनेट र भौतिक समाज दुबैमा यो उदाउँदो नाफाको व्यवसाय बनिरहेको छ ।
‘बि पोजिटिभ अर्थात् सकारात्मक बन’ भन्ने वाक्यांश आजभोलि नेपालीको थेगो जस्तै बनेको छ । नेगेटिभ वा क्रिटिकल अर्थात् नकारात्मक सोचको निकै आलोचना हुने गर्दछ । ‘बि रियालिस्टिक अर्थात् यथार्थवादी बन्नुपर्दछ’ भन्ने वाक्य त सुन्दै सुनिंदैन । जे कुरा पनि हुन्छ, राम्रो हुन्छ, राम्रोका लागि हुन्छ भन्ने सोचाइ राखेमा व्यक्ति, समाज र मुलुक विकास हुन्छ भन्ने बुझाइ मानिसहरूमा रहेको छ ।
आफ्नो सामु आइपुग्ने जोकोहीसँग असल व्यवहार गर्ने, जसले जे प्रस्ताव राखे पनि ठीक हो भन्ने र जसले जसरी काम गरेको भए पनि त्यो सफल हुन्छ भन्ने विश्वास राख्ने तथा जसले जे जे गरेको भए पनि राम्रैका लागि गरिरहेको छ भनेर बुझ्ने मानिसलाई सकारात्मक सोच भएको मानिस भनिन्छ । अरूको कुरा नकाट्ने, अरूको कुरा सुन्ने, अरूले मन पराउने कुरा बोल्ने, मुसुक्क हाँसेर बोल्ने, मिठास शब्द प्रयोग गर्ने, अरूको नाम लिएर प्रशंसा गर्ने, अरूलाई मान दिने व्यक्ति धेरैका सामु लोकप्रिय हुन सक्छ ।
प्रायः काममा सफलता पाउन क्षमता नभएका व्यक्ति, असफल नेता, भ्रष्टाचारी अधिकारीले आशावादी र सकारात्मक सोचको बढी रटान लगाउने गर्दछन् । आप्mना कमीकमजोरी, अपराध र बदमासी लुकाउन मानिसहरू यस्तो भ्रमको खेती गर्ने गर्दछन् । जिम्मेवार अधिकारीको सोच, विचार, योजना र कार्यको सम्बन्धमा नकारात्मक प्रश्न गरियो भने निराशावादी र नकारात्मक सोचले प्रश्न राखेको भनेर आरोप लगाउँछन् किनकि नकारात्मक प्रश्नले सत्यको उजागर गर्ने सम्भावना हुन्छ । जसले सत्य लुकाउन चाहन्छ, उसले आशावाद र सकारात्मकता वादलाई प्रमुख हतियारको रूपमा प्रयोग गर्दछ ।
वास्तवमा सकारात्मक बन्नु भनेको समाजको विकासमा बाधक हुनु हो । यदि यो संसारमा कसैले पनि क्रिटिकल वा नेगेटिभ सोचाइ राख्दैन थिए भने संसार पूरै अन्धविश्वासमा हुन्थ्यो, नयाँ आविष्कार केही हुँदैन थिए । नेगेटिभ सोचाइ नराख्ने हो भने कुनै पनि अपराधीको अनुसन्धान हुन सक्दैन थियो, कुनै अपराधीले सजाय पाउँदैन थिए । क्रिटिकल सोचाइबिना नै साधनस्रोत लगानी गर्ने हो भने अधिकांशतः दुरुपयोग हुन्थ्यो र प्रतिफल नै आउँदैन थियो ।
सकारात्मक सोचले कुनै पनि योजनाको जोखिमको विश्लेषण गर्न आवश्यक ठान्दैन । त्यति मात्र होइन, योजनाबद्ध ढंगले कार्य गर्नुपर्दछ भन्ने मान्यता नै राख्दैन । सतही रूपमा सोच्दछ र काम गर्दै गए पछि आफैं बन्छ, बिग्रे कुनै विकल्प आइहाल्छ भन्ने विश्वास गर्दछ । यस विपरीत, नेगेटिभ माइन्डले कुनै पनि कार्यको सफलताको सम्भावना बढाइदिन्छ । नेगेटिभ माइण्डले काम सुरु हुनुपूर्व नै विकल्पको अध्ययन गर्दछ, जोखिमको पूर्वआँकलन गर्दछ, हरेक चरणको कार्यको योजना बनाउँछ ।
तपाईको सामु नौलो मानिस आइपुग्यो । तपाईंको सकारात्मक माइण्डले तपाईंलाई उसले मद्दत गर्दछ भन्ने सोच्नु हुन्छ । नकारात्मक माइण्डले उसले तपाईंलाई लुटपात, ठगी, अपराध गर्न सक्छ भन्ने सोच्नु हुन्छ । वास्तवमा त्यो मानिसले के गर्ला, उसको दिमागमा के होला भन्ने जान्न सक्नु भयो भने तपाई यथार्थवादी हुनुहुन्छ । तर त्यो जान्न कठिन छ । सत्य त परिस्थिति जे छ, त्यही हो । तपाईले गरेको अनुमान गल्ती वा सत्य जे पनि हुन सक्छ ।
हुन त सोच नकारात्मक वा सकारात्मक केही हुँदैन, सोच सोच मात्र हो । त्यसलाई सकारात्मक वा नकारात्मक भनेर विशेषण दिने काम हाम्रो व्याख्याले गर्दछ । कुनै चिज वस्तुको रूपलाई मानिसले बुझ्ने कुरा सोच हो । सोच सही र गलत हुन्छ, नेगेटिभ र पोजिटिभ हुँदैन । हाम्रो दिमागले सकारात्मक भनिने सूचना दिमागमा धेरै ग्रहण भयो भने सकारात्मक सोच बलियो हुन्छ र नकारात्मक भनिने सूचना दिमागमा धेरै ग्रहण भयो भने नकारात्मक सोच बलियो हुन्छ ।
नकारात्मक सोच नै आएन भने कुनै पनि कुराको राम्रो नराम्रो छुट्याउन सकिंदैन र केही पनि विकास हुनै सक्दैन । सकारात्मक मात्र सोचले केही निर्माणै गर्दैन । सकारात्मक सोच राख्ने हो भने दिमाग खियाउनु पर्दैन तर दिमागको जति बढी प्रयोग गरिन्छ, उति बढी इन्नोभेसेन (नवप्रवर्तन) हुन्छ । नकारात्मक र सकारात्मक भनिने दुबै सोचलाई दिमागबाट हटाएर वास्तविक सोचलाई बलियो बनाउन सकियो भने त्यो सबैभन्दा उत्तम हुन्छ । तर सामान्य मानिसका लागि वास्तविक सोच असम्भव जस्तै हुन्छ । सकारात्मक सोच बलियो भने सही निर्णय लिन सकिंदैन, यसलाई सन्तुलन कायम गर्न नकारात्मक सोच विकास गर्नुपर्दछ ।
मानिसहरू दिमागमा जे सोचिन्छ, कतै त्यही त हुने होइन भनेर डराइरहन्छन् । त्यसैले उनीहरू नकारात्मक सोच दिमागमा नआओस्, सकारात्मक मात्र आओस् भन्ने चाहन्छन् । उनीहरूका लागि सकारात्मक सोच दिगो समाधान होइन । सकारात्मक सोचले केही समयको लागि आनन्द दिन्छ । घटनाको नतिजा अपेक्षित आएन भने सकारात्मक सोच असफल हुन्छ । त्यसपछि निराशा, आक्रोश, चिन्ता र डिप्रेसन बढाउँछ ।
नकारात्मक सूचनामा विश्वास नगर्दैमा नतिजा सकारात्मक आउने होइन । नकारात्मक सूचना नै सही पनि हुन सक्छ । सकारात्मक सोच वा कडा परिश्रम केहीले सफलता पाउन सकिंदैन । सफलता प्राप्त गर्ने सबैभन्दा उत्तम रणनीति बनाएर कार्यान्वयन गर्नु नै सफलता पाउने सूत्र हो । यसका लागि नकारात्मक वा क्रिटिकल सोच दिमागमा बलियो हुनुपर्दछ ।