सूचना प्रविधिको क्षेत्रमा ५ वर्षमा ५ खर्ब लगानी गर्छौं: सञ्चारमन्त्री
सूचना तथा सञ्चार प्रविधिका क्षेत्रमा लगानी बढाउन प्रधानमन्त्रीको आग्रह

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा सडक, विद्युत्लगायत पूर्वाधारको विकास भएकाले सूचना तथा प्रविधिको क्षेत्रमा लगानी गर्न वैदेशिक लगानीकर्तालाई आग्रह गरेका छन् ।
राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८२ का अवसरमा शुक्रबार सूचना तथा सञ्चार प्रविधि मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपाललाई आधुनिक र प्रविधिमय बनाउन हरेक दिन एक पाइला अगाडि भन्ने सोचका साथ काम गर्न आग्रह गरे ।
उनले मुलुकको सुशासन, विकास र सहज सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगको अधिकारलाई विस्तार गर्दै थप उपलब्धि हासिल गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले अब हामीले आफ्नै सुरक्षासहितको ‘डेटा’ प्रणाली कायम गर्नुपर्नेमा जोड दिँदै व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेका लागि सूचना प्रविधिको विकास आफैँमा जवाफ भएको टिप्पणी गरे ।
सञ्चार तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सूचना प्रविधिको क्षेत्रबाट प्राप्त हुने राजश्वको क्षेत्र व्यापक भएको बताए । मन्त्री गुरुङले हाल नेपालमा वार्षिक ३० अर्ब बराबरको विज्ञापन बजार भएको बताए । उनले विज्ञापन बोर्डको स्थापनापछि विज्ञापनको कारोबारबाट वार्षिक दुईदेखि तीन अर्ब राजश्व उठ्ने गरेको बताए ।
उनले राजश्व बढाउन विज्ञापन नीति तथा ऐन सुधार गर्नुपर्ने बताए । संघ, प्रदेश र स्थानीय पालिकासँग समन्वय गरेर विज्ञापन बजार व्यस्थित बनाउँदा २५ देखि ३० अर्ब राजश्व उठाउन सकिने उनको भनाइ छ । उनले हुलाक सेवालाई डिजिटल प्रविधिमा रुपान्तरण गरी सेवा दिने तयारीमा सरकार रहेको बताए । डिजिटल सेवा सबैभन्दा सजिलो छिटो र भरपर्दो भएकाले सबैले विश्वास गर्ने उनको भनाइ छ ।
मन्त्री गुरुङले फाइभजी सेवालाई आगामी आर्थिक वर्षदेखि बिस्तारको सुरुवात गर्ने बताए । उनले पहिलो चरणमा काठमाडौं उपत्यकाबाट सेवा शुरु गर्ने बताए । हालको नीतिले सूचना प्रविधिको क्षेत्र बिस्तारका लागि समस्या देखिएको बताए । उनले एक वर्षभित्र सूचना प्रविधिको क्षेत्रमा आवश्यक सबैप्रकारका ऐन तथा नीतिहरु परिवर्तन गरी नयाँ बनाइने बताए ।
अहिले फाइभ जी र एआई सबैको प्राथकिताको क्षेत्र बनेकाले प्रभावकारी कार्यान्वयनका लागि सरकारले प्राथमिकताका साथ काम गरिरहेको उनको भनाइ छ । मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा पाँच वर्षमा पाँच खर्ब लगानी गर्नेगरी सरकारको कार्ययोजना रहेको बताए । सरकारले सञ्चार क्षेत्रसँग सम्बन्धित नीति नियम बलियो बनाएर देश र जनताको हितमा संस्थागत प्रयोग गर्ने उनको भनाइ छ ।
साथै, कार्यक्रममा प्रधानमन्त्री ओलीले बागमती प्रदेश सरकारको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) र सवारीधनी प्रमाणपत्र (ब्ल्यू बुक)लाई नागरिक एपमा आबद्ध गर्ने कार्यको शुभारम्भ गरे । सो अवसरमा राष्ट्रिय सूचना प्रविधि अवार्डबाट प्राडा शशीधर राम जोशीसहित विभिन्न व्यक्ति तथा संस्थालाई पुरस्कृत गरिएको थियो ।