नीति तथा कार्यक्रम २०८२-८३
गैरबैंकिङ सम्पत्ति बढेको सरकारको स्वीकारोक्ति

काठमाडौं– गैरबैंकिङ सम्पत्ति र खराब कर्जाको दबाबमा बैंकिङ क्षेत्र रहेको सरकारले स्वीकार गरेको छ । यसअघि बैंकिङ क्षेत्रको अवस्था ‘ठिकै छ’ भन्ने भाष्य सिर्जना गरिरहेको सरकारले अहिले यी समस्या स्वीकारेको हो ।
सरकारले शुक्रबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यो समस्या सुधार्ने योजना ल्याइएको छ । बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा बढ्दै गएपछि सरकारले सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने घोषणा गरेको हो । यसअघि केन्द्रीय बंैकले यसका लागि मस्यौदा लेखन गरिरहेको थियो । सरकारले आगामी आवको नीति तथा कार्यक्रममा यसलाई समेटेको छ ।
‘बैंक तथा वित्तीय संस्थाको गैरबैंकिङ सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गरिनेछ,’ शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख छ । बाहिर देखाइएको भन्दा बढी निष्क्रिय कर्जा रहेको महसुस सरकारले गरेको देखिएको पूर्व गभर्नर दीपेन्द्रबहादुर क्षेत्री बताउँछन् । ‘यही महसुस भएपछि सरकारले नीति तथा कार्यक्रममा सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालनमा ल्याउने उच्चारण गरेको हो भन्ने देखियो,’ क्षेत्रीले भने । दीर्घकालीन रुपमा गैरबैंकिङ सम्पत्ति व्यवस्थापनका लागि कम्पनी स्थापना गरेर विशेष अधिकार दिनुपर्ने लबिङ बैंकरहरूले गर्दै आइरहेका छन् ।
पूर्व बैंकर अनलराज भट्टराईले अहिले सम्पत्ति व्यवस्थापन कम्पनी ल्याउनका लागि धेरै कानुनी सुधारहरू गर्नुपर्ने बताए । ‘नीति तथा कार्यक्रममा आइसकेपछि हाम्रो अर्थतन्त्रमा खराब कर्जा बढ्दै गइरहेको र त्यसलाई व्यवस्थापन गर्नुपर्ने छ भन्ने सरकारले स्वीकार गर्नु राम्रो हो । सरकारले दबाब महसुस गरेका कारण नै नीति तथा कार्यक्रममा आएको हो । तर, योमात्रै समाधानको विकल्प भने होइन,’ उनले भने ।
बाफिया, दामाशाही लगायत धेरै कुरामा परिवर्तन गर्नुपर्नेमा उनले जोड छ । ‘गैरबैंकिङ सम्पत्ति कसरी मूल्यांकन गर्ने र टुंगोमा कसरी पुर्याउने भन्ने मुख्य कुरा हो । सम्पत्ति व्यवस्थापन कम्पनी र कस्तो किसिमले आउँछ, त्यसले कस्तो काम गर्छ भन्ने हेर्नुपर्छ,’ उनले भने ।
सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालनका लागि केन्द्रीय बैंकले कानुन नै बनाएर अगाडि बढाउने गरी प्रक्रिया सुरु गरिसकेको छ । यसैलाई आधार बनाएर आगामी आवको नीति तथा कार्यक्रममा कम्पनी सञ्चालन गर्ने बुँदा समेटिएको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने उल्लेख छ । त्यसैलाई आधार बनाएर राष्ट्र बैंकले आवश्यक काम अगाडि बढाइरहेको जनाएको छ ।
यसबीचमा सरोकारवालाले सम्पत्ति व्यवस्थापन कम्पनीको आवश्यकता निकै खड्किएको बताउँदै सकेसम्म छिटो यस्तो संरचना विकास गरेर अगाडि बढ्नुपर्ने बताउँदै आइरहेका छन् । बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति खरिद गरेर सल्टाउनका लागि प्रायः मुलुकमा सम्पति व्यवस्थापन कम्पनी सञ्चालनमा ल्याइन्छ । त्यसका लागि केन्द्रीय बैंक वा सरकारले उसलाई विशेषाधिकार दिएका हुन्छन् । पछिल्लो समय अर्थतन्त्रमा सुस्तता आउँदा नेपालमा निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्ति दुवै बढिरहेको छ । यसको व्यवस्थापनका लागि कम्पनीको आवश्यकता बढेको सरोकारवालाहरूले बताउँदै आएका छन् ।
नीति आउँछ, कार्यान्वयन हुँदैन
सरकारले केही वर्षअघि नै सम्पत्ति व्यवस्थापन कम्पनी सञ्चालन गर्ने योजना बनाएको थियो । धेरै क्षेत्रका यस्ता योजना कार्यान्वयन नहुने गरेकाले अहिले पनि शंका गर्ने आधार रहेको पूर्व गभर्नर क्षेत्री बताउँछन् । सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने विषय नेपालको पहिलो मौद्रिक नीतिमा नै समावेश थियो । त्यसका लागि विभिन्न प्रक्रिया अगाडि बढाइए पनि टुंगोमा पुर्याइएको थिएन ।
सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्नेबारे केन्द्रीय बैंकले तत्कालीन कार्यकारी निर्देशक राजनसिंह भण्डारीको संयोजकत्वमा कार्यदलसमेत बनाएको थियो । कार्यदलमा त्यतिबेला राष्ट्र बैंकमै रहेका भीष्म ढुंगाना, तत्कालीन बैंकर पर्शुराम कुँवर र मनोज गोयल सदस्य थिए । कार्यदलले सुझावसमेत दिएको अवस्थामा पछि काम टुंगोमा पुर्याइएको थिएन ।
अहिले पनि केन्द्रीय बैंकले सम्पत्ति व्यवस्थापन कम्पनीका लागि मस्यौदा लेख्ने कामको थालनी गरेको छ । तर, यसको बाँकी काम कसरी अगाडि बढ्छ निश्चित भइसकेको छैन । सरकारले नीति तथा कार्यक्रममा ल्याए पनि बजेटमा नसमेट्ने र बजेटमा समेटे पनि काम अगाडि नबढ्ने परिपाटी भएकाले यसको समय लम्बिन सक्ने पूर्व गभर्नर क्षेत्री बताउँछन् । ‘सरकारले यसलाई कसरी बुझ्छ भन्ने कुराले पनि यसको भविष्य निर्धारण गर्छ । नेपालका लागि यो नयाँ कुरा होइन । विगतमा पनि पटकपटक आएको कुरा हो । अब काम कसरी हुन्छ, त्यो भयो भने नयाँ हुने हो । नीति तथा कार्यक्रममा आउँदैमा अगाडि बढिहाल्छ भन्ने पूराना अभ्यासहरूले पनि देखाउँदैन,’ उनले भने ।
सम्पत्ति व्यवस्थापन कम्पनीले कसरी काम गर्छ ?
सम्पत्ति व्यवस्थापन कम्पनीले विशेषगरी बैंक तथा वित्तीय संस्थाको खराब कर्जा खरिद गर्छ । त्यसपछि त्यसलाई बेचेर लगानी असुल्ने गर्छ । कुनै पनि ऋणीले बैंकको पैसा तिरेको छैन भने सो ऋणलाई बैंकले सम्पत्ति व्यवस्थापन कम्पनीलाई बेच्न सक्छ । बैंकले बेचिसकेपछि सो कम्पनीले यसको काम अगाडि बढाउँछ ।
यसपछि बैंकलाई यसको चिन्ता वा झण्झट केही हुँदैन । कम्पनीले त्यस्तो खराब ऋण वा गैरबैंकिङ सम्पत्तिलाई विभिन्न माध्यमबाट फिर्ता ल्याउने काम गर्छ । कम्पनीले नै धितो लिलाम गर्ने, अदालती प्रक्रियामा लग्ने तथा अन्तिममा व्यवस्थापन गर्ने काम गर्छ । जापान, दक्षिण कोरिया, अमेरिका लगायत विभिन्न मुलुकमा कम्पनीले नै गैरबैंकिङ सम्पत्ति व्यवस्थापनको काम गर्ने अभ्यास छ ।