Logo

नीति कार्यक्रममाथि वैशाख २२ र २३ गते छलफल हुने

राष्ट्रियसभामा नीति तथा कार्यक्रम टेबुल

काठमाडौं- राष्ट्रियसभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम टेबुल भएको छ । सभाको शुक्रबारको दोस्रो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले गरेको सम्बोधन प्रति टेबुल गरेका हुन् ।

बैठकले राष्ट्रपतिबाट संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राखेको धन्यवादको प्रस्तावलाई सभाले सहमति जनाएको थियो । यस्तै, आगामी आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रममाथि राष्ट्रियसभामा यही वैशाख २२ र २३ गते छलफल हुने भएको छ ।

राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठकमा अध्यक्ष दाहालले नीति तथा कार्यक्रममाथि छलफल गर्न उक्त दिन निर्धारण गरिएको जानकारी गराए । उनले नीति तथा कार्यक्रममाथिको छलफल दलीय प्रतिनिधित्वको आधारमा गर्न सांसदको नाम बैठक प्रारम्भ हुनुभन्दा एक दिन अगावै कार्यव्यवस्था शाखामा उपलब्ध गराउन आग्रह गरे ।

अध्यक्ष दाहालले नीति कार्यक्रममाथि संशोधन राख्न चाहने सदस्यले सोको सूचना यही वैशाख २१ गते बिहान ११ देखि अपराह्न २ बजेभित्र कार्यव्यवस्था शाखा (राष्ट्रियसभा) मा दिन सक्ने जानकारी गराए । राष्ट्रियसभाको अर्को बैठक यही वैशाख २१ गते अपराह्न १२ बजेर १५ मिनेटमा बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्